राष्ट्रपति निर्वाचनका लागि कांग्रेसले बोलायो आठ दलका सांसदको भेला
काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रपति निर्वाचनका लागि संघीय संसद्का सांसद्हरूलाई अभिमुखीकरण गर्ने भएको छ । २५ फागुनमा हुने निर्वाचनका लागि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको उम्मेदवारी छ ।
सांसदहरूसँग फागुन १९ गते अन्तर्क्रिया गर्ने निर्णय भएको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए। उनकाअनुसार फागुन १९ गते सातै प्रदेशमा गएर प्रदेश सभा सदस्यहरूसँग छलफल गरिनेछ। कांग्रेसका पदाधिकारीहरूलाई प्रदेशमा खटाइने र राष्ट्रपतिमा पौडेललाई समर्थन गरेका अरू ७ दलका प्रतिनिधि पनि अन्तर्क्रियामा जाने र सम्बोधन गर्ने निर्णय भएको महतले बताए।
पौडेललाई नेकपा माओवादी केन्द्रसहित सात राजनीतिक दलले समर्थन गरेका छन् । कांग्रेसले राष्ट्रपति निर्वाचनका लागि बनेको गठबन्धनका आठ वटै दलका प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यहरूलाई एकै ठाउँमा राखेर अभिमुखीकरण गर्न लागेको हो ।
मुख्यसचिव एवम् राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद पौडेलले आठवटै दलका सांसदहरूलाई बिहीबार राष्ट्रपति निर्वाचन केन्द्रीय अभिमुखीकरण कार्यक्रम राखिएको जानकारी दिए । काठमाडौंको तीनकुनेस्थित रोयल बैंक्वेटमा हुने कार्यक्रममा आठ दलका नेताहरूले सम्बोधन गर्नेछन् ।













