"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

चुनाव लड्ने उम्मेदवारले शैक्षिक योग्यता खुलाउनुपर्ने

प्रकाशित मिति :  १५ भाद्र २०७९, बुधबार १४:२७


काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भाग लिने उम्मेदवारहरूले आफ्नो शैक्षिक योग्यताको विवरण पनि पेस गर्नुपर्ने व्यवस्था गरेको छ।

आयोगले हालै राजपत्रमा प्रकाशित गरेको निर्वाचन आचारसंहितामा उम्मेदवारी दर्तासँगै उनीहरूको वैयक्तिक पृष्ठभूमि र शैक्षिक योग्यता पनि पेस गर्नुपर्ने व्यवस्था गरेको हो।

विगतमा शिक्षाको पहुँच नपाएको वर्गलाई यस्तो व्यवस्थाले राजनीतिमा निरुत्साहित गर्ने भन्दै कतिपय राजनीतिज्ञले आयोगप्रति असहमति जनाएका छन्।

आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै भदौ १३ गते नेपाल राजपत्रमा प्रकाशित ‘निर्वाचन आचारसंहिता २०७९’ मा प्रत्यक्षतर्फ उम्मेदवारी दिनेहरूले आफ्नो वैयक्तिक विवरण पेस गर्नुपर्ने व्यवस्था गरिएको हो।

आचारसंहिताको २० नम्बर बुँदामा “मनोनयन पत्रसाथ आफ्नो नाम, थर, ठेगाना, शैक्षिक योग्यता, अनुभव तथा आफूले उल्लेख गर्न चाहेको थप विवरण” उल्लेख गर्नुपर्ने भनिएको छ।

यस्तो विवरण निर्वाचन अधिकृतमार्फत् आयोगमा सङ्कलन गरेर आयोगको वेबसाइट र निर्वाचन अधिकृतको कार्यालयमा प्रकाशन गरिने आचारसंहितामा उल्लेख गरिएको छ।

“आयोगले निर्वाचन क्षेत्र अनुसार एकीकृत विवरण तयार गरी आयोगको वेबसाइटमा प्रकाशन गर्नेछ,” आचारसंहितामा थप भनिएको छ।

किन मागियो शैक्षिक योग्यताको विवरण

नेपालमा सांसद बन्न निश्चित शैक्षिक योग्यता तोकिनुपर्ने माग समयसमयमा उठ्ने गरेको छ। तर नेपालको कुनै पनि कानुनले राजनीतिज्ञहरूका लागि कुनै पनि शैक्षिक योग्यता तय गरेको छैन।

यसअघिका निर्वाचनहरूमा यस्तो व्यवस्था नभए पनि आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्ष तर्फ उम्मेदवार बन्नेहरूका लागि शैक्षिक योग्यता बुझाउनुपर्ने व्यवस्था गरेको हो।

आचारसंहिता

नेपालमा कतिपय राजनीतिक नेताहरूको शैक्षिक योग्यताको विषय समय समयमा बहसको विषय समेत बन्ने गरेको छ।

निर्वाचन आयोगले उम्मेदवारहरूको शैक्षिक योग्यता खुलाउनुपर्ने व्यवस्था गरेपछि कतिपयले आयोगको कदमप्रति संशय पनि व्यक्त गरेका छन्।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेल मतदाताहरूलाई सही उम्मेदवार छनोटका लागि सहज बनाउन उम्मेदवारहरूको शैक्षिक योग्यतासहित उनीहरूको पृष्ठभूमि पनि सार्वजनिक गर्न लागिएको बताउँछन्।

“यो नयाँ व्यवस्था हो र यस्तो विवरण आयोगले आफ्नो वेबसाइटमा राख्ने भनेको छ। त्यहाँ उनीहरूको शैक्षिक योग्यता मात्र नभएर आफ्नो पृष्ठभूमि र आफूले गर्न चाहेको कामबारे पनि उल्लेख गर्न सक्छन्,” प्रवक्ता पौडेल भन्छन्।

“यो विवरणका आधारमा मतदाताहरूलाई योग्य उम्मेदवार छनोट गर्न सजिलो होस् भन्ने उद्देश्यले राखिएको हो।”

नबुझाए के हुन्छ ?

निर्वाचन आचारसंहिता कानुनजस्तो बाध्यकारी हुन्छ कि हुँदैन भन्ने विषयमा एकमत छैन। केही कानुनविद्हरूले यो बाध्यकारी नहुने तर्क गर्ने गरेका छन्।

तर निर्वाचन आयोगका प्रवक्ता पौडेलले भने यस्तो विवरण बुझाउनुपर्ने व्यवस्था बाध्यकारी भएको बताए। “मनोनयनका साथमा पेस गर्नुपर्नेछ भनेपछि त गर्नुपर्‍यो नि। पेस नगरे पनि हुन्छ वैकल्पिक हो भन्यो भने पो नगर्दा पनि हुन्छ त,” उनले भने। आयोगले यस्तो विवरण पेस नगर्ने व्यक्तिहरूको मनोनयन नै दर्ता नहुने दाबी गरेको छ।

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने उम्मेदवारहरूको मनोनयन रद्द गर्नेसम्मको अधिकार निर्वाचन आयोग ऐन २०७३ ले आयोगलाई छ।

“कुनै उम्मेदवारले आयोगले बनाएको आचारसंहिताको उल्लङ्घन गरेको कारणबाट निर्वाचन स्वतन्त्र, स्वच्छ र धाँधलीरहित तवरबाट हुन नसक्ने कुरामा आयोग विश्वस्त भएमा त्यसको स्पष्ट आधार र कारण खोली आयोगले उम्मेदवारको उम्मेदवारी रद्द गर्न सक्नेछ,” ऐनमा भनिएको छ।

आचारसंहिता उल्लङ्घन गर्नेलाई जरिवाना गर्नेदेखि निर्वाचन कसुर सजाय ऐनअन्तर्गत पनि सजाय हुने व्यवस्था रहेको आयोगका प्रवक्ता शर्मा बताउँछन्।

‘मतदातालाई मूल्याङ्कन गर्न सजिलो’

पूर्वनिर्वाचन आयुक्त ईला शर्मा उम्मेदवारहरूको पृष्ठभूमि मतदातालाई थाहा दिने आयोगको प्रयत्न राम्रो भएको बताउँछिन्।उम्मेदवारबारे जति धेरै विवरणहरू सार्वजनिक भयो मतदाताहरूलाई उनीहरूबारे मूल्याङ्कन गर्न त्यति नै धेरै सहयोग पुग्ने उनको दाबी छ।

“शैक्षिक योग्यता र उनीहरूको आपराधिक पृष्ठभूमि छ वा छैन भन्ने कुरा मतदाताहरूले थाहा पाए भने मात्र उनीहरूले विवेक पुर्‍याएर मत दिन सक्छन्,” शर्मा भन्छिन्। “म त के भन्छु भने उम्मेदवारहरूको सम्पत्ति विवरण पनि आयोगले सार्वजनिक गरिदिनुपर्छ।”

  • वीवीसी नेपालीबाट



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानलाई जीवनमय बनाउनेबाहेक वर्तमान सरकारको अरू कुनै मुद्दा नरहेको बताएका छन् । बिहीबार सैनिक मञ्च

काठमाडौँ – सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन मन्त्रिपरिषद्‌ले स्वीकृत गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्‌ले

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले पिछडिएका वर्ग, क्षेत्र, लिंग र जातजातिलाई शिक्षाको मूलधारमा समाहित गरी गुणस्तरीय शिक्षाको समान अवसरको वितरण गर्नुपर्नेमा

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले इन्द्रजात्रा अवलोकन गर्नुभएको छ । सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा राष्ट्रपति पौडेल जुद्ध सालिकदेखि