धरानको खानेपानी समस्या समाधान गर्न संघीय सरकारको सहयोगको प्रतिवद्धता
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले धरान उपमहानगरपालिकाको खानेपानीको समस्या समाधानका लागि आवश्यक सहयोग गर्न संघीय सरकार प्रतिवद्ध रहेको बताएका छन् ।
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ्गसंग मंगलबार अर्थ मन्त्रालयमा भएको भेटका अवसरमा मन्त्री शर्माले आवश्यक प्राविधिक तयारी सकिएपछि खानेपानी आयोजनासम्पन्न गर्न आवश्यक पर्ने बजेट जुटाउन संघीय सरकारले महानगरपालिकालाइ सहयोग गर्ने आश्वसन दिए ।
भेटमा मन्त्री शर्माले मेयर साम्पाङ्ग र उनको टीमले धरानका जनताको खानेपानीको समस्या समाधान गर्न गर्नुभएको जनपरिचालनको उच्च प्रशंसा पनि गरेका थिए । ‘तपाईंले अहिले खानेपानीको समस्या समाधानका लागि गरिरहेको जनपरिचालन निक्कै उदाहरणीय छ’, मन्त्री शर्माले भने ।
भेटमा मेयर साम्पाङ्गले धरानमा खानेपानीको मुख्य समस्या रहेको र यसलाई समाधान गर्न संघीय सरकारको सहयोग आवश्यक रहेको बताए । उनले भने ‘तपाईंहरु हाम्रो अविभावक हो जनताको यो समस्या समाधान गर्न आव्श्यक सहयोग गरिदिनुहोला्।’ भेटमा धरान महानगरपालिकाका उपमेयर अईन्द्र बिक्रम बेघा पनि थिए ।











