राष्ट्रपतिमा मत दिने बारे रास्वपाले निर्वाचनकै दिन टुंगो लगाउने
काठमाडौं । संसद्को चौथो शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपति निर्वाचनमा आफ्नो दलको मत बारेमा निर्वाचनकै दिन टुंगो लगाउने भएको छ । राष्ट्रपति निर्वाचनमा रास्वपाको दुई हजार चार सय ५० मतभार छ । २५ फागुनमा राष्ट्रपति निर्वाचन हुँदै छ । स्रोतका अनुसार रास्वपा नेताहरूले गठबन्धनका उम्मेदवारलाई मतदान गर्ने गरी परामर्श गरेका छन् ।
भावी राष्ट्रपति निर्वाचनका लागि दुई उम्मेदवार आठदलीय गठबन्धनबाट कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र एमालेबाट उपाध्यक्ष सुवास नेम्वाङले सबैजसो दलसँग मत मागेका छन् ।
रास्वपाको मत सुरक्षित गर्न पौडेल र नेम्वाङले भेटघाट गर्दै मत दिन आग्रह गरिसकेका छन् । तर, रास्वपाका नेताले पौडेल र नेम्वाङ कसैलाई पनि ठोस वचन दिएका छैनन् । दुवै उम्मेदवारले ती दलका मत आफूलाई आउने अपेक्षा गरेका छन् ।
रास्वपा सरकारबाट बाहिरिए पनि समर्थन कायमै राखेकाले उसले गठबन्धनका उम्मेदवार पौडेललाई मत दिने आठ दलका नेताहरूको विश्वास छ । सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिए पनि राप्रपा एमालेको उम्मेदवारको समर्थक र प्रस्तावक नरहेकाले उसले पनि आफूहरूलाई मत दिने आठदलीय गठबन्धनको अपेक्षा छ ।
अर्कोतर्फ सुरुमा रास्वपालाई गृह मन्त्रालय दिलाउन र रवि लामिछानेको राजीनामापछि पुनः सो मन्त्रालय उसैलाई दिनुपर्ने अडान लिएकाले रास्वपाले आफ्नो उम्मेदवारलाई मत दिने एमालेको विश्वास छ । गत मंसिरको निर्वाचन मिलेर लडेको र अहिले दुवै दल सरकारबाहिर रहेकाले राप्रपाले पनि सहयोग गर्ने एमालेको बुझाइ छ ।
अर्को संसद्को पाचौँ शक्ति राप्रपाभित्र ‘नो भोट’ वा गठबन्धनका उम्मेदवारलाई मत दिने दुई विकल्पमा छलफल जारी छ ।













