कांग्रेसका असन्तुष्टलाई राष्ट्रिय स्वतन्त्र पार्टी विकल्प हो
काठमाडौँ । अर्थशास्त्र र विकाससम्बन्धी विषयका जानकार स्पष्ट वक्ता स्वर्णिम वाग्लेले ३० वर्षदेखि परोक्ष एवं १० वर्षयता प्रत्यक्ष रूपमा संलग्न रहेको पार्टी नेपाली कांग्रेस परित्याग गरे । आसन्न उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट तनहुँ–१ बाट उम्मेदवार बन्ने उनको पछिल्लो घोषणाले नेपाली राजनीतिमा तरंग पैदा गरेको छ । नेपाली कांग्रेससँग तीनपुस्ते लामो सम्बन्ध रहेको बताउने र सोही दलको सिफारिसमा राष्ट्रिय योजना आयोगको उपाध्यक्षसमेत भइसकेका वाग्ले किन यस्तो निर्णयमा पुगे ? उनका आगामी राजनीतिक तथा व्यक्तिगत योजना के छन् ? कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरुजु राणाप्रति उनले लगाएको आरोपको अन्तर्य के हो ? लगायत विषयमा केन्द्रित रहेर गरेको कुराकानीको सम्पादित अंश :
तपाईं पछिल्लो समय सयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमअन्तर्गतको एउटा कार्यशालाका लागि देश दौडाहामा हुनुहुन्थ्यो, बिहीबार नेपाली कांग्रेस पार्टी परित्याग गरेको घोषणा गर्नुभयो, कांग्रेससँग मेरो तीनपुस्ते विरासत गाँसिएको छ भन्ने मान्छे एक्कासि तपाईं यस्तो निर्णयमा कसरी पुग्नुभएको हो ?
यो अकस्मात् गरिएको निर्णय होइन, यसको केही पृष्ठभूमि छ । नेपाली कांग्रेसबाटै म सार्वजनिक जीवनमा सक्रिय हुन्छु भनेर १० वर्षअगाडि सन् २०१४ मा नेपाल फर्किएको थिएँ । त्यतिबेला म राष्ट्रिय योजना आयोगको सदस्यका रूपमा भित्रिएँ । पछि उपाध्यक्षसम्म भएँ । त्यसपछि पनि नेपाल सरकार र त्यसभन्दा बाहिर विभिन्न फोरम र संस्थाहरूमा ६/७ वर्ष मैले सक्रिय रूपमा काम गरें । मेरो एउटा अपेक्षा के थियो भने ‘विगत १० वर्षदेखि म सक्रिय छु, एक कार्यकाल मैले नीति निर्माणको तहमा काम गरें, अर्को पटक चाहिँ नेपाली कांग्रेसबाट चुनाव नै लड्ने’ भन्ने खालको मनस्थिति थियो । राष्ट्रिय योजना आयोगमा मेरो पोजिसन नेपाली कांग्रेसकै राजनीतिक नियुक्तिबाट भएको थियो । निर्वाचन पनि त्यतैबाट लड्ने अपेक्षा थियो । तर पछिल्लो चरणमा नेपाली कांग्रेसबाट आधिकारिक उम्मेदवार बन्ने अवसरबाट म वञ्चित भएपछि विभिन्न अन्य राजनीतिक दलहरूले मलाई अन्तिम घडीमा अफर गरेका थिए । त्यतिबेला म रोकिएँ । २०२७/२८ सालदेखि मेरा पिताजीहरूको कांग्रेसमा संलग्नता, ४२ सालको सत्याग्रहको सम्झना र ४६ सालको आन्दोलनमा म आफैं संलग्न भएको हुनाले मैले धैर्य गर्नुपर्छ भन्ठानें । विगत ३० वर्षदेखिको परोक्ष र विगत १० वर्षदेखि कांग्रेससँगको मेरो प्रत्यक्ष संलग्नताका कारण नेपाली कांग्रेसबाटै मैले सक्रिय हुने सोचेको थिएँ ।
तर जब मलाई अप्रत्याशित ढंगले टिकटबाट वञ्चित गराइयो, त्यसपछि मेरो मनमा अन्य विकल्प खोज्नुपर्छ र हेर्नुपर्छ भन्ने भावना आयो । सुरुमा त अर्को चुनावी चक्र आइहाल्छ भन्ने लागेको थियो । तर त्यसपछिका धेरै घटनाले मलाई पार्टीमा बसिरहन आश्वस्त पारेनन् । कांग्रेसभित्र सुधार हुन्छ, युवाहरूका लागि स्थान बन्छ, देशको आर्थिक र राजनीति रूपान्तरणका कुरामा युवाहरूले हस्तक्षेप गरेर कोल्टे फेराउनेतिर लग्न सक्छन् भन्ने विषयमै आश्वस्त हुन सकिएन । यी विषयमा विमर्शहरू सुरु भएका थिए र आगामी महाधिवेशनमा हस्तक्षेप गर्न सकिने हैसियत बनाउने भन्ने खालका बहस भइरहेका थिए । तर यही बेला एउटा संयोग नै भन्नुपर्छ, एकैचोटि तीन–तीन वटा सिटका लागि उपनिर्वाचन हुने अवस्था बन्यो जुन कुरा कल्पना गरिएको थिएन । चितवन २ मा लड्नुपर्छ भनेर व्यापक दबाब भएकै हो । पछिल्लो चरणमा चाहिँ म गण्डकी प्रदेशबाट भएको हुनाले तनहुँ–१ बाट उठ्नु उपयुक्त हुन्छ भन्ने अफर आयो । यी कुराहरू आएपछि मैले समीक्षा गरें र अन्य अवसर पनि मैले केलाउनुपर्छ भन्ने लागेर र शुभचिन्तकहरूको सल्लाहमा मैले अहिलेको विकल्प रोजेको हुँ ।
टिकट नपाए पनि ०७९ कात्तिक ५ मा एक सार्वजनिक कार्यक्रममा ‘टिकट नपाए पनि कांग्रेस त्यागेर चुनाव लड्नु राजनीतिक रूपमा परिपक्वता हुँदैन, अब म पाँच वर्षसम्म युवामाझ सक्रिय हुन्छु’ भन्नुभएको थियो, आफ्नै भनाइ सात महिना पनि टिक्न सकेन, किन त ?
अब ढोका बन्द भयो, अर्को पाँच वर्ष धैर्य गर्छु र पाँच वर्षपछिको अर्को आमनिर्वाचनमा सहभागी हुन्छु भनेकै हुँ मैले । तर बारा, चितवन र तनहुँमा गरी एकैचोटि तीन–तीन वटा अवसर आए । गत निर्वाचनपछिको अवधिमा भएका मेरा अनुभवहरू, अर्को पाँच वर्ष कुर्ने वा तीनवटामध्ये कुनै एक उपयुक्त स्थानमा चुनाव लड्नेमध्ये एक विकल्प रोज्ने अवस्था आयो । तेस्रोमा मलाई साथीहरूको व्यापक दबाब थियो । यस्तो उर्बर उमेरमा त्यत्तिकै हल्लिएर बस्नु हुँदैन, अवसर छोप्नुपर्छ भन्ने शुभचिन्तकहरूको दबाबपछि मैले यसमा पुनर्विचार गरेको हुँ । टिकटका विषयमा जुन स्टेमेन्ट मैले दिएँ, त्यतिबेलाका लागि त्यो सही नै थियो । युवाहरूमाझ मैले अहिले पनि अन्तर्क्रिया त गरिरहेकै छु । मेरो संस्था सर्वांगीण विकास अध्ययन केन्द्र (आईआईडीएस) का शोधकार्यहरूमा संलग्न भएर विभिन्न राष्ट्रिय/अन्तर्राष्ट्रिय भ्रमणहरूलाई निरन्तरता दिइरहेको छु । सार्वजनिक फोरमहरूमा सातामा दुई/तीन कार्यक्रम पनि गर्दै आएको थिएँ । त्यसरी नै मेरो ५ वर्ष सार्वजनिक जीवनमा, गैरसंसदीय वा गैरसरकारी भूमिकामा बित्छ भन्ने आकलनअनुरूप नै म हिँडिरहेको थिएँ । अचानक तीनवटा ठाउँ खाली भएपछि मैले पुनर्विचार गरेको हुँ ।
भनेपछि यो त पार्टीप्रति असन्तुष्टिभन्दा पनि अवसर छोप्न खोजेजस्तो देखियो नि ?
निर्वाचनपछि केही घटना प्रकाशमा आएका छन् । निर्वाचनमा मलाई सहभागी नगराउन कुन हदसम्मको तयारी, सुनियोजित योजना र हतकण्डाहरू अपनाइएको रहेछ भन्ने कुरा केही समयपछि मात्रै स्पष्ट भयो, जुन कुराहरू चुनावी उम्मेदवारहरू घोषणा गर्ने बेला स्पष्ट थिएनन् । कुराहरू स्पष्ट भएपछि मलाई के लाग्यो भने, कुनै कूटनीतिज्ञले सम्बन्धित देशको अधिकारीहरूलाई देश निकाला गर्न ‘पर्सना नन ग्राटा’ को शैली अपनाएझैं मलाई पनि नेपाली कांग्रेसको शीर्ष नेतृत्वले लगभग पर्सना नन ग्राटाकै दर्जामा राखेको स्पष्ट भयो । त्यो कुराले मलाई सोचमग्न बनायो । वर्तमान नेतृत्व अर्को चार वर्ष नेतृत्वमा रहने र त्यसपछिको निर्वाचनमा हार भए मैले १० वर्ष कुर्नुपर्ने अवस्था आउने भयो । यो निर्णय लिनुका पछाडि अन्य खुद्रे घटनाहरू पनि थिए, त्यसमा म जान चाहन्नँ । मेरो यस्तो विरासत भएको, मैले यत्रो लगाब र योगदान दिएको पार्टीमा यो हदसम्मको अनुदार व्यवहार हुन्छ भने मैले आफ्नो अवस्थामा पुनर्विचार गर्नैपर्छ भन्ने लाग्यो । म कांग्रेसमै टिकिरहन सक्छु कि सक्दिनँ भन्ने कुरा मनमा खेल्न थाल्यो ।
मैले २०/२२ वर्ष अन्तर्राष्ट्रिय क्षेत्रमा काम गरें । अहिले म झन्डै ५० वर्ष पुग्न लागें । अर्को पाँच वर्ष प्रशिक्षण दिँदै हिँड्ने, आईआईडीएसमा काम गर्ने, विदेश जाने–आउने काम मात्रै हुने भयो । संयुक्त राष्ट्रसंघका ३६ देश हेर्ने गरी म प्रमुख सल्लाहकार थिएँ । चीन, भारत, भियतनाम, पाकिस्तान, बंगलादेशलगायत देश हेर्थें । म योजना आयोगको सदस्य हुनु अघि विश्व बैंकमा थिएँ । त्यहाँ काम गर्दा एउटा गतिशील र असाध्यै उत्साहित जिम्मेवारी थियो । त्यो खालको काम, त्यही गतिको काम नेपालमा बसेर गर्न पाए कस्तो हुँदो हो भन्ने लागिराख्छ । पश्चात्ताप नहुने गरी आफ्नो ऊर्जा, ज्ञान, अनुभव घोट्याउन पाए हुने भन्ने लागिराख्छ । यही खालको ऊर्जा ५८–६० वर्षको उमेरमा नहुन सक्छ । धैर्य गर, पाँच–दस वर्षमा तिम्रो पालो आउला, पुराना पुस्ताका नेताले १०–२० वर्ष कुरे भन्ने सोच अहिले राख्ने अवस्था छैन । धैर्यले आफ्नो क्षमताको क्षयीकरण होला भन्ने भय मलाई भयो ।
जस्तै गगन थापाले एउटा राम्रो प्रस्ताव गर्नुभएको छ, ५५ वर्षमा राजनीतिमा रिटायर्ड हुन्छु भन्नुभएको छ । तर कुर्दाकुर्दै उहाँको पालो ६०–६५ मा पुग्ला जस्तो छ । त्यसकारण म यस्तो निर्णयमा पुगेको हुँ ।
तपाईंले कांग्रेसका ४ नेतालाई सम्बोधन गर्दै पठाएको सन्देशमा कांग्रेस पार्टी सभपति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणाको निरन्तर हेपाइ र अपमानले यस्तो स्थिति ल्याएको भन्नुभएको छ, त्यो हेपाइ र अपमान के थियो ?
यसमा घटनाहरूको शृंखला छ । तिनका सामूहिक अनुभव मेरा लागि राम्रा थिएनन् । टिकट नपाउँदा मात्रै होइन त्यो प्रवृत्ति अहिलेसम्म निरन्तर छ । पछिल्लो समयमा मैले दर्जनौं किस्सा सुनें । त्यसको सामूहिक असेस्मेन्ट के रह्यो भने मलाई त्यही पर्सना नन ग्राटा नै बनाउने हदसम्मको काम भएको रहेछ ।
तर अर्को पाटो पनि त थियो, शेखर कोइराला, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले तपाईंलाई ल्याउन खोजिरहनुभएको थियो, थापा त आफ्नो निर्वाचन क्षेत्र तपाईंलाई दिएर सर्लाही जानसम्म तयार हुनुहुन्थ्यो, त्यसलाई तपाईंले नजरअन्दाज गरेजस्तो भएन र ?
साथीहरूले इमानदारीपूर्वक मेरा लागि प्रयास गरेकै हुन् । सभापतिज्यू नै अलि अनुदार भइदिनुभएकाले मैले टिकट पाइनँ भन्ने मेरो बुझाइ रह्यो । त्यसलाई मैले अन्यथा नलिइकन आफूलाई दिइएका जिम्मेवारी पूरा गरें । पार्टीको घोषणापत्र लेखें । कांग्रेसको देशव्यापी एक्लो क्याम्पेनरका रूपमा काम गरें । त्यस अवधिमा झापादेखि बर्दियासम्मका करिब २० देखि २५ वटा निर्वाचन क्षेत्रमा गए । पार्टीप्रतिको मेरो बफादारी, प्रतिबद्धता त्यसबाटै झल्किन्छ । चुनाव भयो, नतिजाहरू आए र त्यसपछिका घटनाहरू स्पष्टै छन् । बिस्तारै धेरै कुरा खुलस्त हुँदै गए । यो पार्टीको शीर्ष नेतृत्वलाई म ग्राह्य रहिनँ भन्ने अनुभूत भयो । तैपनि म नेपाली कांग्रेस पार्टीका गतिविधिहरूमा संलग्न रहँदै आफ्ना प्रोफेसनल कामहरूलाई पनि सन्तुलित रूपमा लैजाने भनेर सक्रिय थिएँ । पछिल्लो चरणमा राष्ट्रसंघका कार्यक्रममा सातै प्रदेशका प्रादेशिक सांसदसँग अन्तर्क्रिया गर्दै हिँडिरहेको थिएँ । त्यसमा पनि पूर्वअर्थमन्त्री युवराज खतिवडा र नेपाली कांग्रेसका सांसदलाई कभर गर्न भनेर सन्तुलन मिलाउन म त्यसरी आमन्त्रित थिएँ भन्ने मलाई लाग्छ ।
कृपा र निगाहको जीवनपर्यन्त राजनीतिभन्दा समयसीमा तोकेर आफ्नो उमेर, ज्ञान र ऊर्जा सान्दर्भिक रहँदै डेलिभरीको प्रयोजनमा जान चाहें भन्ने सन्देश कांग्रेसका नेताहरूलाई पठाउनुभएको रहेछ, त्यो डेलिभरीको प्रयोग भनेको के हो ? के गर्न खोज्नुभएको हो ?
अहिले एउटा सुखद संयोग छ । सम्माननीय राष्ट्रपतिज्यू तनहुँ–१ बाट निर्वाचित भएर जानुभयो । अहिले उहाँकै सिट खाली छ । लामो समयसम्म हाम्रो देशमा राजनीतिक त्याग गर्ने, संघर्ष गर्ने, जेल जाने र बहुदलीय व्यवस्था पुनःस्थापित गर्न नेताहरूले गरेका संघर्षहरूको रिवार्ड (इनाम) उहाँहरूले पाउने मोडलमा चलिरहेको छ । विगत ३० वर्षदेखि दोहोर्याई/तेहेर्याई उहाँहरू निरन्तर रूपमा मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति बनिरहनुभएको छ । अचेल कतिपयले ‘यो धेरै भएन र ?’ भन्न थाल्नुभएको छ । ‘हामी जेल गयौं, व्यवस्था परिवर्तन गर्यौं’ भनेर इनाम पाउने कुरालाई पछिल्लो समय युवा पुस्ताले गतिलो तर्कका रूपमा लिन छाडेका छन् । आफ्नो निष्ठा र राजनीतिक आस्थाका लागि १४–१४ वर्ष जेल पर्नुभएको राष्ट्रपतिज्यू आफ्नो पुस्ताको सबैभन्दा शीर्ष र विश्वसनीय पात्र हुनुहुन्छ र राजनीतिबाट उहाँको एकदमै सम्मानित बहिर्गमन भएको छ । यहाँनिर मलाई के लागिरहेको छ भने, अब चाहिँ त्यो पुरानो तर्कको ग्रेसफूल विसर्जन भएको छ । राजनीतिको पाराडाइम वा मोडल नै परिवर्तन गर्ने बेला आएको छ ।
अब राजनीतिमा प्राइमेरी (निर्वाचन) को लजिक भित्र्याउनुपर्छ । नेताले तोकेर वा नेताको चाकरी गरेको भरमा वा नेताले टीका लगाइदिएर राजनीतिमा प्रवेश गराउने मोडलबाट अब हामी बाहिर निस्किनुपर्छ । सम्बन्धित पार्टीको सदस्य पंक्तिले उम्मेदवार हुन इच्छुकहरूसँग संवाद र प्रश्नोत्तर गरी उनीहरूको भिजन सुनेर र पार्टीका स्थानीय प्रतिनिधिले नै उम्मेदवार छान्नुपर्छ । मेयर, प्रदेश सभा वा संघीय संसद्का लागि त्यसरी छानिएकाहरूले काम गर्छन् र काम वा डेलिभरीको आधार तिनलाई फेरि छान्ने वा नछान्ने जनताको हातमा हुन्छ । परिपक्व लोकतान्त्रिक प्रणालीमा हुने नै यस्तै हो । बेलायतको एउटा चर्चित उदाहरण हेर्नुस् त, ३५ वर्षसम्म आफ्नो पेसा गरेर बसेका ऋषि सुनक– भारतीय मूलका व्यक्ति अहिले बेलायतका प्रधानमन्त्री छन् । उत्तरी बेलायतको योर्कसारजस्तो अत्यन्तै श्वेत सहरमा उनी प्रस्तुत भए । त्यहाँका मानिसले उनको भिजन पत्याए र उनी पाँच वर्ष सांसद भई पाँचौं वर्षमा अर्थमन्त्री भए, सातौं वर्षमा प्रधानमन्त्री भए । त्यहाँको प्राइमरी, इलेक्टोरेट र बाँकी सांसदले पनि उनलाई पत्याएर त्यस्तो भयो । हामी पनि त्यो मोडलतिर जानुपर्यो । म यति वर्ष जेल बसेको थिएँ भन्ने पुस्ता अब अस्तायो ।
तर नेपालमा अहिले पनि कांग्रेसलगायत विशेषगरी ठूला पार्टीहरूले के गरिरहेका छन् भने धैर्य राख्नुपर्छ, पर्खिरहनुपर्छ भन्ने तर्क गर्छन् । हामीहरूजस्तो मान्छेले राजनीति भनेको लाइफ लङ पेसा वा नमरुञ्जेल गरिरहनुपर्छ भन्ने मोडलबाट बाहिर रहनुपर्छ । दुई वा राम्रो काम गरे तीन कार्यकालसम्म राजनीति गर्दा भयो । त्यसपछि अर्को पेसामा लाग्ने हो । कुरेर बस्ने भनेको के हो भने देखिने आम्दानी केही छैन, मात्रै भ्रष्टीकरणलाई मलजल गर्नु हो ।
तपाईं आफैंको चाहिँ कति कार्यकाल राजनीति गर्ने विचार छ ?
मैले यो बोलेकै छैन । मेरो आइडियल चाहिँ दुई कार्यकाल हो । पहिलो पटक पाँच वर्ष, त्यसमा राम्रो काम गर्न सकियो भने दोस्रो कालमा केही अपूरा र नयाँ काम गरौं भन्ने हो । ६०/६५ को उमेरमा निवृत्त हुने र आफ्नो अर्को पेसातिर वा अवकाशप्राप्त जीवनतिर जानुपर्छ भन्ने मेरो राय हो । आजीवन राजनीति नभई समयसीमा तोकेर गर्ने मोडल अपनाउनुपर्छ । आर्थिक, सामाजिक मुद्दाहरूमा डेलिभरी र अन्तर्राष्ट्रिय सम्बन्धहरूमा आफ्नो विशेषज्ञताका आधारमा डेलिभर गर्नुपर्छ । कानुन संशोधनका कुराहरू छन्, सूचना प्रविधि डिजिटल रूपान्तरणमा फड्को मार्नु छ । विधेयकहरू ह्याकाथन गर्ने कुरा आइरहेका छन् । मलाई त्यसमा रुचि छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी नयाँ दल हो, जसको राजनीतिक विचारधारा स्पष्ट छैन, तपाईं सिद्धान्ततः अँगाल्दै आउनुभएको पार्टीमा रहनुभएन, अब तपाईंको नयाँ यात्रामा राजनीतिक सिद्धान्त र विचारले अप्ठ्यारो पार्दैन ?
तपाईंले भनेजस्तो होइन । मैले नेपाली कांग्रेस त्याग गर्ने घोषणा गरेपछि नेकपा एमालेले उम्मेदवार हुन इच्छुक हुनुहुन्छ ? भनेर प्रस्ताव गर्नुभएको थियो । तपाईंहरू कम्युनिस्ट पार्टी हो, मेरो विचार, दर्शनसँग मिल्दैन भनेर त्यता गइनँ । त्यो खालको संवाद राष्ट्रिय स्वतन्त्र पार्टीमा गर्नैपरेन । यस पार्टीलाई अहिले लोकतान्त्रिक दलकै रूपमा हेर्ने आधार छन् । हाम्रो संविधानमा लेखिएका आर्थिक पाटोहरूलाई नै यो पार्टीले अंगीकार गरेको छ । समाजवाद नै उहाँहरूको एजेन्डा हो । सामाजिक लोकतन्त्रकै सेरोफेरोमा हेर्न सकिन्छ । जुन नेपाली कांग्रेससँग ठ्याक्कै मिल्छ । नयाँ पार्टी छ, अनुभवबाट खारिन समय लाग्छ । नेपाल कांग्रेसको ००७ सालको कुरा, ५० को दशकमा गरिएका आधार छन्, ०६२/६३ को घटना छ । तर समग्रमा ठ्याक्कै कांग्रेससँग मिल्छ । बरु कांग्रेसका विकृति नयाँ पार्टी भएको हुनाले यसमा रोक्न सकिने ठाउँ छ । नेपाली कांग्रेसका केही साथीहरूले खोजेको जस्तो पार्टी बनाउन सक्ने आधार छ ।
भनेपछि अब कांग्रेसका असन्तुष्ट समूहलाई यता आऊ भनेर आह्वान गर्ने योजना हो तपाईंको ?
अहिले कांग्रेसको ठूलो पंक्ति असन्तुष्ट छ । चुप लागेर पनि बसेको छ । ठूलो पंक्ति धेरै पिल्सिएर, प्रताडित भएर मौन छ । निजी संवादका क्रममा आफ्ना कुरा आउँछन् । सार्वजनिक तहमा उनीहरू बोल्न सकेका छैनन् । मैले जुन स्पष्टताका साथ बोलें, त्यसको प्रतिक्रियाका रूपमा आएका निजी सन्देशअनुसार एउटा विकल्प दिन सक्छु भन्ने आकलन गरेको छु । त्यसकारण कांग्रेसका असन्तुष्ट समूहलाई यो पार्टी विकल्प हो । पहिलो चुनावमै राष्ट्रिय पार्टीका रूपमा आएको छ । अब उपनिर्वाचनमा तीन वटै उम्मेदवार जित्ने भनेर आएको छ । यसैगरी नै उत्तरोत्तर प्रगति हुँदै गयो भने वैकल्पिक दल बन्छ । ठूलो पार्टीका रूपमा कांग्रेस र कम्युनिस्ट पार्टीहरू भए । चौथो दल राष्ट्रिय दल नै भइसकेको राष्ट्रिय स्वतन्त्र पार्टी विकल्प बन्ने देख्छु ।
तपाईं अहिले तनहुँ–१ को निर्वाचन क्षेत्रमा उम्मेदवार बन्ने भनेर रास्वपाले निर्णय गरिसकेको छ, पार्टीमा चाहिँ तपाईंको भूमिका के हुनेछ ?
मेरो रुचि र चासो संसदीय फाँटमा छ । पार्टीमा केही कुरा भएको छैन । पार्टीको महाधिवेशन मंसिरमा हुँदै छ । महाधिवेशनको मिति नजिकिँदै गर्दा थप निर्णय हुन सक्ला ।
कांग्रेस नेताहरू शेखर कोइराला, गगन थापा, विश्वप्रकाश शर्मा र गोविन्दराज पोखरेललाई पठाएको सन्देशमा तपाईंले ‘कांग्रेसमा तपाईंहरूको निर्णयक हैसियत बनेको दिन फेरि हामी कुनै न कुनै रूपमा जोडिन सक्ने आशा छ’ भन्नुभएको छ, एकातिर पार्टी परित्याग, अर्कोतिर भविष्यमा सोही पार्टीसँग तपाईंले आशा राख्नुभएको छ, त्यसको अर्थ अहिले तपाईं रास्वपामा काजमा जानुभएको हो ?
त्यस्तो आशयले लेखेको होइन । जसरी कम्युनिस्ट दलहरूबीच गठबन्धन भयो, त्यस्तै लोकतान्त्रिक कित्ताका रूपमा कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीबीच सहकार्यको कुरा गरेको हँ । त्यस्तो सम्भावना जीवित राख्नुपर्छ । कांग्रेसको ८८ सिट छ । राष्ट्रिय स्वतन्त्र पार्टीको पनि अहिलेभन्दा धेरै बढ्ला । सरकार बनाउन १३८ सिट चाहिन्छ । त्यति बेला दुइटा लोकतान्त्रिक पार्टी मिलेर सहकार्य गर्न सकिने अवस्था आउन सक्छ भनेर मैले त्यसो भनेको हुँ । कुरा मिल्ने, मन मिल्ने नेतृत्व आयो भयो भने काग्रेससँग सहकार्य हुने ठाउँ रहन्छ ।
एकातिर तपाईंले पाँच वर्षभित्र कांग्रेसमा कुनै सम्भावना नै देखिनँ भन्नुभयो, अर्कोतिर त्यहाँभित्र नयाँ शक्ति उदाउने र ऊसँग सहकार्य गर्ने भनिरहनुभएको छ, यो विरोधाभास भएन र ?
तपाईंहरूले निर्णायक हस्तक्षेपको हैसियत बनाउने अवस्था आयो भने भनेर सम्भावनाको कुरा गरेको हुँ । हरेक सम्भावना हुन्छ भन्ने सिद्धान्तका आधारमा त्यो भनेको हो ।
तपाईंका लागि चाहिँ त्यतो सम्भावना सकिएको थियो ?
यो चरण एउटा पटाक्षेपको अनुमान गरियो । स्वाभाविक रूपले हुनुपर्ने त अर्को तीन वर्षमा महाधिवेशन भई चेन्ज अफ गार्ड वा नेतृत्व परिवर्तन हो । त्यस्तो सहज परिदृश्य नदेखिएको र एउटा लामो समयसम्म मप्रति व्यक्तिगत रूपमा पूर्वाग्रह राख्ने नेतृत्व पंक्ति नै कांग्रेसमा हाबी भइरहने सम्भावना देखेपछि त्यसले पनि मेरो निर्णयमा प्रभाव पार्यो । अबको तीन वर्षमै नेतृत्व फरक ढंगले जान्छ भन्ने प्रत्याभूति देखिनँ । यही खालको पार्टीभित्र विभिन्न गुट, उपगुटहरूलाई संयोजन गरेर बनाइने गठबन्धनले स्पष्ट सुधारात्मक दिशा दिन सक्ला भन्ने देखिनँ । बाहिरबाट पनि मान्छेहरू पार्टीमा आउने (ल्याटरल इन्ट्री) को बहस चलिरहेको छ, भद्दा संरचनालाई चुस्त बनाउनुपर्छ भनेर पार्टीभित्र आवाज उठाउने जुन पंक्ति छ, उनीहरू निर्णायक हैसियत नै पुग्ने गरी पुग्छन् कि, अहिलेको यथास्थिति नै ठीक छ भन्ने समूहसँगको सम्झौताबाटै यो पार्टी चलिरहन्छ भन्नेमा स्पष्टता आइसकेको छैन ।
०७४ सालमा कांग्रेस सभापति शेरबहादुर देउवाले नै तपाईंलाई राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेका हुन्, त्योभन्दा अगाडि पनि कांग्रेसले नै तपाईंलाई योजना आयोगको सदस्यमा नियुक्त गरेको थियो, घोषणापत्र बनाउने जिम्मेवारी पनि पाउनुभएको थियो, कांग्रेसमा वर्षौंदेखि लाग्ने कतिपयले यति पनि जिम्मेवारी पाएका छैनन्, जो धैर्य गरेर बसेका छन्, तपाईं पदकै लागि दौडिनुभयो भन्ने आरोप पनि छ नि ?
पहिलो कुरा १५–१८ वर्षदेखि अन्तर्राष्ट्रिय क्षेत्रमा वरिष्ठ अर्थशास्त्रीका रूपमा काम गरिरहेको, तत्कालीन अर्थमन्त्री रामशरण महत र तत्कालीन प्रधानमन्त्री सुशील कोइराला र कांग्रेस इतर पृष्ठभूमिका रामेश्वर खनालको सल्लाहमा मलाई नेपालमा आउन आग्रह गरिएको हो । भूकम्पका बेलामा मैले गरेको काम देखेर शेरबहादुर देउवाले बोलाएर तपाईंले एकदैम राम्रो काम गर्नुभएको हो, अब योजना आयोगमा नेतृत्व गरेर जानुपर्छ भनेर भन्नुभएको हो । त्यस विन्दुसम्ममा उहाँसँग सहकार्य र सम्बन्ध त्यति थिएन । मैले काम गरेर देखाएको छु । दोस्रो पटक शेरबहादुर देउवाले बोलाउँदा तपाईंको कामलाई प्रोत्साहन गर्न खोजेको हुँ भन्नुभएको थियो । उहाँको छोटो कार्यकालमा म उपाध्यक्ष भएको हुँ । त्यसबेलामा मैले न्याय गरें भन्ने लाग्छ । त्यतिबेला मैले गरेका काममा गर्व छ । पार्टीभित्र हरेक थरीका मान्छे हुन्छन् । त्यतिबेला कतिलाई ईर्ष्या पनि लागेका होला । तर उपाध्यक्षबाट राजीनामा दिएपछि पाँच वर्ष खाली बसेको हुँ । म पार्टीको कुनै जिम्मेवारीमा थिइनँ । साथीहरूले सहानुभूति राखेर प्रशिक्षणमा बोलाउनुहुन्थ्यो, जान्थें । पछिल्लो चरणमा आम निर्वाचनका बेला घोषणापत्रमा काम गर्ने मौका पाएँ । स्थानीय सरकारको निर्वाचनका बेला म विदेशमै हुँदा पनि काम गरेको थिएँ । आम निर्वाचनमा बसेर घोषणापत्र तयार गरियो । त्यसैले खाएको खायै छ भन्ने भाष्य गलत हो । म फर्किएको दस वर्ष भयो । चानचुन सबै जोड्दा तीन वर्ष जति मौका पाएको छु ।
पद नपाएर खाली हुनासाथ देश बाहिर दातृ निकायहरूकहाँ जागिर खान जानुहुन्छ भन्ने आरोप पनि लाग्छ नि ?
त्यो पनि गलत हो । कोभिडका बेलामा एक वर्षका लागि कांग्रेसका दस जना नेतालाई सोधेर, परिवारलाई यहीँ छोडेर विशेष अवसर पाएर संयुक्त राष्ट्रसंघमा गएको हुँ । शेरबहादुर देउवाले नै यस्तो अवसर अरूलाई विरलै आउँछ भाइ, अहिले यहाँ काम पनि छैन, तपाईं जानुहोस भन्नुभएको हो । कोभिडका बेला ३६ वटा देशलाई हेर्ने गरेर राष्ट्रसंघीय सहायक महासचिवको दाहिने हात भएर काम गर्ने अवसर न्युयोर्कमा, लामो अन्तर्राष्ट्रिय कूटनीतिक क्षेत्रमा, रामशरण महतको पालापछि त्यो खालको उपस्थिति भएको छैन । विदेशीहरूसँग सम्पर्क र विदेशी संघसंस्थाहरूको सहभागिता हुन्छ भन्ने तर्कका आधारमा गएको हुँ । त्यसपछि म नेपाल आएको छु । स्थानीय चुनावमा यहीँ छु । डलर खान एनजीओमा गयो भन्ने भाष्य पनि छ । त्यो पनि गलत हो । संयुक्त रांष्ट्रसंघ भनेको अन्तर्राष्ट्रिय संस्था हो । विश्वको प्रतिष्ठित र नेपाल त्यसको हिस्सेदार संस्था हो । यस्तै सक्रियता र आबद्धताले गर्दा नै मैले आँखामा आँखा जुधाएर भन्न सक्छु— १८ वर्षको उमेरदेखि मेरो सुकासुकाको आम्दानीबारे हिसाबकिताबको फेहरिस्त देखाउन सक्छु । डलर खान गयो भन्ने नेताले १८ वर्षदेखि मेरो कमाइ यति हो भनेर भन्न सक्छन् ? आफ्नो मिहिनेतले, दुनियाँले पत्याएर, प्रतिस्पर्धाबाट एउटा नेपालीको छोरोले विशेष कालखण्डमा संयुक्त राष्ट्रसंघले बोलाएर अवसर दिँदा पनि मैले यसबारे गिल्टी फिल गर्नुपर्ने ?
तपाईंका टिप्पणी आत्मकेन्द्रित देखिन्छन्, तपाईंले आफू वरिपरिको कुरालाई मात्रै हेरेर पार्टी परित्याग गर्नुभएको हो भनिन्छ नि ?
मुख्य कुरा नै बेथिति, भ्रष्टाचारबारे हुन् । मैले उठाइरहेका विषय नै हुन् । पत्रकारिताकै लागि २५ लाखको पुरस्कार घोषणा गरेको छु । आर्थिक विचलनका धेरै कुरा कान्तिपुरमै प्रकाशन गरेको छु, कुशासनबारे खुलस्त बोल्दै आएको छु । त्यो ‘पर्सना नन ग्राटा’ बनाइनुका पछि मेरा गतिविधि, स्पष्ट अन्तर्वार्ता, लेख र पोस्ट कारण थिए भन्ने लाग्छ । त्यसैले बेथिति, कुशासनमा नेपाली कांग्रेसका गतिविधिहरूप्रति स्वाभिमानी कांग्रेसहरूले शिर निहुर्याउनुपर्ने अवस्था आयो भनेर मैले एकदमै खुलस्त बोलिरहेको छु । त्यसले केही पात्रविशेषलाई असहज बनाएको हो ।
तर तपाईंले शेरबहादुर देउवासँग स्थानीय तहको निर्वाचन अघिसम्म संवाद हुन्थ्यो, संयुक्त राष्ट्रसंघमा जागिर खान उहाँलाई सोधेरै गएको हुँ, राम्रै सम्बन्ध थियो भनिरहनुभएको छ, तर पार्टी छाड्ने बेलामा देउवा–आरजु गिरोह भन्ने टिप्पणी गर्नुभयो, खासमा शेरबहादुर देउवासँग तपाईंको सम्बन्ध कहिलेबाट र कसरी बिग्रिएको हो ?
१३औं महाधिवेशनसम्म शेरबहादुर देउवा र उनको समूहसँग सम्पर्क हुन्थ्यो । नेपाल आएका बेला जहिल्यै भेट्थें । तर, १४औं महाधिवेशनमा शेरबहादुर देउवाबाहेक अरू पात्रसँग मेरो सम्पर्क भएन । मैले पनि कांग्रेस सभापति देउवासँग मात्र निरन्तर संवाद राख्न चाहें । पछिल्लो निर्वाचनमा मैले आफूलाई अनुशासनमा बाँधेको थिएँ । कसलाई भेट्ने, कसलाई नभेट्ने भन्नेमा दायरा बनाएको थिएँ । त्यसपछि अहिलेको अवस्थामा आइपुग्यो ।
केही सञ्चारमाध्यमका अनुसार तपाईंलाई राष्ट्रपति रामचन्द्र पौडेलले अवैतनिक आर्थिक सल्लाहकारमा नियुक्त गर्ने तयारी गर्नुभएको थियो, तर देउवा–आरजुले त्यो रोकेपछि तपाईंले कांग्रेस परित्याग गर्नुभएको भन्ने विवरण सार्वजनिक भएका छन्, खास के हो ?
मैले त्यो कारणले कांग्रेस छाडेको होइन । सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले पदबहाली गरिसक्नुभएपछि मलाई बोलाउनुभएको थियो । उहाँले राष्ट्रपति कार्यालयसँग गाँसिनुपर्यो स्वर्णिम भन्नुभयो । रामचन्द्र पौडेलसँग हाम्रो पुरानो सम्बन्ध हो । गण्डकी छात्र समितिदेखि नै मेरा पिताजीहरू उहाँसँग जोडिनुभएको छ । त्यस हिसाबले पनि उहाँले मलाई स्नेहपूर्वक भन्नुभएको हो । आर्थिक मामिला, कूटनीतिक मामिलामा सघाउनुपर्यो भन्ने उहाँको प्रस्ताव थियो । म तयार छु, तर यो काम म अवैतनिक रूपमा गर्छु, ता कि त्यसबाट कुनै प्रश्न नउठोस् र स्वार्थ बाझिने काम नहोस् भन्ने मेरो उद्देश्य थियो । मेरो अर्को सर्त पनि थियो । म राष्ट्रिय योजना आयोगको उपाध्यक्ष हुँदा पदीय जिम्मेवारीका हैसियत (मन्त्रीसरहको सुविधा) पनि याद गरिदिनुहोला भनेर उहाँलाई भनेको थिएँ । तर त्यसपछि यो विषय त्यत्तिकै थाती राखियो । केही खबर आएन । मैले एकपटक चासो राखें, तर त्यत्तिकै विसर्जन भयो ।
सांसद नबनाइए पनि अहिलेको संकटोन्मुख समयमा मलाई अर्थमन्त्री बनाइदिए हुन्थ्यो भन्ने अपेक्षा थियो ?
मैले कहीँकतै लबिइङ गरिनँ । तर सामाजिक सञ्जालमा धेरैले त्यस्तो माग गर्दै मेरो नाम उल्लेख गरेको देखेको थिएँ । गत मंसिरको टिकट वितरणमा जुन किसिमको रबैया देखाइयो, त्यसपछि मलाई केही गर्न दिँदैनन् भन्ने भइसकेपछि त्यो अपेक्षामा थिइनँ ।
उपनिर्वाचनमा गठबन्धनबाटै तपाईं उम्मेदवार हुने छलफल पनि चलेको थियो ?
त्यस्तो थिएन । चितवन २ मा मैले कहिल्यै आकांक्षा राखिनँ । तनहुँ–१ बाट पनि गठबन्धनबाट उम्मेदवार हुने प्रयास गरिनँ ।
कांग्रेससँगको असन्तुष्टि एउटा कुरा भयो, तर तपाईं राष्ट्रिय स्वतन्त्र पार्टीसँग जोडिने कहिलेदेखिको तयारी थियो ? कसरी यहाँ आइपुग्नुभयो ?
नेपाली कांग्रेसमै सक्रिय हुँदा रवि लामिछानेहरूले पार्टी भर्खर खोलेका बेला धेरै मानिसलाई प्रस्ताव गरिरहनुभएको थियो । त्यही मेसोमा मकहाँ पनि आइपुग्नुभएको थियो । तर मैले नेपाली कांग्रेसबाट संसदीय फाँटमा प्रवेश गर्न चाहन्छु भनेको थिएँ । तर उहाँले संवादको अन्त्यमा ‘तपाईं जुन पार्टीबाट, जहाँबाट उम्मेदवारी दिए पनि, तपाईंले नबोलाए पनि त्यहाँ आएर तपाईंको पक्षमा भाषण गर्छु’ भन्नुभएको थियो । त्यो मानेमा हामीबीच एउटा हार्दिकता थियो । कांग्रेसले मलाई टिकट नदिएपछि उम्मेदवारी दर्ता गर्ने अन्तिम समय बेलुकी ५ बजेसम्म उहाँहरूले हामीसँग जोडिनुस् भनेर एकदमै ठूलो पहल गरिरहनुभएको थियो । अहिले सोबिता गौतम उठ्नुभएको काठमाडौं २ मा अनुरोध गरिरहनुभएको थियो । होइन, कांग्रेसमा मेरो लामो विरासत छ, एक थान सांसद मात्र बनेर केही हुँदैन भनें । त्यतिबेला राष्ट्रिय स्वतन्त्र पार्टी परीक्षण भइसकेको पनि थिएन । चौथो ठूलो दल, राष्ट्रिय दलका रूपमा उदाउला भन्ने अनुमान पनि कसैले गरेको थिएन । त्यसकारण अन्तिम दिन पनि मैले उहाँहरूको प्रस्ताव मानिनँ ।
मैले नेपाली कांग्रेसमै धेरै काम गरिरहेको थिएँ । तर पनि मेराबारे धेरै पाटा खुल्दै गए । धेरै किस्सा सुनें । त्यहीबेला मलाई धेरै साथीहरूले राष्ट्रिय स्वतन्त्र पार्टी वैकल्पिक लोकतान्त्रिक दल बन्ने सम्भावनाका रूपमा उदायो, यसमा खारिएका, उत्तरदायी व्यक्ति गएर दह्रो बनाउनुपर्छ भन्नु थाल्नुभयो । मलाई त्यस पार्टीमा जानुस् भनेर धेरै स्वतन्त्र शुभचिन्तकले सल्लाह दिनुभयो । चारैतिरबाट मलाई त्यो पार्टीमा प्रवेश गराउन लागिरहनुभएको थियो । त्यसपछि एउटा बिन्दुमा रवि लामिछाने र मैले छलफल गर्यौं ।
उहाँ र मबीच पछिल्लो समय सरकार बन्ने, भत्कनेलगायत नाटकीय घटनाहरूका विषयमा छलफल भयो । तर आर्थिक मुद्दाहरूमा त्यति संवेदनशीलता नदेखिएको पनि कुरा भयो । देश आर्थिक संकटमा छ, युवाहरूमा चरम नैराश्य छ, मुलुकमा राजनीतिक भड्काव हुन खोजिरहेको छ, कस्ता कस्ता शक्ति उदाउन खोजिरहेका छन्, तर राजनीतिक वृत्त पहिलेकै जस्तो मुडमा रहेको देखियो । नेपाली कांग्रेसमा त झन् यो प्रवृत्ति छँदै छ ।
यो पुरानै दलहरूको जस्तो प्रवृत्ति त राष्ट्रिय स्वतन्त्र पार्टीमा पनि देखियो नि, कहिले कसलाई समर्थन गर्ने, कहिले नगर्ने, व्यक्तिकेन्द्रित निर्णय हुने, योग्यलाई मन्त्री नबनाउने त राष्ट्रिय स्वतन्त्र पार्टीका गतिविधि छन् त ?
हो, नयाँ पार्टी भएको हुनाले त्यस्तो भयो । नयाँ नयाँ प्रयोग भएको छ । त्यसबारे स्वतन्त्र पार्टीले आत्ममूल्यांकन पनि गरिरहेको छ । महसुस गरेको छ । तर अन्य पार्टीमा त्यस्तो देखिँदैन । जनताले के भनिरहेका छन् ?, सामाजिक सञ्जालमा के आवाज आइरहेको छ ? भन्नेबारे उनीहरू जत्तिको सचेत अरू देखिएका छैनन् । उहाँहरूले स्वमूल्यांकन गरेको एउटा ताजा उदाहरण छ । हिजो मैले कांग्रेस परित्याग गरेर राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेपछि सामाजिक सञ्जालमा आएका टिप्पणीहरूपछि उहाँहरूले आज मलाई ‘हाम्रा पछिल्ला गतिविधि जनताले रुचाएका रहेनछन्, समाजिक सञ्जालमा हाम्रा गतिविधिहरूमा केही गिरावट आएको थियो, तपाईंको आगमन हुने समाचारले क्षतिपूर्ति हुने सन्देश पायौं’ भन्नुभएको छ । यो स्वचेतना हो । दुनियाँले हामीलाई कसरी हेरिरहेको छ ?, के टिप्पणी गरिरहेको छ ?, कहाँ राम्रो भयो ?, कहाँ नराम्रो भयो ? भन्नेबारे यस पार्टीको नेतृत्वपंक्ति सचेत छ । यो सकारात्मक संकेत हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीकै बारेमा सकारात्मक संकेत प्राप्त भएको छ भन्नुभयो, त्यस पार्टीमा तपाईंको के भूमिका हुने भन्ने स्पष्टता आइसकेको छैन, तर तपाईं अंकगणितीय हिसाबले विभिन्न टार्गेट लिएर हिँड्नुभए जस्तो देखिन्छ । भोलिका दिनमा पार्टीले तपाईंलाई उल्लख्य भूमिका दिएन भने के हुन्छ ?
अहिले मेरो चासो संसदीय फाँटमा मात्रै छ । म राष्ट्रिय स्वतन्त्र पार्टीको तनहुँ १ का लागि आधिकारिक उम्मेदवार मात्र हुँ । म तीन सातासम्म तनहुँ रहनेछु । राष्ट्रिय स्वतन्त्र पार्टीको नयाँ सांसदका रूपमा संसद्मा सक्रिय हुन चाहन्छु । पार्टी गतिविधि र जिम्मेवारी भनेको महाधिवेशन सेरोफेरोमा मात्रै निश्चित हुनेछ ।
उपनिर्वाचनमा निर्वाजित हुनुभयो भने के गर्नुहुन्छ ? हार्नुभयो भने के हुन्छ ?
विजयी भएँ भने संसद्मा सक्रिय हुन्छ् । एउटा कुशल सांसदको भूमिका निर्वाह गर्छु । जुन काम अहिले अहिले राष्ट्रिय स्वतन्त्र पार्टीका चर्चित सांसद– सुमना श्रेष्ठ, शिशिर खनाल, मनीष झा, सोबिता गौतम, तोसिमा कार्की, सन्तोष परियारले गरिरहनुभएको छ । एउटा ऊर्जाका साथ उहाँहरूले काम गरिरहनुभएको छ । उहाँहरूको त्यही सामूहिक यत्नमा म जोडिनेछु । साथै राष्ट्रिय स्वतन्त्र पार्टीमै रहेर आर्थिक, परराष्ट्र र अन्तर्राष्ट्रिय आयाम भएका विषयमा मैले विशेष भूमिका निर्वाह गर्नु सक्छु भन्ने लाग्छ ।
निर्वाचनमा पराजित भएँ भने पनि सक्रिय हुन्छु । राष्ट्रिय स्वतन्त्र पार्टीको म साधारण सदस्य हुँ । यो यथावत् रहनेछ । पार्टीका गतिविधिमा बढी सक्रिय हुनेछु । प्रशिक्षण, संगठन निर्माण, विचार, योजना र नीतिका काममा देश दौडाहामा हुनेछु, जुन काम मैले १० वर्षदेखि नेपाली कांग्रेसमा रहेर गरिरहेको थिएँ । राजनीति भनेको फुल टाइम पेसा हैन । मेरा आफ्नै काम पनि छन् । म अध्यक्ष रहेको आईआईडीएस संस्था मातहत रहेर विकास निर्माण, आर्थिक नीति सुधार आदिमा सक्रिय रहनेछु ।
तनहुँ–१ मा तपाईंलाई प्रमुख पार्टीहरूले सघाउने सम्भावना छ ?
उम्मेदवारी दिने समयसम्म केही प्रयास रहनेछ । गठनबन्धनको उम्मेदवार आइसक्नुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवारका रूपमा म आइसकेको छु । नेकपा एमालेले पनि उम्मेदवारी दिन्छ होला । अनौपचारिक ढंगले कुराकानी चलिरहेका छन् । तर सहमतिको ठोस आकार आइसकेको छैन । मलाई लाग्छ, प्रमुख पार्टीहरूले आआफ्ना उम्मेदवार उठाउनेछन् ।
- ई–कान्तिपुरका लागि कृष्ण आचार्य, कुलचन्द्र न्यौपाने र सजना बरालले गरेको कुराकानीको सम्पादित अंश :