सरकारको नेतृत्व बारे सकसमा सत्तागठबन्धन
धारा ७६(२) अनुसार राष्ट्रपतिले सरकार बनाउन दिएको एक साताको समय आइतबार सकिँदै छ । सत्तागठबन्धनमा सहमति भएन वा राष्ट्रपतिले समय थपिनन् भने धारा ७६(३) अनुसार ठूलो दलको नेता प्रधानमन्त्री बन्ने प्रक्रिया अघि बढ्नेछ । र, सत्तागठबन्धनको भविष्य अनिश्चित हुनेछ ।
काठमाडौं । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब बन्ने सरकारको नेतृत्व आफैँले गर्नुपर्ने ‘बटमलाइन’ बनाएपछि सत्तागठबन्धन संकटमा परेको छ । राष्ट्रपतिले संविधानको धारा ७६ (२) अनुसार मिलिजुली सरकार बनाउन दिएको एक साताको समय सकिने अघिल्लो दिनसम्म नयाँ सरकारको नेतृत्वलाई लिएर सहमति जुटेको छैन । अन्तिम समयमा लिनुपर्ने सम्भावित कदमलाई लिएर देउवा र प्रचण्ड दुवैले आन्तरिक रूपमा वैकल्पिक गठबन्धनको तयारी पनि गरिरहेका छन् ।
शनिबार दिनभरका राजनीतिक घटनाक्रम, भेटघाट र बैठकमा कांग्रेस र माओवादीको जोड पहिलो कार्यकाल आफ्नै नेतृत्वको सरकार बन्नुपर्नेमा छ । भावी प्रधानमन्त्रीमै विवाद भएपछि कांग्रेस र माओवादी समग्र शक्ति बाँडफाँडमा प्रवेशसमेत गरेका छैनन् । सत्तागठबन्धन एक्लैलाई संसद्मा सुविधाजनक बहुमत नभएकाले कांग्रेस र माओवादीको जोड पहिलो कार्यकालकै प्रधानमन्त्रीमा छ । समग्र शक्ति बाँडफाँडमा प्रवेश गरे उनीहरूले प्रधानमन्त्रीसहित राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख र मुख्यमन्त्रीहरूको भागबन्डा गर्न सक्छन् ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा साँझ बसेको सत्तागठबन्धनको बैठकमा माओवादीले पहिलो कार्यकालमा आफूले प्रधानमन्त्री बन्नुपर्ने अडान राखेको छ भने कांग्रेस छाड्न तयार देखिएको छैन । ठूलो दलको हैसियतमा सरकारको नेतृत्व आफ्नोपार्टीले पाउनुपर्ने कांग्रेस नेताहरूको भनाइ छ ।
गठबन्धनकै बलमा देउवा प्रधानमन्त्री बनिसकेकाले पहिलो कार्यकाल आफ्नो पार्टीले पाउनुपर्ने माओवादी नेताहरूको दलिल छ । संविधानको धारा ७६ (२) अनुसारको सरकार गठनको दाबी गर्ने समय आइतबार साँझ ५ बजेसम्म छ । शनिबार सहमति नभएपछि सत्तागठबन्धनका नेताहरू आइतबार बिहान पुनः बैठक बस्ने गरी उठेका छन् । आ–आफ्नो दलमा छलफल गरेर आइतबार बिहान निर्णयमा पुग्ने तयारी गर्ने उनीहरूको सहमति छ ।
सरकारमा प्रवक्तासमेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले बैठकमा गम्भीर रूपमा छलफल भएको र आइतबार टुंगोमा पुग्ने जानकारी दिए । उनले गठबन्धनकै नेतृत्वमा सरकार बन्ने दाबी गरे । ‘निर्वाचनपछि सम्भवतः पहिलोपटक पाँचदलीय गठबन्धनको बैठक बसेर विकसित राजनीतिक घटनाक्रमसहित धेरै विषयमा गम्भीर छलफल गरेका छौँ । जनताले प्रकट गरेको अभिमतलाई सम्मान गर्दै अगाडि जानेमा समहत भएका छौँ । आइतबार निष्कर्षमा पुग्नैपर्ने संवैधानिक बाध्यता छ,’ कार्कीले भने, ‘प्रधानमन्त्री को पहिले बन्ने भन्ने गौण हो । यसमा हलो अड्किन्न । मुलुकलाई अहिले जनताको आकांक्षाअनुसार अगाडि बढाउने महत्वपूर्ण हो । छलफल जारी छ, गठबन्धनकै नेतृत्वमा सरकार निर्माण हुन्छ ।’
माओवादी महासचिव देव गुरुङले माओवादीको प्रस्तावमा कांग्रेस सहमत हुन नसक्दा शनिबार निष्कर्षमा पुग्न नसकेको बताए । ‘को पहिला प्रधानमन्त्री भन्ने विषयले सहमति जुट्न सकेको छैन । कांग्रेस सभापतिले पार्टीमा प्रेसर पर्यो, अहिले छाड्न गाह्रो भयो भन्नुभयो । हामीले आलोपालो सहमतिअनुसार अहिले कांग्रेसले छाड्नुपर्ने कुरा राख्यौँ । अहिले पनि कांग्रेसकै नेतृत्व भएकाले अब सुरुमा माओवादीले नेतृत्व गर्दा स्वाभाविक हुन्छ, परिवर्तनको आभास पनि हुन्छ भन्ने हाम्रो तर्क छ,’ उनले भने, ‘तर, कांग्रेसले अडान छाडेको छैन । गठबन्धनका अरू दलहरूबाट आपसी सहमतिमा टुंग्याउन आग्रह भएपछि उहाँ (देउवा) छलफलबाट निष्कर्षमा पुग्न सहमत हुनुभएको छ । आइतबार फेरि बैठक बस्छौँ ।’
एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले प्रधानमन्त्रीमा कांग्रेस र माओवादीको दाबीको विषय टुंगो नलाग्दा सहमतिमा पुग्न नसकिएको बताए । गठबन्धनमा कांग्रेस र माओवादीले दुई–दुई वर्ष र एकीकृत समाजवादीले एक वर्ष सरकारको नेतृत्व गर्ने समझदारी बनेको उनको भनाई छ । पहिला को भन्ने विषयमा माओवादी र कांग्रेसबीच कुरा नमिल्दा सहमतिमा पुग्न नसकेको उनको भनाइ छ । गठबन्धनलाई निरन्तरता दिने विषयमा भने सबै दल एकमत रहेको उनको तर्क छ ।
‘यही गठबन्धन अगाडि बढाउन हामी सबै सहमत छौँ । तर, प्रधानमन्त्री आलोपालो गर्दा को पहिला भन्ने टुंगिन बाँकी छ । सुरुको प्रधानमन्त्रीका लागि कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डको दाबी छ,’ उनले भने, ‘गठबन्धनमा कांग्रेस र माओवादीले दुई–दुई तथा एकीकृत समाजवादीले एक वर्ष सरकारको नेतृत्व गर्ने समझदारी छ । प्रधानमन्त्रीको विषय टुंगो लागेपछि अरू पदको बाँडफाँड टुंगिन्छ । भोलि फेरि गठबन्धनको बैठक बस्छ । त्यसअघि दलहरूबीच आन्तरिक छलफल हुन्छ ।’