गण्डकी प्रदेशका युवा कांग्रेसहरुको पाचँ बुदे माग सहित पहिलो भेला सम्पन्न
पोखरा । गण्डकी प्रदेश नेपाली कांग्रेसका युवा नेताहरू प्रदेश तथा प्रतिनिधीसभा निर्वाचनमा पार्टीको टिकट युवालाई दिन पाँच बुदे माग सहित पहिलो भेला सम्पन्न गरेका छन् । नेपाली कांग्रेसका युवा नेताहरू पोखरामा भेला भएर टिकटका लागि नेतृत्वलाई दबाब सिर्जना गरेका छन् । संघ र प्रदेशको नेतृत्व लिन कांग्रेसका विभिन्न समितिहरुबाट उमेद्वार सिफारिस भएका युवा उमेदवारहरुले आसन्न चुनावमा युवाहरुलाई टिकट दिनुपर्ने भन्दै एकै स्वरमा माग गरेका हुन् ।
उक्त भेलामा गण्डकी प्रदेशका ११ जिल्लाबाट प्रतिनिधीसभा र प्रदेशसभामा सिफारिस सहभागी भएका युवा उमेदवारहरुबीच आफ्नो लिखित तथा मौखिक प्रस्तुतीमार्फत युवाका एजेण्डा र कांग्रेसले लिनुपर्ने अबको बाटोको बारेमा छलफल गरेको नेपाली कांग्रेस गण्डकी प्रदेश सदस्य तथा युथ टेबलका अभियन्ता अजित क्षेत्री अधिकारीले जानकारी दिए ।
छलफलबाट संघ र प्रदेशको दिगा विकास, सुशासन र सदाचारको पक्षमा सशक्त आवाज उठाउने, कानुन निर्माणमा अहम भूमिका खेल्ने, रुपान्तरण र पुस्तान्तरणसहितको राजनीतिक व्यवस्थापन गर्नका लागि राज्य र पार्टीका तहमा युवाहरुको प्रभावकारी उपस्थिती गराउने, नविन चिन्तन, सोच र विचारसहितको युवाहरुको सहभागिता र नेतृत्वमा समुन्नत गाउँ र शहर निर्माणमा पहल गर्ने लगायतका विषयहरुमा छलफल भएको नेपाल विद्यार्थी संघका निवर्तमान महामन्त्री एवम् स्याङ्जा क्षेत्र नं. दुई प्रदेश ‘ख’ का आकांक्षी उमेदवार युवराज पाण्डेयले बताए ।
यस्तै आन्तरिक व्यवस्थापन र जवाफदेहिता सहितको विकासका लागि पनि पुराना र अग्रज नेताहरुलाई अभिभावकीय भूमिका खेल्न आग्रह गर्ने निर्णय पनि भएको छ । भेलामा गण्डकी प्रदेशका ११ जिल्लाबाट संघ तथा प्रदेशमा सिफारिस भएका ४७ जना उम्मेदवारहरु सहभागी थिए ।
कार्यक्रममा सहभागी युवाहरुले सुशासन, विकास केन्द्रीत राजनीति, बेरोजगारी समस्या समाधान गर्न र जीवनस्तरमा अनुभुती हुने सकारात्मक परिवर्तन ल्याउन युवाहरुको नेतृत्व अपरिहार्य रहेको बताएका थिए । युवा नेताहरुले “स्वतन्त्र चम्किने, कांग्रेसका युवा कहिलेसम्म थन्किने”, “परिवर्तनका निम्ति युवा”, “सक्षम युवा, एजेण्डा सहित” लगायतका नाराहरु सहित अभियानको सुरुवात गरिएको हो । अब अर्को चरणको छलफल काठमाडौंमा गरिने अधिकारीले बताए ।
उक्त छलफलबाट पार्टी केन्द्रीय नेतृत्वलाई ५ बुँदे माग पनि पठाएको छ । संसद्मा सशक्त आवाजका लागि युवा नेतृत्वको खाँचो रहेको उनीहरूको निष्कर्ष छ । भेलाले पुराना नेताहरूलाई अभिभावकीय दायित्वमा रही नवीन चिन्तन, सोच र विचार सहितको युवा पुस्तालाई नेतृत्व हस्तान्तरणमा सहयोग गर्न अपिल समेत गरेको छ ।











