"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संसद्मा प्रत्यक्षतर्फ ५७ जना नयाँ अनुहार, कुन पार्टीबाट कति ?

प्रकाशित मिति :  १५ मंसिर २०७९, बिहीबार १७:१६


काठमाडौँ ।  प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष निर्वाचनबाट चुनिएका मध्ये करिब एक तिहाइ नेता पहिलो पटक संसद् छिर्दै छन् । मंगलबार रातिसम्म निर्वाचित १ सय ६१ मध्ये ५७ जना नयाँ हुन् । यो प्रत्यक्षतर्फ १ सय ६५ सिटको ३४.५४ प्रतिशत हो । समानुपातिक निर्वाचन प्रणालीबाट पनि थप नयाँ अनुहार संसद् पुग्नेछन् । 

एमाले र कांग्रेसबाट प्रत्यक्षमा निर्वाचितमध्ये १६–१६ जना नयाँ छन् । निर्वाचित सबैका लागि प्रतिनिधिसभा नयाँ संसदीय थलो हो । यसअघि वाग्मती प्रदेशसभा सदस्य रहेका विराजभक्त श्रेष्ठबाहेक स्वतन्त्र पार्टीका सबैमा संसदीय राजनीतिको अनुभव छैन । माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट चार–चार जना सांसद नयाँ छन् । जसपा र नागरिक उन्मुक्ति पार्टीबाट तीन–तीन, स्वतन्त्र दुई, लोकतान्त्रिक समाजवादी पार्टी र जनमत पार्टीबाट एक–एक सांसद नयाँ छन् । राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी यसै पटक उदाएका हुन् ।

कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नै यसैपालि संसदीय यात्रा सुरु गर्दै छन् । यसअघिका दुइटा निर्वाचन हारेका शर्मा झापा १ मा एमालेका अग्नि खरेललाई पराजित गरेर प्रतिनिधिसभा सदस्य बनेका हुन् । पटक–पटक उपप्रधानमन्त्री/मन्त्री भइसकेका एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई काठमाडौं–५ बाट पराजित गरेर कांग्रेसका युवा नेता प्रदीप पौडेलले पनि संसद्मा आफ्नो सिट सुरक्षित गरेका छन् । गोरखा–१ बाट निर्वाचित कांग्रेसका राजेन्द्र बजगाईं पनि पहिलो पटक संसद् छिर्दै छन् । उनले एमालेका रामशरण बस्नेतलाई पराजित गरेका हुन् । सिन्धुली–१ बाट निर्वाचित कांग्रेस केन्द्रीय सदस्य श्यामकुमार घिमिरेसँग पनि संसद् राजनीतिको अनुभव छैन । उनी एमालेका प्रदीपकुमार कटुवाललाई पराजित गरेर प्रतिनिधिसभा सदस्य बनेका हुन् ।

भक्तपुर, मुगु, म्याग्दी, अछाम र रामेछापका कांग्रेस सभापतिहरूको पनि संसदीय यात्रा यसैपालि सुरु हुँदै छ । दोस्रो पटक भक्तपुर सभापति रहेका दुर्लभ थापा पहिलो प्रयासमै चुनाव जितेर संसद्को यात्रा तय गरेका छन् । उनले भक्तपुर–२ मा एमालेका निवर्तमान सांसद महेश बस्नेतलाई पराजित गरेका हुन् । मुगु कांग्रेसका सभापति ऐनबहादुर शाही एमालेका राजबहादुर कार्कीलाई, रामेछाप कांग्रेस सभापति पूर्णबहादुर तामाङ एमालेका कैलाश ढुंगेललाई र अछाम कांग्रेस सभापति पुष्पबहादुर शाह एमालेका निवर्तमान सांसद यज्ञबहादुर बोगटीलाई पन्छाएर पहिलो पटक सांसद बनेका छन् । म्याग्दी कांग्रेस सभापति खमबहादुर गर्बुजा पनि एमालेका हरिकृष्ण श्रेष्ठलाई रोकेर संसद्मा पुगेका छन् ।

कांग्रेसबाट निर्वाचित सांसदमध्ये सबैभन्दा कान्छा योगेश गौचन थकाली हुन् । २९ वर्षीय थकालीले एमालेका निवर्तमान सांसद प्रेम तुलाचनलाई पराजित गरेर संसदीय यात्रा तय गरेका हुन् । २०७४ मा काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको मेयर रहेका सन्तोष चालिसे काठमाडौं–३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनले एमालेका निवर्तमान सांसद कृष्णकुमार राईलाई पराजित गरेर संसदीय यात्रा सुरु गरेका हुन् । कर्णाली प्रदेशसभा सदस्यको अनुभव लिएका कांग्रेसका दिक्पालकुमार शाहीले दैलेख–२ बाट संघीय संसद्को ढोका खुलाएका छन् । उनले एमालेका लक्ष्मीप्रसाद पोखरेललाई हराएका हुन् ।

सप्तरी–३ बाट निर्वाचित कांग्रेसका दिनेशकुमार यादवको पनि पहिलो संसदीय यात्रा हो । उनी एमालेका ताराकान्त चौधरीलाई रोकेर अघि बढेका हुन् । नवलपरासी पूर्व–२ बाट विष्णुकुमार कार्कीले एमालेका निवर्तमान सांसद तिलकबहादुर महत क्षत्रीलाई पराजित गरेर संसद्को यात्रा तय गरेका छन् । कैलाली–५ बाट निर्वाचित कांग्रेसका डिल्लीराज पन्त पनि संसद्मा नयाँ अनुहार हुन् । उनले एमालेका निवर्तमान सांसद तथा पूर्वमन्त्री नारदमुनि रानालाई पराजित गरेका छन् । मेडिकल कलेज सञ्चालक सुनीलकुमार शर्मा पनि संसद्मा नयाँ हुन् । कांग्रेसका उनले पूर्वमन्त्री एमालेका भानुभक्त ढकाललाई हराएर संसद् यात्रा सुनिश्चित गरेका हुन् ।

एमालेका इलाम अध्यक्ष महेश बस्नेत पाँचदलीय गठबन्धनका उम्मेदवार पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई हराउँदै पहिलो पटक प्रतिनिधिसभा सदस्य बनेका छन् । बस्नेतले एकीकृत समाजवादीका खनालको संसदीय यात्रालाई इलाम–२ बाट विराम लगाइदिएका हुन् । गठबन्धनबाट साझा उम्मेदवार बनेका एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडालाई उदयपुर–२ मा पराजित गरेका अम्बरबहादुर रायमाझी पनि संसदीय राजनीतिमा नयाँ हुन् । सोलुखुम्बुमा एमालेका मानबहादुर राईले कांग्रेसका बलबहादुर केसीलाई पराजित गरी संसद्को यात्रा सुरु गरेका छन् । एमालेले सोलुखुम्बुमा २०४८ सालयता पहिलोपटक संसदीय निर्वाचन जितेको हो ।

सिरहा–१ बाट कांग्रेसका पद्मनारायण चौधरीलाई पराजित गरेर एमालेका रामशंकर यादव पहिलो पटक सांसद बनेका छन् । महोत्तरी–१ बाट २०६४ यता सांसद जितेर पटक–पटक सत्तामा पुगेका माओवादी केन्द्रका गिरिराजमणि पोखरेललाई पराजित गर्दै एमालेका लक्ष्मी कोइरीले पनि संसद्को यात्रा सुरु गरेका छन् । एमालेका अच्युत मैनाली बारा–१ बाट बहालवाला खानेपानीमन्त्री कांग्रेसका उमाकान्त चौधरीलाई पराजित गर्दै पहिलो पटक प्रतिनिधिसभा सदस्य बनेका छन् । मकवानपुर–२ बाट एकीकृत समाजवादीका विरोध खतिवडालाई पराजित गरेका एमालेका युवा नेता महेश बर्तौला पनि प्रतिनिधिसभामा नयाँ हुन् । एमालेका प्रेमबहादुर महर्जनले ललितपुर–२ बाट प्रतिनिधिसभाको यात्रा सुनिश्चित गरेका छन् । उक्त निर्वाचन क्षेत्रमा गठबन्धनबाट उम्मेदवार रहेका एकीकृत समाजवादीका निवर्तमान सांसद कृष्णलाल महर्जनले चौथो मत ल्याएका थिए ।

कास्की–१ बाट कांग्रेसका जिल्ला सभापति किशोरदत्त बराललाई पराजित गरेर एमालेका मनबहादुर गुरुङ पनि पहिलो पटक सांसद बनेका छन् । कास्की–३ निर्वाचित एमालेका दामोदर पौडेल बैरागीले पनि संसदीय यात्रा सुरु गरेका छन् । उनले माओवादी केन्द्रका रामजीप्रसाद बराललाई रोकेका हुन् । यस्तै, पाल्पा–१ मा कांग्रेसका ज्ञानबहादुर गाहालाई हराएर नारायण आचार्य र पाल्पा–२ मा एकीकृत समाजवादीका सोमप्रसाद पाण्डेलाई पराजित गरेर ठाकुर गैरे पहिलो पटक सांसद बनेका छन् । उनीहरू दुवै एमालेका हुन् । लगातार तीन पटक सांसद जितेका कांग्रेसका भरत शाहलाई रूपन्देही–५ मा पराजित गरेका एमालेका वासुदेव घिमिरेको पनि यो पहिलो संसदीय यात्रा हो ।

प्यूठानमा राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललाई पराजित गरेका एमालेका सूर्य थापा पनि संसद्मा नयाँ अनुहार हुन् । एमालेका सूर्य ढकालले बाँके–१ मा बहालवाला युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजलाई हराएर पहिलो पटक संसदीय यात्रा तय गरेका छन् । कञ्चनपुर–१ मा एमालेका तारा लामा तामाङले माओवादी केन्द्रकी बिना मगरलाई रोक्दै संसद् यात्रा सुनिश्चित गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरूले स्थापित दलका पुराना नेताहरूलाई पराजित गरेका छन् । सभापति रवि लामिछानेले चितवन–२ बाट राज्यमन्त्री उमेश श्रेष्ठ र एमालेका निवर्तमान सांसद कृष्णभक्त पोखरेललाई हराएका हुन् । काठमाडौं–२ मा पूर्वसभामुख ओनसरी घर्तीलाई पराजित गरेर स्वतन्त्र पार्टीकी २७ वर्षीया सोविता गौतम कानुन निर्माण गर्ने जनप्रतिनिधिको सर्वोच्च थलो पुगेकी छन् । स्वतन्त्र पार्टीकै तोसिमा कार्कीले ललितपुर–३ बाट बहालवाला ऊर्जामन्त्री पम्फा भुसाललाई रोक्दै संसद्को यात्रा तय गरेकी छन् ।

स्वतन्त्र पार्टीका हरि ढकाल चितवन–१ मा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे र कांग्रेसका उम्मेदवार राष्ट्रिय योजना आयोगका निवर्तमान उपाध्यक्ष विश्व पौडेललाई पराजित गरेर संसद् पुगेका छन् । सोही पार्टीका शिशिर खनाल काठमाडौं–६ मा कांग्रेसका भीमसेनदास प्रधानलाई पराजित गरेर सांसद बनेका छन् । वाग्मती प्रदेशसभाका पूर्वसदस्य विराजभक्त श्रेष्ठले काठमाडौं–८ मा बहालवाला पर्यटनमन्त्री एवं एकीकृत समाजवादीका नेता जीवनराम श्रेष्ठलाई पराजित गरेर प्रतिनिधिसभा सदस्य बनेका छन् । पहिलो पटक चुनावी प्रतिस्पर्धामा उत्रिएर स्वतन्त्र पार्टीका गणेश पराजुली काठमाडौं–७ बाट निर्वाचित भएका छन् ।

माओवादीबाट माधव सापकोटाले सिन्धुपाल्चोक–१ मा एमालेका सरेश नेपाललाई हराउँदै पहिलो पटकको उम्मेदवारीमै संघीय संसद्को यात्रा तय गरेका छन् । सिन्धुलीमा एमालेका मनोजजंग थापालाई पराजित गरेका माओवादीका लेखनाथ दाहालको पनि संसदीय यात्रा सुरु भएको छ । लुम्बिनी प्रदेशसभाको सभामुख भइसकेका पूर्णबहादुर घर्ती पनि पहिलो पटक प्रतिनिधिसभा सदस्य बनेका छन् । उनले एमालेका कैलाशकुमार मल्ललाई पराजित गरेका हुन् । डोल्पामा एमालेका दल रावललाई उछिनेका माओवादीका छिरिङ डम्डुल लामा पनि प्रतिनिधिसभामा नयाँ हुन् ।

एमालेको चुनाव चिह्न सूर्य लिएका राप्रपा नेपालका अध्यक्ष कमल थापा र कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्यायलाई मकवानपुर–१ मा पराजित गरेर राप्रपाका दीपकबहादुर सिंह पहिलो पटक सांसद बनेका छन् । राप्रपा महामन्त्री धवलशमशेर जबराले पनि बाँके–२ मा पूर्वमन्त्री जसपाका मोहम्मद इस्तियाक राईलाई पराजित गरेर संसद्को यात्रा सुरु गरेका छन् । पूर्वमन्त्री तथा निवर्तमान सांसद कांग्रेसका देवेन्द्रराज कँडेललाई नवलपरासी पश्चिम–२ मा हराएका राप्रपाका ध्रुवबहादुर प्रधानको पहिलो संसद अनुभव हुँदै छ । जुम्लाबाट माओवादीकी गोमा कुँवरलाई पराजित गरेका राप्रपाका ज्ञानेन्द्र शाही पनि पहिलो पटक सांसद् बनेका छन् ।

धनुषा–१ मा माओवादीका मातृका यादवलाई पराजित गरेर जसपाका दीपक कार्कीले संसदीय यात्रा थालेका छन् । सप्तरी–१ बाट जसपाकै नवलकिशोर साह सुडी पहिलो पटक सांसद बनेका छन् । २०७४ सालमा कैलालीबाट निर्वाचित भएर संसदीय राजनीति गर्नै नपाएका रेशम चौधरीको अग्रसरतामा खोलिएको नागरिक उन्मुक्ति पार्टीका सबै सांसद नयाँ हुन् । उक्त पार्टीबाट रञ्जिता श्रेष्ठ कैलाली–१, अरुणकुमार चौधरी कैलाली–२ र गंगाराम चौधरी कैलाली–३ मा निर्वाचित भएका हुन् । रेशमका बुबा लालवीर चौधरी बर्दिया–२ बाट स्वतन्त्र उम्मेदवारी दिएर पहिलो पटक सांसद बनेका छन् ।

पहिलो पटक संसदीय चुनावमा भाग लिएर राष्ट्रिय पार्टी बन्न लागेको जनमत पार्टीका अध्यक्ष सीके राउत पनि पहिलो पटक नै सांसद बनेका छन् । जसपाका अध्यक्ष उपेन्द्र यादवलाई सप्तरी–२ मा पराजित गरेर उनले संसदीय यात्रा तय गरेका छन् । लोसपाका रामप्रकाश चौधरी सर्लाही–१ बाट पहिलो पटक सांसद बनेका छन् । रौतहट–२ मा कांग्रेसका मोहम्मद फिरदोस आलमलाई पराजित गरेका स्वतन्त्र उम्मेदवार किरणकुमार साहसँग पनि संघीय संसद्को अनुभव छैन ।

पूर्वसभामुख तथा इलाम–१ बाट निर्वाचित सांसद सुवास नेम्वाङ सांसदको प्रस्तुतिले सिंगो संसद्को प्रभावकारिता निर्धारण गर्ने भएकाले त्यहीअनुसार तयारी गर्न नयाँ अनुहारलाई सुझाव दिन्छन् । ‘संसद् संविधान, कानुन, नियम र स्थापित अभ्यासबमोजिम चल्छ । त्यसैले संविधान, कानुन र संसदीय अभ्यासका बारेमा सांसदहरू जानकार हुनुपर्छ,’ उनले भने, ‘आफ्ना कुरा समयभित्र प्रभावकारी रूपमा राख्ने तयारी गर्नुपर्छ । समयको अप्ठ्यारोका कारण सांसदहरूले लेखेर ल्याएर पढेको देख्छु । मेरा नयाँ साथीहरूलाई सुझाव छ, उहाँहरूले समयभित्र लेखेको पानामा नहेरी बोल्ने अभ्यास गर्नुस्, त्यो प्रभावकारी हुन्छ ।’

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा पार्टीको जिम्मेवारीमा रहँदा जस्तै सांसदका रूपमा पनि आफूहरू व्यवस्थित रूपमा प्रस्तुत हुने बताए । ‘हामी संसदीय दल गठनपछि काम विभाजन गरेर जान्छौं । कतिपय कानुन बन्ने क्रममा छन् । संघीयतालाई पूर्णता दिनका लागि कानुन निर्माण र सुधार गर्न बाँकी छ,’ उनले भने, ‘म आफैं घोषणापत्र तयारी समितिको संयोजक हो । त्यसमा टिमले सैद्धान्तिक रूपमा लेखेका विषयवस्तुलाई व्यावहारिक रूपमा कार्यान्वयन कसरी गर्नुपर्छ भन्ने निश्चित अवधारणा बनाउने छौं ।’

एमालेबाट पहिलो पटक सांसद बनेका ठाकुर गैरेले संसदीय प्रक्रियाअनुसार नै चल्ने तर त्यस क्रममा जनतासँग सम्बन्धित विषयमा आफूले घनीभूत छलफल गर्ने बताए । ‘जनताका सरोकारका विषयहरू संसद्मा घनीभूत ढंगले छलफल हुनुपर्छ र त्यसका निष्कर्षहरूलाई सरकारले कार्यान्वयन गर्ने ग्यारेन्टी हुनुपर्छ,’ उनले भने । उनले विकास खर्चको पूर्ण कार्यान्वयन र गुणस्तरीय कामका लागि पनि आफ्नो भूमिका रहने बताए ।

माओवादीका नवनिर्वाचित माधव सापकोटाले संविधानले सांसदलाई कानुन निर्माणको अधिकार दिएको तर मतदाताको अपेक्षा भने विकास र रोजगारीलगायतका समस्या रहेको हुनाले तिनलाई मिलाएर जाने बताए । ‘निर्वाचन क्षेत्रमा ओझेलमा परेका मुद्दालाई व्यवस्थित तरिकाले सदनमा आवाज उठाएर सम्बोधन गर्न पहल गर्छु । रोजगारीलगायतका विषयलाई तीन वटै तहका सरकार र सांसदहरूको समन्वयनमा सम्बोधन र सम्पादन गर्छु,’ उनले भने । राप्रपाका महामन्त्रीसमेत रहेका नवनिर्वाचित सांसद धवलशमशेर जबराले भने आफ्नो पार्टीका मुद्दासँगै विकास निर्माण, सुशासन, भ्रष्टाचार नियन्त्रणलगायतमा लाग्ने बताए ।

कुन-कुन पार्टीबाट को-को नयाँ अनुहार ?

कांग्रेस

विश्वप्रकाश शर्मा, प्रदीप पौडेल, राजेन्द्र बजगाईं, श्यामकुमार घिमिरे, दुर्लभ थापा, ऐनबहादुर शाही, पूर्णबहादुर तामाङ, पुष्पबहादुर शाह, खमबहादुर गर्बुजा, योगेश गौचन थकाली, सन्तोष चालिसे, दिक्पालकुमार शाही, दिनेशकुमार यादव, विष्णुकुमार कार्की, डिल्लीराज पन्त र सुनीलकुमार शर्मा

एमाले

महेश बस्नेत, अम्बरबहादुर रायमाझी, मानबहादुर राई, रामशंकर यादव, लक्ष्मी कोइरी, अच्युत मैनाली, महेश बर्तौला, प्रेमबहादुर महर्जन, मनबहादुर गुरुङ, दामोदर पौडेल बैरागी, नारायण आचार्य, ठाकुर गैरे, वासुदेव घिमिरे, सूर्य थापा, सूर्य ढकाल र तारा लामा तामाङ

राष्ट्रिय स्वतन्त्र पार्टी

रवि लामिछाने, सोविता गौतम, तोसिमा कार्की, हरि ढकाल, शिशिर खनाल, विराजभक्त श्रेष्ठ र गणेश पराजुली

माओवादी

माधव सापकोटा, लेखनाथ दाहाल, पूर्णबहादुर घर्ती र छिरिङ डम्डुल लामा

राप्रपा

दीपकबहादुर सिंह, धवलशमशेर जबरा, ध्रुवबहादुर प्रधान र ज्ञानेन्द्र शाही

जसपा

दीपक कार्की र नवलकिशोर साह सुडी

नागरिक उन्मुक्ति पार्टी

रञ्जिता श्रेष्ठ, अरुणकुमार चौधरी र गंगाराम चौधरी

जनमत पार्टी

सीके राउत

लोसपा

रामप्रकाश चौधरी

स्वतन्त्र

लालवीर चौधरी, किरणकुमार साह

  • कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसंघ महासभाको ७९औँ अधिवेशनमा भाग लिन नेपाली

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानलाई जीवनमय बनाउनेबाहेक वर्तमान सरकारको अरू कुनै मुद्दा नरहेको बताएका छन् । बिहीबार सैनिक मञ्च

काठमाडौँ – सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन मन्त्रिपरिषद्‌ले स्वीकृत गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्‌ले

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले पिछडिएका वर्ग, क्षेत्र, लिंग र जातजातिलाई शिक्षाको मूलधारमा समाहित गरी गुणस्तरीय शिक्षाको समान अवसरको वितरण गर्नुपर्नेमा