प्रधानमन्त्रीले गृह मन्त्रालय रास्वपालाई तत्काल नदिने
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले गृहमन्त्रीको जिम्मेवारी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई नदिने भएका छन् । नागरिकताका कारण सांसद बन्ने योग्यता सर्वोच्चबाट गुमाएका लामिछानेले बारम्बार गैर सांसदका रूपमा आफूलाई गृहमन्त्री बनाउन भनेर दबाब दिने र सरकारको सहयात्री एमालेमार्फत् पनि दबाब दिन थालेपछि लामिछानेलाई अहिलेको अवस्थामा गृहमन्त्रालय आफूसँगै राख्ने निर्णयमा दाहाल पुगेका हुन् ।
दाहालले मंगलबार बसेको पार्टीको पदाधिकारी बैठकमा गृह मन्त्रालयमा नयाँ मन्त्री नियुक्त नगर्ने र लामिछानेलाई नदिने निर्णय सुनाएका थिए । पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकपछि सचिव गणेश साहले भने, ‘अहिले रवि लामिछानेबारे जुन सर्वोच्च अदालतको निर्णय छ, त्यसको पूर्णपाठ पनि अझै नआइसकेको अवस्थामा छ । गृहमन्त्रालय अहिले प्रधानमन्त्रीले नै हेर्नुहुन्छ । रवि लामिछानेमाथि सर्वोच्चको निर्णयको पूर्णपाठ नआइसकेको अवस्था छ । उहाँ अहिले सांसद रहनुभएन । त्यसैले गैरसांसदलाई मन्त्री बनाउँदाखेरी अरूपनि गैरसांसदहरूको मन्त्री बन्ने इच्छा व्यक्त हुनसक्छ । त्यसैले उहाँहरूको पूूर्णपाठ नआउन्जेलसम्म गृह मन्त्रालय प्रधानमन्त्रीले आफैँ हेर्नुहुन्छ ।’
लामिछाने मंगलबार बिहानै प्रधामन्त्री दाहाललाई भेट्न बालुवाटार पुगेका थिए । त्यहाँ उनले आफूलाई ६ महिनाका लागि गैरसांसदका रूपमा गृहमन्त्री बनाउन माग गरेका थिए । गैर सांसद मन्त्री बन्ने संवैधानिक व्यवस्थाअनुसार नै आफूलाई गृहमन्त्रीमा फर्काउन उनको माग थियो ।













