"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रभावितलाई मुआब्जा वितरण गर्न एमसीए-नेपालद्वारा सूची सार्वजनिक

प्रकाशित मिति :  23 April, 2023 10:21 am


काठमाडौ । मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए-नेपाल)मार्फत काठमाडौँको लप्सेफेदीबाट नुवाकोटको रातमाटे हुँदै हेटौँडा र तनहुँतर्फ लैजाने प्रसारण लाइनले ५० बस्ती प्रभावित बन्ने भएका छन्। शनिबार सार्वजनिक गरिएको प्रारम्भिक सूचीअनुसार सो प्रसारणलाइने ५० बस्ती प्रभावित हुने देखिएका हुन्।

मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)मार्फत निर्माण गर्न लागिएको प्रसारण लाइनका लागि गाड्नुपर्ने खम्बा र विस्तार गरिने तारको दायाँबायाँतर्फ प्रभावित बनाउने बस्तीको प्रारम्भिक सूची प्रकाशन गरिएको ‘प्रारम्भिक कारबाही अधिकृत’ हरिकृष्ण उप्रेतीले जानकारी दिए।

उनकाअनुसार अमेरिकी सहयोग अनुदानअन्तर्गतको एमसीसीमार्फत निर्माण गर्न लागिएको आयोजनाको नेपालको सरकारी निकाय एमसीए–नेपालमार्फत प्रसारण लाइन निर्माणको क्रममा प्रभावित हुने बस्तीको विवरण सार्वजनिक गरिएको हो।

प्रकाशित सूचीअनुसार नुवाकोटको बेलकोटगढी नगरपालिकासहित शिवपुरी, पञ्चकन्या, लिखु र तारकेश्वर गाउँपालिकाका १८ वडाका ५० बस्ती प्रत्यक्ष प्रभावित हुनेछन्। ‘काठमाडौँको लप्सेफेदीबाट नुवाकोटको रातमाटे (बेलकोटगढी–७) सम्म चार सय केभी डबल सर्किटको प्रसारण ल्याइनका क्रममा निर्माण गरिने खम्बा र प्रसारण लाइनको दायाँबायाँ क्षेत्रमा प्रभावित बनाउने प्रारम्भिक बस्तीको विवरण सार्वजनिक गरिएको हो,’ उप्रेतीले भने, ‘रातमाटे (सबस्टेशन)बाट एक लाइन नुवाकोटको कोल्पुटार (बेलकोटगढी-५) हुँदै हेटौँडातर्फ र अर्को लाइन नुवाकोटको तारुका (तारकेश्वर–२) हुँदै धादिङबाट तनहुँ पु¥याएर त्यहाँबाट बुटवल लैजान प्रसारण लाइन निर्माण गर्न लागिएको छ।’

प्रसारण लाइन विस्तारका क्रममा आवश्यक पर्ने जग्गाधनीलाई खम्बा गाड्ने ठाउँको मुआब्जा र प्रसारण लाइनको दायाँबायाँ २३–२३ मिटर दूरीसम्म क्षतिपूर्ति दिन प्रभावित हुने बस्तीको सूची सार्वजनिक गरेर सर्वेक्षण सुरु गर्न लागिएको एमसीए-नेपालका कार्यकारी निर्देशक खड्कबहादुर विष्टले जानकारी दिए।

उनका अनुसार नुवाकोटमा करिब ५३ किमी प्रसारण लाइन निर्माणका क्रममा १ सय ४७ वटा टावर गाड्नुपर्नेछ। सो क्रममा जिल्लाको पाँच पालिकाको १८ वडाका ५० बस्ती प्रत्यक्ष प्रभावित हुने उनको भनाइ छ। ‘प्रभावित पालिकाको वडा र बस्ती किटान गरेर प्रारम्भिक सूची प्रकाशन भएसँगै अब निजी स्वामित्वको जग्गा सर्भे सुरु गर्न लागिएको छ,’ कार्यकारी निर्देशक विष्टले भने, ‘सर्भेका लागि खटिएका प्राविधिक कर्मचारीलाई सहयोग पु¥याएर समयमा नै कार्य सम्पन्न गर्नका लागि स्थानीय समुदायको महत्त्वपूर्ण भूमिका रहन्छ।’

उक्त आयोजनाअन्तर्गत सबस्टेशन निर्माण र प्रसारण लाइन विस्तारका क्रममा प्रभावित हुने बासिन्दाका लागि एमसीए–नेपालले बेवास्ता गरेको भन्दै यहाँका स्थानीय तह र प्रभावित बासिन्दा भने असन्तुष्ट छन्।

सबस्टेशन निर्माणका लागि आवश्यक जग्गा खरिदको काम पूरा भइसकेको छ भने प्रसारण लाइन विस्तारका क्रममा खम्बा गाड्न चाहिने जग्गा खरिद र तार विस्तारबाट प्रभावित हुने क्षेत्रमा दिइने क्षतिपूर्ति निर्धारण बैठकलाई पालिकाहरूले बहिष्कार गर्दै आएका छन्।

  • रासस



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

ललितपुर – अर्थमन्त्री रामेश्वर खनालले निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।आज ललितपुरमा आयोजित ‘नेपाल पर्यटन गोष्ठी’ मा

काठमाडौँ – सरकारले अर्धवार्षिक समीक्षामार्फत चालू आर्थिक बर्षको बजेट खर्च अनुमान संशोधन गरेको छ। अर्थ मन्त्रालयले मंगलबार अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दैै

काठमाडौँ — सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले छैठौ इमर्जिङ एसिया इन्स्योरेन्स कन्क्लेभ एण्ड अवार्ड्स २०२५ मा ‘बेस्ट स्ट्राटेजिज फर इन्स्योरेन्स

काठमाडौं  – सन् २०२६ को पहिलो महिना जनवरीमा ९२ हजार ५७३ पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले दिएको