"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रधानमन्त्री प्रचण्ड र महामन्त्री गगनको भेटवार्ता : देउवालाई राष्ट्रपति बनाउने प्रस्ताव

प्रकाशित मिति :  10 February, 2023 12:36 pm


काठमाडौँ । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई राष्ट्रपति बनाउने प्रस्ताव अघि सारेका छन्। कांग्रेस महामन्त्री गगनकुमार थापासँग बिहीबार भएको भेटमा प्रचण्डले यस्तो प्रस्ताव गरेका हुन्।

भेटमा प्रचण्डले पार्टी राजनीतिमा खारिएका, पटकपटक प्रधानमन्त्री भइसकेका, अन्तर्राष्ट्रिय समुदायले पत्याएका नेता भएकाले राष्ट्रपतिका लागि देउवा उपयुक्त पात्र भएको बताएका थिए।

संविधान कार्यान्वयन गर्न, संक्रमणकालीन न्याय टुंगोमा पुर्‍याउन र राज्य संयन्त्रलाई स्थायित्व दिन राष्ट्रपतिमा अनुभवी व्यक्ति चयन हुनुपर्ने प्रचण्डको चाहना रहेको महामन्त्री थापाले आफू निकटका नेताहरूलाई बताएका छन्।  थापाको भनाइ उधृत गर्दै एक नेताले भने, ‘राष्ट्रपतिका लागि कांग्रेस सभापति देउवा उपयुक्त पात्र हुने प्रस्ताव प्रचण्डको छ।’

थापाले यसबारे पार्टीमा छलफल गर्ने बताएका थिए।

एमाले अध्यक्ष केपी ओलीले बुधबार राष्ट्रपतिका लागि गुरु बरालको नाम प्रस्ताव गरेका थिए। प्रधानमन्त्री प्रचण्ड निकट एक नेताका अनुसार उनी ओलीको उक्त प्रस्तावमा सन्तुष्ट छैनन्। त्यसपछि उनले कांग्रेस महामन्त्री थापालाई छलफलमा डाकेका हुन्।

कांग्रेसका प्रमुख सचेतक रमेश लेखक नेपाली कांग्रेसले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत किन दिएको भन्ने अब छिट्टै पुष्टि हुने बताउँछन्। यद्यपि उनले प्रचण्डले राष्ट्रपतिमा देउवालाई अघि सारेको विषयमा केही बताउन चाहेनन्।

समकालीन नेताहरूमध्ये देउवा सबैभन्दा अनुभवी रहेकाले राष्ट्रपतिमा उपयुक्त हुने प्रस्ताव प्रचण्डको छ। दुवै नेता संक्रमणकालीन न्याय चाँडो टुंगोमा पुर्‍याउनुपर्ने पक्षमा छन्। प्रचण्ड निकट माओवादीका एक नेता भन्छन्, ‘देउवालाई राष्ट्रपति बनाएर आफू पाँचै वर्ष प्रधानमन्त्री हुने र मुलुकमा स्थायित्व कायम गर्ने चाहना अध्यक्षज्यूको छ।’

देउवा राष्ट्रपति भएमा राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति चयन भएको सन्देश प्रवाह हुने प्रचण्डले आफू निकटका नेताहरूसँग बताउँदै आएका छन्। सत्ता गठबन्धन कायमै रहेमा देउवा पाँच वर्षसम्म प्रधानमन्त्री हुन पाउँदैनन्। त्यति बेलासम्म पार्टी सभापतिको भूमिकाबाट पनि उनी अलग भइसक्नेछन्।

त्यसैले उनी निकट नेताहरूले राष्ट्रपति बनेर मुलुकको अभिभावक बन्न देउवालाई सुझाव दिँदै आएका छन्। देउवा निकट एक नेता भन्छन्, ‘यो उहाँ (देउवा) का लागि राम्रो अवसर हो। उहाँ राष्ट्रपति भएमा गणतन्त्र संस्थागत हुन थप सहयोग पुग्नेछ।’

देउवा राष्ट्रपति भएमा प्रचण्डलाई पाँच वर्षसम्म प्रधानमन्त्रीबाट कसैले नहटाउने बुझाइ माओवादी नेताहरूको छ। कांग्रेसले सरकारलाई विश्वासको मत दिएपछि प्रचण्ड कांग्रेसप्रति नरम छन्। देउवाले अघिल्लो कार्यकालमा गरेका राजनीतिक नियुक्ति पनि प्रधानमन्त्री प्रचण्डले फिर्ता बोलाएका छैनन्।

ओलीले अघि सारेको व्यक्ति राष्ट्रपति बन्दा संविधान उल्लंघन हुन सक्ने चिन्ता कांग्रेस नेताहरूलाई छ। त्यसैले कांग्रेस नेताहरू आफ्नै प्रस्तावमा राष्ट्रपति चयन हुने बताउँदै आएका छन्। महामन्त्री गगन थापाले बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा भनेका थिए, ‘हामी नेकपा एमालेले प्रस्ताव गरेको राष्ट्रपतिको उम्मेदवारलाई हराउँछौँ। हामीले भनेका उम्मेदवारलाई जिताउने कोसिस गर्छौँ।’

विगतमा राष्ट्रपतिको भूमिका विवादास्पद रहेकाले त्यो डरबाट मुक्त हुनुपर्ने थापाको भनाइ छ। देउवा राष्ट्रपति बनेमा पार्टीमा पुस्ता हस्तान्तरण हुने विश्वास कांग्रेस नेताहरूको छ।

कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत भने प्रधानमन्त्री प्रचण्डबाट सभापति देउवालाई राष्टप्रति बनाउने प्रस्ताव आएको विषयमा आफू जानकार नरहेको बताउँछन्। उनी भन्छन्, ‘अहिलेको गठबन्धन लामो समयसम्म जान सक्दैन। त्यसपछि नेतृत्व गर्ने कांग्रेसले नै हो।’

प्रवक्ता महतले कांग्रेसभित्र पार्टी सभापति देउवालाई राष्ट्रपति बनाउने विषयमा छलफल नभएको बताए। उनले भने, ‘ठूलो दलको सभापति राष्ट्रपति बन्ने विषयलाई सामान्य रूपमा लिन मिल्दैन। यसबारे पार्टीमा बहस र छलफल हुनुपर्छ।’

देउवा पटकपटक परीक्षण हुँदै आएका अनुभवी नेता हुन्। कुनै बेला राजाले देउवालाई असक्षम भनी प्रधानमन्त्रीबाट बर्खास्त गरेका थिए। तर पछि सक्षम भन्दै राजाले नै फिर्ता ल्याएका थिए।
कांग्रेसका एक नेता भन्छन्, ‘अहिले उहाँ राष्ट्रप्रमुख हुँदा पूर्वराजालाई पनि गतिलो सन्देश जानेछ।’

निर्वाचन आयोगले फागुन २५ गतेका लागि राष्ट्रपति निर्वाचन मिति तोकेको छ। सत्तारुढ एमाले सत्ता गठबन्धनमा भएको सहमतिअनुसार राष्ट्रपति आफ्नो पार्टीले पाउनुपर्ने अडानमा छ।

माओवादीले आफ्नो तर्फबाट कुनै उम्मेदवार अघि नसारे पनि राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति चयन हुनुपर्ने निर्णय गरेको छ। राष्ट्रपतिमा कांग्रेस र एमालेले इच्छुक रहँदै आएका छन्। तर दुवैलाई माओवादीको साथ आवश्यक हुन्छ।

  • पत्रपत्रिकाहरुको सहयोगमा



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – नेपाली कांग्रेसले अनुशासन उल्लंघनका उजुरीहरूमाथि अध्ययन गर्ने भएको छ। शुक्रबार सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय अनुशासन समितिको बैठकले उजुरीहरूमाथि

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरूलाई आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गर्न भनेको छ । फागुन २१ गते सम्पन्न

काठमाडौं –  फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ ५.४५ प्रतिशत र समानुपातिकतर्फ ३.९५ प्रतिशत बदर भएको छ। बिहीबार निर्वाचन

काठमाडौँ – गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएकामा केन्द्रीय सुरक्षा समिति, प्रदेश कमाण्ड पोष्ट तथा