"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

विधायन समितिबाट नागरिकता विधेयक बहुमतले पारित

प्रकाशित मिति :  31 August, 2022 7:14 pm


काठमाडौं । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले सरकारले प्रस्तुत गरेको ‘नेपाल नागरिकता ऐन, २०६३ संशोधन गर्न बनेको विधेयक’ बहुमतबाट पारित गरेको छ।

सिंहदरबारमा आज बसेको समितिको बैठकले सरकारद्वारा प्रस्तुत सो विधेयक बिनासंशोधन बहुमतबाट पारित गरेको हो। 

संघीय संसदको दुवै सदनबाट पारित सो विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाइएकामा राष्ट्रपतिबाट साउन २९ गते आठ बुँदे सन्देशसहित प्रतिनिधिसभामा फिर्ता भएको थियो। उक्त विधेयक गत साउन ६ गते संघीय संसदका दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाइएको थियो।

समितिको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले) सांसद देवेन्द्र दाहाल, भगवती न्यौपाने र भैरसुन्दर श्रेष्ठले विधेयकका केही बुँदामा लिखित रूपमा फरक मत राखेका थिए।

यस्तै, सांसद खिमलाल देवकोटा र विमला राईले पनि विधेयकका सम्बन्धमा आ-आफ्नो लिखित अवधारणा प्रस्तुत गरेका थिए। 

बैठकमा गृहमन्त्री बालकृष्ण खाणले प्रस्तुत विधेयक परिमार्जन, संशोधन तथा राष्ट्रपतिबाट उठाइएका विषय सम्बोधन गर्ने कुरा अहिले समयाभावले सान्दर्भिक नरहेको बताए।

उनले विधेयक अगाडि बढाउन ढिलाइ हुँदा नागरिकता नपाएर प्रताडित बनेको नागरिक थप समस्यामा पर्ने बताए।

संसदीय अभ्यास र संवैधानिक व्यवस्थाअनुरूप नै सन्देशसहित सदनमा विधेयक फिर्ता भएको उल्लेख गर्दै उनले सन्देशलाई गम्भीरतापूर्वक लिएर आगामी दिनमा व्यवस्थापनको पाटोमा ध्यान पुर्‍याइने बताए। 

‘विधेयकले नागरिकतासम्बन्धी सम्पूर्ण मुद्दालाई सम्बोधन गर्छ। नेपाली नागरिकलाई एकताको सुत्रमा बाँध्छ’, उनले भने, ‘नागरिकता लिने क्रममा गर्नुपर्ने स्वघोषणाले आमाको स्वाभिमान, सम्मान र प्रतिष्ठामा कुनै आँच आउने छैन।’

जन्मसिद्धका आधारमा नागरिकता प्राप्त गर्नेको सङ्ख्या हालसम्म एक लाख ९० हजार ७२६ रहेको र उनीहरूका सन्तति गैरनागरिकका रूपमा रहेकाले त्यस्ता व्यक्तिलाई नागरिकता प्रदान गर्ने विधेयकको उद्देश्य छ। 

विधेयकको पक्षमा समिति सदस्यहरू जितेन्द्रनारायण देव, प्रकाश पन्थ, प्रमिला कुमारी, बेदुराम भुसाल, गंगा बेल्बासे, उदयबहादुर बोहरा, राधेश्याम पासवान र सुरेश आले मगरले समर्थन गरेका थिए।

विसं २०७२ को संविधान जारी हुनु अघि जन्मका आधारमा नेपालको नागरिकता प्राप्त गरेका नागरिकका सन्तानले बाबु आमा दुवै नेपाली नागरिक भएको अवस्थामा नागरिकता प्राप्त गर्ने सन्दर्भमा सरकारद्वारा प्रस्तुत उक्त विधेयकमा स्वघोषणा, वैवाहिक अङ्गीकृत लगायतका बारेमा दलहरूबीच केही फरक धारणा रहेको छ।  

  • रासस



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – देश भरका ११५ क्षेत्रमा मतगणना चलिरहेको छ । बाकि क्षेत्रमा पनि सर्वदलिय बैठकहरु बस्ने तयारीमा छ । कतिपय

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनले विकास, समृद्धि, सामाजिक न्याय र उन्नतिको यात्रालाई

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले यही फागुन २१ गते हुनगइरहेको निर्वाचनमा सक्रिय रूपमा सहभागी भई मतदान गर्न अपिल गरेकी छन्। सोमबार

काठमाडौँ – मध्यपूर्वी क्षेत्रमा उत्पन्न तनावबारे मन्त्रिपरिषद बैठक बसेको छ। आइतबार साँझ परराष्ट्र मन्त्री बालानन्द शर्माले नेपाललाई परेको प्रभाव, त्यसबारे