"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

बागलुङको भकुन्डेमा पर्ने बराह ताल धार्मिक पर्यटनको रोजाई

प्रकाशित मिति :  12 May, 2023 12:19 pm


बागलुङ । वरपर जंगल र बस्ती। बीचमा छ बराह ताल। शान्ता वातावरण, स्वच्छ हावापानी र चिरबिर चराचुरुंगीको आवाजले धेरैको मन फुरुंग हुन्छ। बागलुङ नगरपालिका–१० भकुन्डेमा पर्ने बराह ताल प्राकृतिक सुन्दरताले भरिपूर्ण छ। एक हजार तीन सय २६ मिटरको उचाइमा रहेको बराह ताल जिल्ला सदरमुकाम बागलुङ बजारबाट सबैभन्दा नजिकको ताल हो।

ताल बजार नजिक हुँदा आन्तरिक पर्यटकको रोजाइमा परेको छ। दिनप्रतिदिन यहाँ घुम्न पुग्नेको संख्या बढिरहेको छ।गाडी र पैदल सहजै पुग्न सकिने हुँदा बराह तालप्रति आन्तरिक पर्यटक आकर्षित हुने गरेका छन्। ताललाई थप व्यवस्थित गरेपछि यसको सुन्दरता बढेको पाइन्छ। बागलुङ बजारबाट गाडीमा आधा घन्टा र पैदलयात्रामार्फत करिब साढे एक घन्टामा बराह ताल पुग्न सकिन्छ।

तालका बीचमा रहेका रुखले पर्यटकलाई थप आकर्षित गरेको छ। गोलाकार आकारमा रहेको ताल करिब सात रोपनी क्षेत्रफलमा फैलिएको छ। पहिले अव्यवस्थित रहेको ताल अहिले व्यवस्थित बनेको छ।

ताल वरपर मन्दिर निर्माण गरिनुका साथै घेरा गरिएको छ। पछिल्लो समय बराह तालमा घुम्न आउने पर्यटकको संख्यामा वृद्धि हुँदै गएको स्थानीय सोमबहादुर थापामगरले बताए। उनका अनुसार बिदाका दिन अझ बढी पर्यटकको भीडभाड हुने गरेको छ।

बराह ताल धेरै पहिलेदेखि चर्चित भए पनि विभिन्न पूर्वाधार बनेपछि पछिल्लो समय पर्यटक बढी आउने गरेको थापामगर बताउँछन्।

उनी भन्छन्, ‘बराह ताल पहिले अलि फरक थियो, अहिलेको जस्तो व्यवस्थित थिएन, यसको व्यवस्थापन गरेपछि अहिले धेरै राम्रो बनेको छ, पहिले अहिलेको जस्तो गोलाकार थिएन, अहिले घेराबार लगाएर गोलाकार आकारको बनाइएको छ, पहिलेको तुलनामा अहिले घुमफिर गर्ने मान्छे बढेर होला यहाँ आउनेको संख्या पनि बढेको पाइएको छ, प्रचार पनि हुँदै गएको छ।’

बराह तालको गहिराइ अहिलेसम्म कति छ भन्ने पत्ता नलागेको थापामगरको भनाइ छ। पछिल्लो समय फोटो, भिडियो खिच्ने र सामाजिक सञ्जालमा पोस्ट्याउने गर्दा प्रचारप्रसारमा व्यापक बनेको थापामगरले बताए।

बराह तालमा हरेक जेठको पूर्णिमा र कार्तिक पूर्णिमामा ठूलो मेला लाग्ने गर्छ। मेला अवलोकनका लागि बागलुङका विभिन्न स्थानसहित पर्वत, म्याग्दी, कास्कीलगायतका ठाउँबाट पर्यटक घुम्न आउने गर्छन्।

बराह ताल नजिकै रहेको मन्दिरमा पूजाआजा गर्दा मनोकांक्षा पूरा हुने जनविश्वास छ। तालको प्रचारप्रसारमा तीव्रता दिएसँगै पर्यटक बढ्दै गएको बागलुङ नगरपालिका–१० भकुण्डेका अध्यक्ष तिलबहादुर थापामगरले बताए।

उनले बराह ताल नजिकै ‘पिकनिक स्पट’ रहेको हुँदा बिदाका दिन विभिन्न संघसंस्था, विद्यार्थी, व्यापारी रमाइलोका लागि आउने गरेको बताए। ताललाई थप व्यवस्थापन गर्नका लागि नगरपालिकाबाट पहल भइरहेको अध्यक्ष थापामगर बताउँछन्।

‘जिल्लामै सबैभन्दा राम्रो तालका रूपमा रहेको छ यो बराह ताल, अरु ठाउँका ताल पनि देखियो तर योजस्तो व्यवस्थित छैनन्, बागलुङ बजार नजिकै रहेको भएर पनि होला बेला-बेला विदेशी पर्यटक पनि आउने गर्छन्’, अध्यक्ष थापामगरले भने, ‘तालसम्म आउने सडकको अवस्था अलि कमजोर छ, यसलाई थप व्यवस्थित बनाउनुपर्ने छ, यो सडक व्यवस्थित भयो भने यहाँ आउने पर्यटको संख्यामा दोब्बरले बढ्ने देखिन्छ, हामीहरू ताल व्यवस्थापनका लागि योजना बनाइरहेका छौँ।’

ताल घुम्न पुग्ने पर्यटकले यहाँको लोकल परिकार पनि चाख्न पाउँछन्। ताल वरपर नै घरबास (होमस्टे) सञ्चालनमा रहेको हुँदा बराह ताल पुग्ने पाहुनालाई बास बस्न र खानाको समस्या हुँदैन।

बराह ताल क्षेत्रबाट उच्च पहाडी क्षेत्रसँगै एकैपटक धवलागिरि, माछापुच्छ्रे, अन्नपूर्णलगायत २२ वटा हिमशृंखलाको अवलोकन गर्न सकिन्छ। भकुण्डे पुग्ने पर्यटकलाई स्थानीय उत्पादनबाट बनेका परिकार खुवाउने गरेको अतिथि सत्कार सामुदायिक होमस्टेकी उपाध्यक्ष इन्द्रा थापामगरले बताए।

उनले पाहुनालाई लक्षित गरी गाउँमा घरबास पनि व्यवस्थित बनाइएको बताए। घरबास लामो समयदेखि सञ्चालनमा रहेको भन्दै घुम्न आउने पर्यटकलाई खाना र बस्नको समस्या नहुने उनको भनाइ छ।

पाहुनालाई सिन्कीको अचार, कोदोको रोटी ढिडो, लोकल कुखुरालगायतका परिकार खान दिने गरेको थापामगरले बताए। रहेक वर्ष विदेशी पर्यटक पनि आइराखेको उनी बताउँछन्।

थापामगर भन्छन्, ‘कोरोना आउनुभन्दा पहिले पर्यटक धेरै आउँथे, बीचमा केही कम भएको थियो, अहिले फेरि बढ्न थालेको छ, बराह तालमा दैनिकजसो आन्तरिक पर्यटक आउने गरेका छन्, त्यहाँ आउने पर्यटक हाम्रो होमस्टेमा पनि आउने गरेका छन्, पाहुनाका सुविधाका लागि नेटलगायतका सेवा थप गरेका छौँ, पहिलेभन्दा व्यवस्थित हुँदै गएका छौँ।’

  • रासस



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आइतबार मध्यरातिदेखि निर्वाचन आचारसंहिता, २०८२ लागु हुँदैछ। निर्वाचन आयोगको आइतबार बसेको

काठमाडौँ – दार्चुलाको शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्टसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान

काठमाडौँ- आसन्न प्रतिनिधिसभा निर्वाचन (फागुन २१ गते) का लागि नेपाल प्रहरीले आफू मातहत परिचालन हुने निर्वाचन प्रहरी (म्यादी प्रहरी) को भर्नाका

मुस्ताङ – धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या वृद्धि भएको छ । यहाँ सन् २०२४ को अनुपातमा