विपद् व्यवस्थापनमा पूर्वतयारी गर्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विपद व्यवस्थापनको पूर्वतयारी प्रभावकारी बनाउन निर्देशन दिएका छन्। मंगलबार बिहान प्रधानमन्त्री प्रचण्डले प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरलाई वर्षायाममा प्राकृतिक प्रकोपबाट हुनसक्ने सम्भावित क्षतिप्रति पूर्वसतर्कता अपनाउन र विपद् व्यवस्थापनको पूर्वतयारी प्रभावकारी बनाउन निर्देशन दिएका हुन्।
वर्षाका कारण विभिन्न जिल्लामा आएको बाढीपहिरोबाट ठूलो धनजनको क्षति भएकोप्रति सचेत रहन पनि उनले आग्रह गरेका छन्।
प्रधानमन्त्री प्रचण्डले उद्धार, राहत र पुनर्स्थापनाका लागि सम्पूर्ण रूपले सक्रिय हुन निर्देशन दिए। गएराति देखिको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढी-पहिरो आएको छ।













