कांग्रेस माओवादी सहति पाँच दलिय पूर्व गठबन्धनलाई नै अगाडी लैजाने सहमति
काठमाडौं । कांग्रेस माओवादी सहति पाँच दलिय पूर्व गठबन्धनलाई नै अगाडी लैजाने लिखित सहमति नै गरेर अगाडी बढ्ने तयारीमा रहेका छन् । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच बुधबार साँझ बालुवाटारमा भएको बैठकमा चुनावअघिको गठबन्धन ब्युँताउने अनौपचारिक सहमति भएको छ।
पुरानो गठबन्धनमा रहेका अरू दलहरूसँग पनि छलफल गरेर बिहीबार साँझसम्ममा औपचारिक सहमति हुने बालुवाटार स्रोतले बतायो। छलफलमा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवासहित दुवै दलका मुख्य नेताहरू सहभागी थिए।
दुई दलबीचको बैठकमा प्रचण्डले बुधबार बिहान एमाले अध्यक्ष केपी ओलीलाई भेटेसँगै एमालेसँगको कुरा सकिएको ब्रिफिङ गरेका थिए। उनले एमालेसँगको सहकार्य लगभग सकिएको र अब कांग्रेस र माओवादीले औपचारिक सहमति गरेर अगाडि बढ्नुपर्ने बताएका थिए।
प्रचण्डले पछिल्ला दिनमा ओलीसँग भएका कुनै पनि कुराहरू सही ढंगले नबढेको बताउने गरेका छन्। पछिल्लो पटक गत बिहीबार ओलीको निजी निवास बालकोटमा भएको दुई घन्टा लामो छलफलमा पनि ओली एक्लैले पौने दुई घन्टा बोलेको र त्यसमा सहमति र सहकार्यभन्दा पनि धम्कीको भाषा धैरै बोलेको उनले बैठकमा बताए।
‘ती भेटपछि झनै केपी ओलीसँग मिलेर जान नसकिनेमा आफू प्रष्ट भएको प्रधानमन्त्रीले बताउने गर्नुभएको छ,’ बालुवाटार स्रोतले भन्यो।कांग्रेससँग समझदारी गर्दा नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) लाई पनि सँगै लिएर जानुपर्ने प्रचण्डले बताएका थिए।
माओवादीका एक नेताका अनुसार प्रचण्ड दीर्घकालमा माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र उपेन्द्र यादव नेतृत्वको जसपालाई मिलाएर समाजवादी केन्द्र बनाउन चाहन्छन्। त्यसैले उनले कांग्रेस र माओवादीबीच हुने समझदारीमा यी दुई पार्टीलाई पनि समेट्नुपर्नेमा जोड दिएका हुन्।