सत्ता गठबन्धनका १० दलको बैठक बालुवाटारमा
काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध १० दलको बैठक बालुवाटारमा जारी छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा उपराष्ट्रपतिको निर्वाचन लगायत विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगै पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायत शीर्ष नेता सहभागी हुनुहुन्छ ।
उपराष्ट्रपति पदको लागि चैत ३ गते हुने निर्वाचनका लागि मङ्गलबार राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि लागू भएको छ।
निर्वाचन आयोगले मङ्गलबार निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गरेको छ।
सोही दफाको उपदफा १ मा निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम राख्न सम्बन्धित सबै पक्षले आचारसंहिता पालना गर्नुपर्ने विषय उल्लेख छ।