"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सिडिओको पहल : पसलमा प्रहरी जोगाएकी जानकीलाई क्षतिपूर्ति दिदै

प्रकाशित मिति :  22 February, 2022 4:44 pm


काठमाडौँ । प्रहरीलाई प्रदर्शनकारीबाट जोगाउँदा बुद्धनगरकी जानकीको पसलमा क्षति पुगेको घटनामा क्षतिपूर्ति दिन काठमाडौं जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयसँग पहल गर्ने भएको छ।

मंगलबार दिउँसो काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल, महानगरीय प्रहरी परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुदीप गिरी र काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी जानकीको कपडा पसलको निरीक्षण गर्न पुगेका थिए।

निरीक्षणपछि प्रमुख जिल्ला अधिकारी रिजालले क्षतिपूर्तिका लागि गृह मन्त्रालयलाई पत्राचार गर्ने बताए। ‘कति क्षति भएको छ। त्यसको विवरण संकलन गरिरहेका छौं। प्रारम्भिक मुचुल्का भइसकेको छ,’ उनले भने, ‘यो विषयमा हामीले हाम्रो तालुक मन्त्रालयमा जानकारी गराउँछौं। त्यसपछि केही न केही सम्बोधनचाहिँ होला।’

पसलमा के(कति क्षति भएको भन्ने यकिन भइसकेको र त्यसअनुसार नै रिपोर्टिङ गरिने उनले बताए। प्रहरी वरिष्ठ उपरीक्षक गिरीले पनि प्रहरीको तर्फबाट जानकीलाई धन्यवाद दिएका थिए।

यस्तै उपमेयर खड्गीले पनि प्रहरीलाई जोगाइदिएकोमा महानगरपालिकाको तर्फबाट धन्यवाद दिएकी थिइन्। साथै सरोकारवालालाई क्षतिपूर्ति दिन घचघच्याउने काम पनि गरिदिने बताएकी थिइन्।

‘हामी सिडिओसँग पनि छलफल गर्छौं,’ उनले जानकीलाई भनेकी थिइन्, ‘घचघच्याउने काम हामी गर्छौं।’ प्रमुख जिल्ला अधिकारी, काठमाडौं प्रहरी प्रमुख र उपमेयर नै आएर भेटेपछि भने क्षतिपूर्ति पाउनेबारे केही आश भएको जानकीले बताउँछिन्।

गत आइतबार बुद्धनगरमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा जानकीको पसलमा क्षति पुगेको थियो। त्यसबेला सुरूमा प्रहरीले प्रदर्शनकारीलाई लखेटेको थियो। तर पछि प्रदर्शनकारीले पाँच प्रहरीलाई घेरा हालेर ढुंगामुढा गरेका थिए।

ती प्रहरीले जानकीको पसल भित्र पसेपछि प्रदर्शनकारीले पसलमै ढुंगामुढा गरेका थिए। जसकारण जानकीको पसलमा क्षति पुगेको थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारले जेठ १४ गते बकर ईद (ईद-उल-अज्हा)को अवसरमा सार्वजनिक बिदा दिएको छ। शुक्रबार गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द

काठमाडौं – ट्राफिक प्रहरीले ३१ जनाको सवारी लाइसेन्स निलम्बन गर्न सिफारिस गरेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ३१ जनाको

काठमाडौं – मालपोत कार्यालय रुपन्देही भैरहवाका तत्कालीन प्रमुख मालपोत अधिकृत र सियारी गाउँपालिका-२ का तत्कालीन अध्यक्षसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं –  लागुऔषधसम्बन्धी मुद्दा मिलाइदिन्छु भनी ५० हजार घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक प्रहरी वरिष्ठ हवल्दारलाई पोखराबाट