गृह नपाए सरकारको समर्थन फिर्ता लिने लामिछानेको चेतावनी, प्रधानमन्त्री दाहाल दबावमा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेले गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएका छन्।प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर लामिछानेले आफूलाई गृह मन्त्रालय दिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग माग गरेका हुन्। गृह नपाए सरकारलाई दिएको समर्थन फिर्ता लिने लामिछानेको चेतावनी छ।
नागरिकता प्रकरणमा सांसद पद गुमाएका लामिछानेले आइतबार पुन: नागरिकता लिएका छन्। नागरिकता लिएलगत्तै पुन: पार्टीको सभापति बनेका लामिछानेले आइतबार पनि प्रधानमन्त्री प्रचण्डलाई भेटेर गृह मन्त्रालय मागेका थिए। प्रधामन्त्री प्रचण्ड भने रविलाई गृह दिन इच्छुक छैनन्। उनले गृह मन्त्रालय आफ्नै पार्टीसँग राख्न चाहेका छन्।
नागरिकता सम्बन्धी विवादका कारण रविले उपप्रधानमन्त्री तथा गृहमन्त्री पद गुमाएपछि नेकपा माओवादी केन्द्रले गृह मन्त्रालय आफैंसँग राख्न खोजेको छ । तर प्रधानमन्त्री प्रचण्डमाथि सत्ता साझेदार दल नेकपा एमाले र रास्वपाबाट गृह मन्त्रालय पुनः रास्वपालाई नै दिनुपर्ने दबाव छ । माओवादी केन्द्रका एक नेताले भने, ‘हामी गृह मन्त्रालय आफैंसँग राख्न चाहान्छौं तर हामीमाथि तीव्र दबाव छ ।’
प्रधानमन्त्री प्रचण्डका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले भने सरकार गठनको बेला हतारमा गृह मन्त्रालय रास्वपालाई दिनुपरेको भन्दै अब सत्ता साझेदार दलहरुसँग छलफल गरेर उपयुक्त निर्णय लिने बताएका छन् ।
रविले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेको भन्दै सर्वोच्च अदालतले शुक्रबार उनको सांसद पद खारेज गरेको थियो । त्यससँगै उनले उपप्रधानमन्त्री तथा गृहमन्त्री पद गुमाएका थिए । गत आइतबार उनले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नेपाली नागरिकता लिएका थिए ।













