"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कसरी चयन हुन्छन् प्रधानमन्त्री र सभामुख ?

प्रकाशित मिति :  २७ मंसिर २०७९, मंगलवार १७:२५


काठमाडौं । प्रत्यक्ष र समानुपातिकतर्फको सम्पूर्ण मत परिणाम आइसकेको छ । दलले समानुपातिकतर्फको सूची निर्वाचन आयोगमा पठाइसकेका छन् । दलहरूले समानुपातिक सूची सच्याएर पठाइसकेपछि आयोगले सम्पूर्ण सांसदको नाम राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रस्तुत गर्छन् ।

बिहीबार आयोगले राष्ट्रपति भण्डारीसमक्ष सम्पूर्ण निर्वाचन परिणाम प्रस्तुत गर्दैछ । सङ्घीय संसद् सचिवालयका सहायक प्रवक्ता एवं सूचना अधिकारी दशरथ धमलाका अनुसार सम्पूर्ण निर्वाचन परिणाम आइसकेपछि सरकार गठन र संसदीय प्रक्रिया अघि बढ्छ ।

सुरुमा ज्येष्ठ सदस्यले गर्नेछन् संसद् बैठकको अध्यक्षता

प्रतिनिधि सभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रतिनिधि सभाका सदस्यले आफू मध्येबाट सभामुख र उपसभामुखको निर्वाचन हुने संसद् सचिवालयका सहायक प्रवक्ता एवं सूचना अधिकारी धमलाको भनाइ छ। संसद् सचिवालयले उमेरका आधारमा सबैभन्दा पहिला ज्येष्ठ सदस्यको पहिचान गर्छ । ज्येष्ठ सदस्यको पहिचान भएपछि ज्येष्ठ सदस्यलाई राष्ट्रपतिबाट शपथग्रहण गराउने कार्यक्रमको तयारीका लागि राष्ट्रपतिको कार्यालयमा पत्र पठाइन्छ ।

ज्येष्ठ सदस्यले शपथग्रहण गरिसकेपछि ज्येष्ठ सदस्यबाट अन्य प्रतिनिधि सभाका सदस्यलाई शपथग्रहण गराउनका लागि संसद् सचिवालयले सम्पूर्ण दल र सदस्यहरूमा सूचना जारी गर्छ । शपथग्रहणपछि सम्बन्धित दलहरूसँग सम्पर्क स्थापित गर्ने र दलहरूलाई संसदीय दलका कार्यालय उपलब्ध गराउने काम संसद् सचिवालयको गर्नेछ । सबै दलसँगको सम्पर्क स्थापित गरिसकेपछि सर्वदलीय बैठकको तयारी र व्यवस्थापनको काम संसद् सचिवालयले गर्नेछ ।

पहिलो सर्वदलीय बैठकमा सबै दलको प्रतिनिधि रहनेगरी बैठक बोलाउने र बैठकमा आगामी संसद्को पहिलो बैठकको एजेण्डा के हुने ? के कस्ता विषय लैजाने ? भन्ने बारेमा छलफल र निर्णय हुन्छ । साथै, सोही सर्वदलीय बैठकमा नै सभाको अध्यक्षता गर्ने अध्यक्ष मण्डल चयन हुनेछ । सर्वदलीय बैठकमा संसद्को पहिलो बैठकमा दलका नेताले सम्बोधन गर्ने कि नगर्ने ? भन्ने बारेमा निर्णय हुनेछ । साथै, सोही बैठकमा नै दलहरूलाई सिट प्लानको बारेमा पनि जानकारी संसद् सचिवालयले गराउँछ ।

संसद् बैठकको अध्यक्षता भने ज्येष्ठ सदस्यले गर्ने प्रावधान छ । सरकारले राष्ट्रपतिसमक्ष संसद् आह्वानका लागि पेस गरेको पत्र राष्ट्रपति कार्यालयले संसद् सचिवालयमा पठाइसकेपछि संसद् आह्वानको पत्र संसदमा ज्येष्ठ सदस्यले पढेर सुनाउनुहुनेछ । संसद् आह्वानको पत्र पढेर सुनाइसकेपछि ज्येष्ठ सदस्य सभामुखबाट सदस्यको स्वागत हुन्छ । दलका नेताले बोल्ने निर्णय सर्वदलीय बैठकमा तय भएमा दलका नेताले सम्बोधन गर्नुहुने संसद् सचिवालयका सहायक प्रवक्ता धमलाले जानकारी दिनुभयो ।

आगामी दिनमा सभामुख, उपसभामुखको निर्वाचन नभएसम्मका लागि बैठकको अध्यक्षता गर्ने अध्यक्ष मण्डलको पनि सँगै चयन हुने र सोही बैठकमा यसबीचमा सरकारबाट कुनै अध्यादेश जारी भएका भए ती अध्यादेश पनि पहिलो बैठकमा पेस गर्नुपर्ने हुन्छ । दलले सहमतिबाट सभामुखको निर्वाचन प्रक्रिया अघि बढाउने कुरा सर्वदलीय बैठकमा नै टुङ्गो लागेको खण्डमा भने पहिलो बैठकबाट नै सभामुखको निर्वाचनको प्रक्रिया प्रारम्भ हुनेछ । संसद्को पहिलो बैठकमा नै आगामी बैठकको बारेमा पनि जानकारी गराइन्छ ।

सभामुखको निर्वाचन प्रक्रिया

त्यस्तै, संसद्को कुनै एक बैठकले सभामुखको निर्वाचनको मिति तोक्छ । सम्भवतः पहिलो बैठकबाट नै सभामुख र उपसभामुखको निर्वाचनको मिति तोकिनसक्छ । संसद् बैठकले निर्वाचनको मिति निर्धारण भएपछि सभामुखको निर्वाचनसम्बन्धी कार्यतालिका प्रकाशन गर्न महासचिवलाई निर्देशन दिने काम गर्छ । त्यसपछि मात्रै संसद् सचिवालयका महासचिवले सभामुखको निर्वाचनसम्बन्धी कार्यपालिका प्रकाशन गर्नुहुनेछ । निर्वाचनको दिन कुनै सदस्यले कुनै अर्को सदस्यलाई सभामुखको निर्वाचन गरियोस् भनेर प्रस्ताव पेस गर्नुपर्ने हुन्छ ।

निर्वाचनको दिन कुनै सदस्यले कुनै अर्को सदस्यलाई सभामुखको निर्वाचन गरियोस् भनेर प्रस्ताव पेस गरेको भए त्यस्तो प्रस्तावक र समर्थक सदस्यले संसदमा बोल्नुपर्ने हुन्छ । त्यस्ता प्रस्ताव र समर्थक सदस्यले पालैपालो बोलिसकेपछि ती प्रस्तावलाई निर्णयार्थ पेस गरिने प्रावधान छ । एकभन्दा बढी प्रस्ताव आए दर्ता क्रम अनुसार पालैपालो निर्माणार्थ पेस गरिनेछ ।

प्रस्तावमाथि निर्णय गर्न बैठकमा मत विभाजन पनि गरिन्छ । एक मात्र प्रस्ताव आए मत विभाजनमा लैजानु पर्दैन । त्यसपछि सभामुखको निर्वाचन प्रक्रिया प्रारम्भ हुनेछ । निर्वाचन सकिएपछि निर्वाचित सभामुखको घोषणा ज्येष्ठ सदस्यले गर्नुहुनेछ ।

यसरी चुनिन्छ प्रधानमन्त्री

प्रतिनिधि सभाको बैठकबाट नै प्रधानमन्त्रीको निर्वाचन प्रक्रिया पनि अघि बढ्छ । संविधानको धारा ७६ को १ बमोजिम राष्ट्रपतिले प्रतिनिधि सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछ र निजको अध्यक्षतामा मन्त्रिपरिषद्को गठन हुनेछ । तर यो निर्वाचनबाट कुनै एक दलको मात्र स्पष्ट बहुमत नपुगेकाले संविधानको धारा ७६ को उपधारा २ (१) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रतिनिधि सभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नेछन् ।

प्रतिनिधि सभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र उपधारा (२) बमोजिम प्रधानमन्त्री नियुक्त हुनसक्ने अवस्था नभएमा वा त्यसरी नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा राष्ट्रपतिले प्रतिनिधि सभामा सबैभन्दा बढी सदस्य भएको दलको संसदीय नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछ । संविधानको धारा ७६ को उपधारा ४ को (२) वा (३) बमोजिम नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्नुपर्नेछ ।

पहिलो बैठकमा सदस्यको आसन

कुनै पनि पार्टीबाट प्रतिनिधि सभामा निर्वाचित सदस्यका लागि पहिलो बैठक वा त्यसपछिका अरू बैठकको आसन छुट्टै हुने भन्ने व्यवस्था नरहेको संसद् सचिवालय बताउँछ । पहिलो बैठकबाट नै संसद् सचिवालयले दलहरूसँग सम्पर्क स्थापित गरेर दलहरूकै राय, सल्लाह बमोजिम नै सत्तापक्ष, प्रतिपक्ष रहने सिटको व्यवस्था गर्नेछ । सम्भव भएसम्म सबै दलहरूको कम्तीमा एक जना सदस्य अगाडि रहनेगरी संसद् सचिवालयले सिटको व्यवस्थापन गर्नेछ । दलका नेताहरू सबैलाई अघि राख्ने गरी व्यवस्थापन गर्ने भने पनि संसद् भवन साँघुरो भएका कारण व्यवस्थापनमा कठिनाइ हुने सचिवालयको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसंघ महासभाको ७९औँ अधिवेशनमा भाग लिन नेपाली

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानलाई जीवनमय बनाउनेबाहेक वर्तमान सरकारको अरू कुनै मुद्दा नरहेको बताएका छन् । बिहीबार सैनिक मञ्च

काठमाडौँ – सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन मन्त्रिपरिषद्‌ले स्वीकृत गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्‌ले

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले पिछडिएका वर्ग, क्षेत्र, लिंग र जातजातिलाई शिक्षाको मूलधारमा समाहित गरी गुणस्तरीय शिक्षाको समान अवसरको वितरण गर्नुपर्नेमा