सभापतिले युवापुस्ता गगनलाई आफै अगाडी बढाए हार्दिकताको सन्देश जान्छ : महामन्त्री विश्वप्रकाश शर्मा
काठमाडौं । अघिल्लो वर्ष नेपाली कांग्रेसको महामन्त्री चुनिएका विश्वप्रकाश शर्माले झापा–१ मा ठूलो मतान्तरसहित प्रतिनिधिसभा चुनाव जिते । अब उनको स्पष्ट ध्येय छ– पार्टी संसदीय दलको नेतामा अर्का नेता गगन थापालाई अघि बढाउने । आफू पार्टी काम र संसदीय अभ्यासको सिकाइमा लाग्ने ।
चुनाव जितेपछि शर्माले पहिलो पटक अन्तर्वार्तामा घोषणा गरेका छन् : आफू अहिले मन्त्री नबन्ने, पार्टीको महामन्त्रीकै भूमिकालाई सशक्त बनाउन लाग्ने । ‘पार्टीमा संगठन र आन्तरिक व्यवस्थापनका धेरै काम छन्, कार्यकर्ताहरूका धेरै आशा र अपेक्षा छन् । मेरो ध्यान त्यसलाई सम्बोधन गर्नेमा हुन्छ ।
शर्माले पार्टी सभापति शेरबहादुर देउवालाई अब नयाँ पुस्ताको लागि बाटो खोल्न आग्रह गरे । उनीसँग अनलाइनखबरकर्मी बसन्त बस्नेतले गरेको यो वार्ता :
योपल्ट सांसद जित्दा पहिलेभन्दा संघर्ष निकै सहज भएको हो ?
संघर्ष, मिहिनेत, प्रयत्न भनौं । सबैको स्नेह, आशीर्वाद र शुभेच्छा, युवा साथीहरूको विश्वासका कारण मैले चुनाव जितें । सबैलाई धन्यवाद छ ।
संघीय संरचनामा मेची अञ्चल त अस्तित्वमा छैन, तर सत्ता गठबन्धनका तर्फबाट पुरानो मेचीबाट तपाईं एक्लैले जित्नुभएछ । यसलाई सांसद विश्वप्रकाशले जितेको मान्ने कि महामन्त्री विश्वप्रकाशले हारेको मान्ने ?
सांगठनिक हिसाबले हेर्दा एकदमै खुसी हुनुपर्ने केही छैन । कुनै बेला एक्लै लडेर दुई तिहाइ ल्याएको दल । २०४६ पछि पनि दुईपल्ट बहुमत पाएको दल । मिलेर जाँदै गर्दा २३ सिटबाट ५७ पुगेका छौं । धेरै साथी उपविजेता छन् । त्यसैले दुवै किसिमको गाम्भीर्य हेर्नुपर्छ । हर्षबढाइँ मात्रै गर्नुको अर्थ छैन ।
अहिले हेर्दा गठबन्धन चाहिने रहेछ जस्तो लागेको छ कि नभए पनि हुने रहेछ भन्ने ?
गठबन्धनलाई चुनावी जित–हार र गणितको कोणबाट मात्रै नहेरौं । यसलाई जित–हारभन्दा पर गएर हेर्नुपर्छ । किनभने जनताले प्रतिपक्षमा बस्ने म्यान्डेट दिंदै कांग्रेसलाई २३ सिटमा मात्रै जिताएको अवस्था थियो ।
तर दुई तिहाइका प्रधानमन्त्रीले देखाएको अहंकार, संसद विघटन, प्रतिगमनतर्फको यात्रालगायत कुरा थिए । त्यसलाई साइजमा राख्नुपर्ने थियो । आवश्यकता र बाध्यताले हामीलाई गठबन्धनमा लगेको थियो ।
तैपनि एमालेको मत थुप्रै आयो नि ?
त्यसैले मैले भनेको । यसमा कांग्रेस र एमाले दुवैले खुसी मनाउनुपर्ने अवस्था छैन । दुवैले गम्भीर आत्मचिन्तन गर्नुपर्छ । दोस्रोबाट पहिलो भयौं भन्ने खुसीले कांग्रेसलाई पुग्दैन । एमालेले पनि २०७४ मा के थियौं, अहिले के भयौं भनेर हेर्नुपर्छ । कम्युनिस्ट आन्दोलन २०७४ मा कहाँ थियो, अहिले कहाँ छ भनेर हेर्नुपर्छ । कांग्रेसले पनि २०१५, २०४८ र २०५६ सालमा के थियौं भनेर पनि हेर्नुपर्छ ।
तल चुनाव जिते पनि तपाईंहरूको वास्तविक परीक्षा भने संसदीय दलको चुनावमा आउँदैछ, होइन ?
लोकतन्त्र निरन्तरकै प्रतिस्पर्धा हो । बीपी कोइरालाले भन्नुभएको छ, जीवनको सफलता कुनै उद्देश्य प्राप्तिमा होइन, निरन्तरको प्रयत्नमा हुन्छ । जनताको सर्वोत्तम विवेकले निर्वाचित सांसदले आफ्नो सर्वोत्तम विवेक प्रयोग गर्नुपर्छ ।
हिजो शनिबार राति तपाईंहरूले समानुपातिक सूची फाइनल गर्नुभयो । संविधानले समानुपातिक प्रणाली राखेर जुन वर्गलाई माथि उठाउने उद्देश्य राखेको हो, के तपाईं हरूले त्यसमा अघि बढाउनुभयो ?
कतिपय नामहरूलाई लिएर जुन आलोचना भइरहेको छ, यसमा गम्भीर आत्मसमीक्षा गर्ने ठाउँ छ । कतिपय नाममा आलोचना भए भन्दैमा अंशलाई लिएर समग्रतामा विश्लेषण गर्नुहुँदैन । पिंधमा रहेको सीमान्त वर्गको आवाज मुखरित गर्ने यसको उद्देश्य हो ।
संघीयता र समानुपातिक प्रणालीको गुण यही हो । एक दुई जना व्यक्तिलाई हेरेर समग्र उद्देश्यमाथि प्रश्न उठाउन उचित हुँदैन । सिमानामा पर्खाल लगाएर राष्ट्रियता संरक्षण हुन्न, समुदायको सशक्तीकरण गर्नु मुख्य कुरा हो ।
प्रभुत्वशाली नेताहरू सके आफैं बस्ने, नसके नातागोता, आफन्तलाई राख्ने गर्नु उचित हो ?
अघि पनि भनें, समानुपातिक पद्धतिबाट उठाउनुपर्ने वर्गलाई माथि उठाउने, अझै वस्तुगत र भावनात्मक बनाउने कुरा पनि हो । यसो गरिनुपर्छ । गल्ती सच्याउँदै जानुपर्छ ।
तपाईं चुनावपछिको पहिलो अन्तर्वार्तामा बस्दै हुनुहुन्छ । राष्ट्रिय स्वतन्त्र पार्टीलगायत नयाँ दलहरूको उदयलाई कसरी हेर्नुभएको छ ?
दुईवटा पाटा छन् । दलहरूको काम छैन, दलीय पद्धति नै खराब हो, दलहरू नै खराब हुन्, यिनले केही गर्दैनन् भन्ने मनोविज्ञान जबर्जस्त ढंगले बनाउँदै हुनुहुन्छ एकथरीले । तर यसो भन्दाभन्दै पनि दल नै खोल्ने कोसिस भइरहेको छ ।
यसलाई संसदीय व्यवस्थाको उपलब्धिकै रूपमा लिनुपर्छ । जस–जसले हिजो लडेका हुन्, तिनले मात्रै नेतृत्व गर्नुपर्छ भन्ने केही छैन । यसको सौन्दर्य भनेको परिमार्जन नै हो । कोही दल खोलेरै आउलान्, कोही बाहिरबाट आउँछन् ।
नयाँ संसदीय शक्तिहरूलाई स्वागत नै गर्नुपर्छ भन्ने मूडमा हो तपाईं ?
नेतृत्वमा कोही पनि उदाएर आउँदैछ भने उसलाई स्वागत गर्नुहुन्न भन्ने लाग्दैन । त्यो त अलोकतान्त्रिक कुरा हुन्छ । कुनै पनि व्यक्ति आउँदै गर्दा उसलाई मुस्कुराएर ग्रहण गर्नुपर्छ । त्यो लोकतान्त्रिक संस्कृति हो ।
तपाईंले घुमाएर यो सन्देश देउवालाई दिनुभएको हो ?
व्यक्तिमा म जान चाहन्नँ । पार्टी सभापति शेरबहादुर देउवा मेरा लागि आदरणीय व्यक्ति हुनुहुन्छ । तर यो सन्देश क, ख वा जो–कसैलाई हुनसक्छ । हामी आफैंलाई पनि हो ।
केही नयाँ क्षेत्रीय दलहरूको पनि उदय भएको छ यसपल्ट; कस्तो देख्नुहुन्छ उहाँहरूको भविष्य ?
आउँदै गरेका ती दलहरूले बदलिंदै गरेको समाजको एजेन्डा र गतिशीलतालाई नेतृत्व गर्न सक्नुपर्छ । क्षेत्रीयस्तरमा छ भन्दैमा बिलाएर जान्छ भन्ने हुँदैन । फुटबलमा सेनेगल आएर फ्रान्सलाई हराएको थियो कुनै बेला । सानो दलको उदय हुँदैमा आपत्ति मान्नुपर्दैन । समाज र व्यवस्था निरन्तर गतिमा अघि बढेर जान्छ ।
पाईंहरूको तर्फबाट कसलाई उठाउँदै हुनुहुन्छ भनेर सोधेको ।
उहाँले भन्नुभयो, ‘कल्लाई उठाउने र ? म आफैं उठ्दैछु नि !’ हिजो शनिबार राति साढे १२ बजे गफ गर्दैथियौं । मैले देउवालाई भनें, ‘तपाईं फुटबल हेर्दै हुनुहुन्छ ? ब्राजिल त हार्यो नि !’
‘कहाँ हेर्न पाउनु यार !’
‘तपाईलाई थाहा छ ? ब्राजिल त पाँच पटकको विश्व विजेता हो नि !’
‘ए, हो है ? पाँच पटक जितेको टिम ।’
‘तर छैटौं पटक जितेन नि ! तपार्इं पनि पाँच पटक (प्रधानमन्त्री) जित्नुभयो, छैटौं पटक भन्न सकिन्न नि !’
ब्राजिललाई ज्योतिषीले ‘सात पल्ट जित्छौं’ भनेको छैन नि त भन्नुभएन होला नि उहाँले ?
(हाँसो) त्यो सौहार्द्ध कुरा थियो । तर उहाँलाई परिस्थिति जसरी बदलिंदैछ, त्यो नबुझाइ दिनेहरूको कारण पो कमजोरी भइराखेको छ कि ? उहाँका इच्छा विगतमा पूरा भएका छन् ।
पाँच पल्ट र ६ पल्टको बीचमा कुनै मेडलको फरक हुँदैन । तर कसैलाई जिम्मेवारी सुम्पिंदै गर्दा धेरै ठूलो फरक हुन्छ । यो कुरा उहाँलाई नबुझाइ दिनेको पो कमी छ कि ? अरूले देउवाको जित खोज्दैछन् । म देउवाको हित खोज्दैछु ।
हिजो पनि मैले पूर्णबहादुर खड्कालाई सोधें, ‘कति वर्ष पुग्नु भो ?’
‘६८ वर्ष’ । ‘अर्को पाँच वर्षमा ?’ ‘७३ वर्ष ।’
‘७३ वर्षसम्म हामीले किन तपाईंलाई पर्खने ? अहिले नै किन आँट गर्नुहुन्न ? खुलस्त भन्नुस् देउवासँग ।’
म आज अनलाइनखबरबाट यो अझै खुलेर भन्दैछु । योग्यता छैन ? क्षमता छैन ? के हो त समस्या ? त्यसैले अब उहाँहरूले पनि नेतृत्वका लागि बोल्नुपर्छ । छोराले पनि बाउसँग झगडा गर्छ । म जन्मिंदा त देउवा र रामचन्द्र पौडेल नेतै भइसक्नुभएको थियो । अझै पनि उहाँहरू नै भइराख्ने ? मैले देउवालाई भन्न मिल्ने, उहाँहरूले नमिल्ने भन्ने हुन्छ र ?
तपाईंहरूले देउवालाई जसरी पनि छोडाउनका लागि कोसिस गर्दै हुनुहुँदोरहेछ !
हामीले देशलाई सन्देश दिने हो । यसको सँगै हामीले अब कांग्रेसलाई ड्राइभ गर्छौं भन्ने हो । गगन थापाको संसदीय दलको उम्मेदवारीमा म प्रस्तावक हुँ । गगन थापाको उम्मेदवारी एक मिनेटमा फिर्ता हुन पनि सक्छ ।
फिर्ता हुने कसरी भने अहिले ‘तिमीहरूले नेतृत्व नलिने र शेरबहादुर देउवाले पनि छोड्नुहुन्छ’ भनेमा । विकल्पमा जाऔं भनेको अवस्थामा फिर्ता हुनसक्छ । सहमतिको प्रस्ताव बन्यो भने त्यसको हामी वाधक बन्दैनौं नि त !
तपाईंले भनेको त्यो विकल्प भनेको के हो ? अझ प्रष्ट्याइदिनु न !
अघि मैले ४/५ वटा नाम लिएँ नि त !
अरू जुनसुकै व्यक्ति भए पनि हुन्छ ? रामचन्द्र पौडेल, शशांक कोइराला लगायत ?
नाइँ, नाइँ । जो नाम हुन्छ भनेर त्यसरी मैले भन्नु पनि हुँदैन । विकल्प नै छैन भने जस्तो गर्न भएन । हामी एमाले होइनौं नि ! कमरेड केपी ओलीलाई पहिले नै टीका लगाएर गए जस्तो मन–मन नै अरूले पनि टीका लगाएर बस्दिने ?
उसो भए अर्को पक्षबाट विकल्पको व्यक्ति प्रस्तुत गर्न सके गगनको नाम फिर्ता हुन्छ भनेर बुझ्नुपर्यो ?
पार्टीमा वैकल्पिक प्रस्तावमा हामी बाधक हुँदैनौं । हाम्रो आग्रह यो दोस्रो विकल्प हो । पहिलो आग्रह त के हो भने ‘एज र एजेण्डा’ छ । मैले पाँच वर्षअघि एज होइन, एजेण्डाको कुरा गरौं भनेको थिएँ । त्यो बेला कतिपयले के सोच्नुभयो भने एज भनेको बुढापाकाको कुरा भनिदिनुभयो । एजेण्डा भनेको युथको कुरा सोच्नुभयो ।
हिजो जुन पोइन्टमा म थिएँ, आज पनि त्यही पोइन्टमा छु । कोही बुढो उमेर हुने वित्तिकै छोड्नुपर्छ भन्ने पनि होइन । कोही युवा उमेरको छ, बेलै भएको छैन भन्ने पनि होइन । एज र एजेण्डाको सम्मिश्रण हुनुपर्यो ।
अघिको प्रश्नमा तपाईंलाई पूर्णबहादुर खड्काले के जवाफ दिनुभयो ?
उहाँले पख्नुस् न पख्नुस् भन्ने जवाफ दिनुभयो । अनि मैले भनें ‘ठिकै छ, हामीले पर्खौंला तर समयले पर्खिंदैन दाइ !’ यो कुरालाई मैले सार्वजनिक रूपमै भनेको छु । यसलाई उहाँले आत्मसात् गर्नुभएको छ ।
सरकारको नेतृत्व गगन र पार्टीको नेतृत्व तपाईंले गरेर रूपान्तरण दिने गरी दुई महामन्त्री बीच आन्तरिक सहमति भएको हो ?
बिल्कुलै होइन । कसैलाई के लाग्न सक्छ भने कसैले कसैलाई सहयोग गर्दैछ भने त्यसका पछाडि विचार, दर्शन, तर्क, संस्कार हुनसक्छ । हाम्रो समाजमा कम सोचिन्छ, उसका लागि नगदै नभए पनि उधारोमा केही सहमति भएको होलान् ।
म महामन्त्री भएको एक वर्ष पनि भएको छैन । मैले वा गगनले सभापतिको तयारी वा सोच्ने बेला भएको छैन । हामीले पहिले महामन्त्रीको जिम्मेवारी पूरा गरौं, काम गरौं भन्ने हो । खोला तर्ने क्रममा छौं भने खोला तर्ने काम गरौं ।
खोला तर्ने कुरा नगरी डाँडा कसरी उक्लने भन्ने कुरा गर्न थाल्यौं भने खोला तर्न सक्दैनौं । खोला तर्ने बेला खोलाकै कुरा, महाधिवेशन आउने बेला डाँडाको कुरा गर्ने हो । त्यसकारण अहिले गगन र मेरो बीचमा सभापति अब बन्ने भन्ने कुरा भएको छैन ।
कांग्रेसको सभापति हामी नभएर सिनियर पनि बन्न सक्नुहुन्छ । दुई भाइले बाँड्यौं र बाँकी सबैलाई किनारा लगाउँछौं भन्ने त होइन नि !
तपाईंले घुमाउरो पाराले शेखर कोइरालालाई सन्देश दिन खोज्नुभएको हो कि ? एउटाले पार्टी र अर्कोले सरकारको नेतृत्व गर्दा हामी के भन्ने उहाँलाई परेको चर्चा हुन थालेको छ ?
उहाँलाई मेसेज दिन त भेटघाट, बस–उठमार्फत नै भइहाल्छ नि ! ‘तातै खाउँ, जली मरौं’ को मनोविज्ञानमा युवाहरू पनि हुनुहुँदैन । हामीमा पनि त्यो परिपक्वता छ । २५ वर्षअघि मैले डायरीमा लेखेको कुरा स्मरण गराउन चाहन्छु ।
युवा उमेरमा विश्वप्रकाश बाँच्दै गर्दा पाकोले जस्तै सोच्ने र बोल्ने प्रयास गर्छ । जब पाको उमेर हुन्छ, त्यसबेला युवा उमेर जस्तो बरकरार हुने प्रयास गर्छ । देशलाई नेतृत्व गर्ने हतारिएर, आवेगमा आएर हुने कुरा होइन । वस्तुगत र संयमित भएर निर्णय गर्नुपर्छ ।
डा. शेखरसँग यो सन्दर्भमा तपाईंले भेट्नुभएको छ कि वा भेट्दै हुनुहुन्छ ?
डा. शेखर कोइराला, प्रकाशमान सिंह, रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौलालगायत अन्य नेताहरूसँग यस बीचमा भेटघाट भएका छन् ।
संसदीय दलको नेता चयन गर्ने विषयलाई लिएर नेता शेखरसँग भेट भएको छ कि छैन ?
आज (आइतबार) भेट्दैछु । यस बीचमा उहाँसँग फोनमा मात्रै संवाद भएको छ । शनिबार कार्यसम्पादन समितिको बैठक अघि पनि उहाँसँग संवाद भएको छ । आज फेरि कुरा हुन्छ ।
तपाईं र गगन दुवै जनाले भेट्ने हो ?
पार्टीका नेताहरूलाई मैले भेटिरहेको छु । राति फुटबल हेर्ने, दिउँसो नेताहरू भेटिरहेको छु ।
विश्वकप फुटबल हेरिरहनुभएको छ ?
अहिले त दिउँसोभरि संसदीय दल, रातभरि फुटबल जस्तो भएको छ ।
तपाईं कुन देशको पक्षमा हुनुहुन्छ ?
म समर्थक भएको टीम चाहिं अर्जेन्टिना हो ।
नेता कृष्णप्रसाद सिटौलासँग पार्टीभित्र तपाईंको सम्बन्धमा उतारचढाव आइरह्यो । उहाँ निर्वाचित हुन नसकेपछि भेट भएको छ ?
भेट भएको छ । परिणाम आउने क्रममै रहँदा फोनमा कुरा भयो । नतिजा आइसकेपछि उहाँकै घरमा गएको थिएँ । झापामा उहाँको घरमा एक घन्टा बसें । उहाँको शुभेच्छा र आशीर्वाद लिइयो । उहाँ विजयी हुनुहुन्छ भन्नेमा हामी धेरै आशावादी थियौं । एकआपसमा सहयोग पनि भएको हो । सहयोग गर्नु कर्तव्य पनि हो ।
एकातिर झापामा केपी हुँदा अर्कोतिर सिनियर नेता कृष्णप्रसाद सिटौला नै हो । दुई केपी भनौं । उहाँ निर्वाचित भएको भए अभिभावकत्व अझै बलियो मिल्नेथियो । उपविजेता भए पनि उहाँको अभिभावकत्व कमजोर होला भनी म सोच्दिनँ। विजयीले अझ बलियो भने बनाउने थियो । उहाँ आध्यात्मिक र उच्च मनोबल भएको नेता हो । संयमको शिक्षा हामीलाई दिनुहुन्छ । झापा र कांग्रेसको लागि उहाँको क्रियाशीलता रहन्छ ।
१५औं महाधिवेशनको परिदृश्य तपाईंले केही न केही त पक्कै देख्नुभएकै छ । कस्तो होला १५औं महाधिवेशनको परिदृश्य ?
नेतृत्वले परको पनि देख्छ भनेर तपाईंले भूमिका बाँधे पनि मैले यतिबेला भन्ने यत्ति हो, कुनै पनि विषयमा टिप्पणी गर्ने क्षमता राख्नुपर्दछ । देखिएका कतिपय कुरा यस्ता हुन्छन्, समय नआई बोल्नुहुँदैन । १५औं महाधिवेशनलाई लिएर आकांक्षा अहिले व्यक्त गर्न लागें भने अलिकति हतार हुन्छ ।
१० कक्षामा भर्ना भएर एसईईको तयारी गरिरहेको विद्यार्थीले डिग्री कुन विषयमा लिने सोच्नुहुँदैन । त्यसलाई बजारीकरण गर्नु ठिक हुँदैन ।
भविष्यमा के बन्छौं भनेर त १० कक्षामा पढ्नेलाई नि सोधिन्छ नि ?
भविष्यमा कुनै दिन विश्वप्रकाश शर्मा कांग्रेसको सभापति बन्छ । विश्वप्रकाश शर्मा देशको प्रधानमन्त्री पनि बन्छ भन्ने आकांक्षा राखेर हिंडेको मान्छे हो ।
सिंढीमा १० खुट्किला मध्ये तेस्रोमा चढ्दै गर्दा चौथोमा कसरी टेक्ने सोच्छु ।
तपाईं दुई महामन्त्रीको गठजोड हुँदा कतिपय खुसी पनि छन् । कतिपय दुःखी पनि छन् । के हुन लागेको र यी दुईको प्रगाढ सम्बन्ध कतिबेलासम्म हो भन्ने पनि छन् नि ? नेपालको राजनीतिमा कस्तो देखिंदै आएको छ भने कोही मिले भने किन मिले ?
अर्को प्रश्न पनि आउँछ, यी मिलेर गर्न खोजेको के हो ? अर्को कुरा फेरि के भन्छन्, एकदिन त यी लडिहाल्छन् । राजनीतिमा आज मिलन हुँदैमा भोलि द्वन्द्व हुँदैन भन्ने होइन । आज द्वन्द्व हुँदैमा भोलि मिलन हुँदैन भन्ने हुँदैन ।
नेपालको राजनीतिमा किन वितृष्णा छ ? यसलाई मैले हेक्का राख्दछु । नेपालको राजनीतिमा ‘म नै बन्नुपर्दछ’ भन्ने आफ्नो बारेमा अति विश्लेषण छ । अर्को व्यक्तिको बारेमा न्यून बुझाइ छ । अर्कालाई अण्डर–इस्टिमेट गरिदिने प्रचलन छ । म त्यो कुराबाट ग्रसित छैन । त्यो कुराबाट म मुक्त हुन चाहन्छु ।
२०७०÷७४ सालमा फेसबुक थियो र नै निर्वाचित हुनेलाई मैले माला लगाइदिएको देख्नुभयो । २०४४-४५ सालमा नै मेची क्याम्पसमा नेविसंघको सभापति हुँदा पद्धति बदलेको थिएँ । यो पटक पनि स्ववियू चुनाव हुँदैछ, यसपटक पनि हार्दैछौं भनेर सार्वजनिक रूपमा मैले बोलेको थिएँ ।
यसपटक बल प्रयोग नेविसंघले गर्दैन, जितेको पक्षलाई अबिर माला लगाएर स्वागत गर्छौं भनेर मैले मञ्चबाट भनें । हामी हार्यौं, जित्नेलाई स्वागत गर्यौं । त्यसकारण संयम राख्यौं भने लामो यात्रामा जान सकिन्छ । राजनीतिले समाजमा संस्कार दिनुपर्दछ । राजनीतिले सरकार धेरै दिए ।
गगनलाई प्रधानमन्त्री बनाएपछि आफू पनि मन्त्री हुने होला नि कतिपयले भन्छन् । म मन्त्री हुने होइन । मन्त्री पदको आकांक्षामा म छैन । मन्त्री बन्ने साथीहरूलाई सहजीकरण गरौंला । प्रधानमन्त्री बनाउन उम्मेदवार नै लिएर हिंडेको छु ।
त्यसो भए अब बन्ने सरकारमा विश्वप्रकाश शर्मालाई मन्त्रीका रूपमा देख्न पाइँदैन है ? शक्तिशाली मन्त्रालयसहितको अफर आयो भने ?
कसैले भान्छामा बसेर खान्न भनिरहेको छ भने खीर पायौ भने खान्छौं कि खान्नौं भन्ने कुरै हुँदैन नि ! खान्न भनेपछि मैले मन्त्री पद खान्न ।
यो सिंगो पाँच वर्ष नखाने कि बीचमा कुनै बेला मन्त्री हुने अवस्था बन्यो भने ?
यो पाँच वर्ष संसदलाई स्थिर बनाउनुपर्छ । सरकार एउटै रहन्छ भन्ने होइन । पाँच वर्ष संसद स्थिर राख्ने घोषणापत्रमा पनि लेखेका छौं । दलभित्र वा दल र दलभित्रको द्वन्द्वका कारणले हामीले संसदलाई विघटन गर्दैनौं ।
अब आउने पाँच वर्ष एउटै प्रधानमन्त्री दिन सक्छौं भन्दै गर्दा दिन सक्दैनौं । गठबन्धनमा छौं । माओवादी, एकीकृत समाजवादीको आकांक्षा र आकारलाई सम्बोधन गरी सँगसँगै जानुपर्छ । हाम्रो प्राथमिकता पाँच वर्ष संसदलाई कायम राख्ने हुन्छ । काममा क्षमता बढाउनुपर्छ ।
तपाईंको भूमिका सांसदका रूपमा बढी केन्द्रित गर्नुहुन्छ कि पार्टीका लागि ?
दुई कुरामा हुन्छ । सांसदका रूपमा संयमतापूर्वक केही कुरा सिक्ने हुन्छ । केही मिहिनेत गर्ने हुन्छ । जनताका आवाज प्रस्तुत गर्ने एउटा भूमिका हुन्छ । सरकारमा मेरो भूमिका अहिले हुँदैन ।
महामन्त्रीको लागि जिम्मेवारी दिएको एक वर्ष मात्रै भएको छ । पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थाहरू भताभुंग छन् । त्यसलाई एकातिर राखेर मन्त्री बन्नतिर लाग्नुहुँदैन । संगठनको काममा ध्यान दिनुपर्दछ । सरकारमा आकांक्षा राख्नुहुन्न । सरकारमा जाने साथीहरूलाई सहजीकरण गर्नुपर्दछ ।
भद्र सहमतिअन्तर्गत पहिलो चरणमा प्रधानमन्त्री को बन्दैछ ?
नेपाली कांग्रेसको प्रधानमन्त्री बन्नुहुन्छ । संसदीय दलको नेता हामीले जसलाई चयन गर्छौं, उहाँ बन्नुहुन्छ ।
२३ सिट भएको कांग्रेसलाई हिजोको दिनमा प्रधानमन्त्री बनाएकाले अहिले हामीले सरकारको नेतृत्व पाउनुपर्ने माओवादीको पनि माग देखिन्छ नि ?
गठबन्धनमा भएका साथीहरूले फरक ढंगको प्रस्ताव ल्याउनुभयो भने एउटा थलोमा बसेर जिम्मेवारीर्पूवक हल गर्नुपर्दछ । माओवादी वा एकीकृत समाजवादीले फरक प्रस्ताव ल्याउँदा कांग्रेसले अहंकार राख्न हुँदैन ।
सरकारलाई पाँचै वर्ष र गठबन्धनलाई दशै वर्ष लिएर जाने हो भने एउटा टेबलमा छलफल गर्नुपर्दछ । गठबन्धनका अरू दलका आकारलाई बुझ्दै गर्दा कांग्रेस ठूलो पार्टी हेर्नुपर्दछ । जुन ठूलो दल छ, त्यो दलले नेतृत्व गर्ने लोकतन्त्रमा स्वाभाविक हो । चुनाव अघि जे सहमति भएको छ, त्यसलाई स्विकार्नुपर्दछ ।
अब शक्तिको बाँडफाँट हुँदा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायत प्याकेजमा टुङ्ग्याउनुहुन्छ ?
निश्चय नै । प्रधानमन्त्री भन्दै गर्दा राष्ट्रपति, सभामुख, उपसभामुख, प्रदेश सरकारमा कसको मुख्यमन्त्री भन्ने हुन्छ । जसपाको पनि सहभागिता हुनसक्ला । कसको गणित कति छ भन्ने होइन । थोरै भएको गणितले पनि हिसाब पुर्याउन महत्वपूर्ण योगदान गरेको हुन्छ । १०० रुपैयाँ बन्न सानो आकार नै भए पनि एक रुपैयाँको योगदान कम हुँदैन ।
पहिलो पटक संसद छिर्दै हुनुहुन्छ । एउटा सांसदका रूपमा तपाईंलाई कस्तो रूपमा हामीले देख्न पाउँछौं ? सांसद तपाईंसँग के अपेक्षा गर्न सकिन्छ ?
सांसद नहुँदा पनि त्यो पदमा पुगेपछि धेरै गर्न सकिन्छ भन्ने ममा थिएन । अहिले पनि छैन । सांसद हुँदै गर्दा केही गर्न सकिन्छ भन्ने अहिले पनि छ, हिजो पनि थियो ।
प्रचारका क्रममा मैले मतदातालाई दुई कुरा भनिनँ ।
विपक्षलाई गाली गरिनँ र यो र त्यो गर्छु पनि भनिनँ । दुवै कुराबाट म मुक्त रहें । सांसदका रूपमा क्षेत्रका जनताप्रति मेरो कर्तव्य पूरा गर्छु । सांसद तपाईंले बनाएर पठाउनुहुन्छ, आवाज चाहिं कर्णाली, मधेशको गाउँ, काठमाडौंको पनि बोल्नुपर्छ भनी मतदातालाई भनेको छु । सांसदले बृहत् दृष्टि राष्ट्रका लागि राख्नुपर्छ । त्यसको प्रयत्न म गर्छु ।
चुनावलाई मात्रै केन्द्रमा राखियो भने आफ्नो क्षेत्र मात्रै देखिएला । समग्रतामा राखेर देशलाई देख्नुपर्दछ । सांसद भनेको पहिले उसले राष्ट्रिय रूपमा दृष्टिकोण बनाउनुपर्दछ । त्यो भन्दै गर्दा आफ्नो भूगोल र मतदातालाई बिर्सने त होइन नि ! नेपालको समुन्नति भयो भने त्यसमा मेरो क्षेत्र पनि पर्दछ नि ! मेरो क्षेत्र अलग देश होइन, अलग्गै भूगोल हो, जहाँ म जन्में । त्यसकारण दुइटै कुराको मैले सन्तुलन गर्न सक्नुपर्दछ ।
मेरो बोलीमा क्षेत्रको भावना आउनुपर्दछ । तर, कर्णालीको उकालोको बारेमा पनि सोच्नुपर्दछ । मधेशको गाउँको बारेमा सोच्नुपर्दछ । मधेश र कर्णालीको बारेमा सोच्दा मेरो क्षेत्रका दाजुभाइ, दिदीबहिनीले त्यसलाई अप्ठ्यारो मान्नुहुन्न । हाम्रो बारेमा बिर्सेर त्यहाँको सोचको होइन भन्ने बुझ्नुहुन्छ ।
मेरै क्षेत्र वा अरू ठाउँका बारेमा कतिपय राष्ट्रिय मुद्दाहरू छन् । राष्ट्रिय इस्यु त मेरो क्षेत्रको मात्रै भएन नि ! तर, जंगली हात्तीको समस्या समाधानलाई हेरियो भने त्यो राष्ट्रिय समस्या होइन, मेरो सहित कतिपय क्षेत्रको समस्या हो ।
सरकारलाई सफल र संगठनलाई सबल बनाउने मेरो भूमिका हुन्छ ।
- अनलाइनखबरबाट