"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

असार अन्तसम्म ५५ प्रतिशत मात्र धान रोपाइँ

प्रकाशित मिति :  16 July, 2022 3:11 pm


काठमाडौं । असारभरिमा देशभर ५५ प्रतिशत मात्र धान रोपाइँ  सम्पन्न भएको छ । गत वर्ष असारभरिमा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न भइसकेको थियो । यस वर्ष किसानलाई मलको चरम अभाव र मौसम प्रतिकूल हुँदा धान रोपाइँ गत वर्षको भन्दा कम हुने अनुमान गरिएको छ ।

गत वर्ष मौसम अनुकूल रहेको हुँदा धान रोपाइँ छिटो भएको र यस वर्ष पश्चिम–तराईमा पानीको अभाव हुँदा रोपाइँ ढिलो भएको बाली विकास तथा जैविक विविधता केन्द्रका प्रमुख महानन्द जोशीले बताए । जोशीका अनुसार पूर्वतिर साउनको पहिलो साताबाट अलिक तीव्र गतिमा रोपाइँ सुरु हुन्छ । तर, अहिले पानी नपर्दा अकासेपानीको भरमा रोपाइँ गर्ने जमिन बाँझै छ, त्यसैले रोपाइँ गत वर्षको तुलनामा कम हुन सक्ने अनुमान छ । जोशीले भने, ‘अहिले किसान मलको प्रतीक्षा र अकासेपानीको पर्खाइमा छन् ।’

बाली विकास तथा जैविक विविधता केन्द्रका अनुसार लुम्बिनी, बाँके, बर्दिया, कपिलवस्तुलगायत क्षेत्रमा नहर नहुँदा त्यहाँका किसान अकासेपानीको भरमा धान रोप्नुपर्ने बाध्यतामा छन् । मधेसतिर मलको अभाव झेल्न किसान बाध्य छन् । करिब ४३ प्रतिशत जमिन अकासेपानीको भरमा रोप्नुपर्ने हुनाले पानी र मलको अभावले रोपाइँ कम हुन पुगेको जोशीले बताए ।

जैविक केन्द्रले दिएको जानकारीअनुसार सबैभन्दा धेरै रोपाइँ सुदूरपश्चिम प्रदेशमा भएको छ । सुदूरपश्चिम प्रदेशमा ८८ प्रतिशत रोपाइँ भएको छ । जेठको दोस्रो सातादेखि नै रोपाइँ सुरु हुन थाल्ने हुँदा सबैभन्दा धेरै रोपाइँ भएको जोशीले बताए । त्यसैगरी, गण्डकी प्रदेशमा ७९ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । बागमतीमा ६५ प्रतिशत, कर्णालीमा ५६ प्रतिशत,  लुम्बिनीमा ५३ प्रतिशत रोपाइँ सम्पन्न हुँदा मधेस प्रदेशमा ३९ प्रतिशत र प्रदेश १ मा ४९ प्रतिशत रोपाइँ सम्पन्न भएको हो ।

सात लाख मेट्रिकटन मल चाहिनेमा दुई लाख मात्र आयो
सबै बालीमा गरी करिब वार्षिक सात लाख मेट्रिकटन मल आवश्यक हुनेमा सरकारले चालू आवमा दुई लाख १९ हजार मेट्रिकटन मल मात्र ल्याएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार १५ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएकोमा सोबराबरको मल आयात भएको हो । विभिन्न चरणमा गरी दुई लाख मेट्रिकटन मल आउने पक्रियामा रहेको छ । यसअघिका वर्षहरूमा रोपाइँको मौसममा तीन लाख मेट्रिकटनभन्दा बढी मल आपूर्ति हुने गरेकोमा यस वर्ष मल आपूर्तिमै कमी हुँदा मुख्य सिजनमा किसानले मल नपाएका हुन् ।

रुसले युक्रेनमाथि गरेको आक्रमणका कारण मलको मूल्य अन्तर्राष्ट्रियस्तरमै बढेकाले ठेक्का पाएका कम्पनीले समेत मल नल्याउँदा किसानलाई मुख्य सिजन धान रोपाइँकै वेला मलको अभाव भएको हो । कृषक समूह संघका अध्यक्ष नवराज बस्नेतका अनुसार किसानलाई रोपाइँको समयमा करिब तीन लाख मेट्रिकटन मलको आवश्यकता पर्छ । तर, सरकारले यस वर्ष करिब ८८ हजार मेट्रिकटन मल मात्र दिन सकेको छ ।

५० हजार मेट्रिकटन युरिया मल आउँदै
धानबालीमा चरम अभाव खेपिरहेका किसानलाई आधा धान रोपाइँ सक्दा ५० हजार मेट्रिकटन युरिया मल आउन लागेको हो । साउनको पहिलो हप्ताभित्र ५० हजार मेट्रिकटन युरिया मल आउने कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मुस्ताङ – धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या वृद्धि भएको छ । यहाँ सन् २०२४ को अनुपातमा

काठमाडौं – देशभित्र विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा भए पनि शिक्षाका लागि ठूलो रकम विदेशिने गरेको छ। नेपाल राष्ट्र

काठमाडौं – सन् २०२५ को ११ महिना (जनवरी–नोभेम्बर)को अवधिमा मासिक पर्यटक आगमन ९६ हजार ३ सय ८८ रहेको पाइएको छ

काठमाडौँ– चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा ७७.५१ प्रतिशतले निर्यात बढेको छ। भन्सार विभागले आइतबार सार्वजनिक गरेको वैदेशिक