"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सामाजिक सञ्जालको खराब पक्षबाट जोगिने ७ तरिका

प्रकाशित मिति :  15 August, 2023 5:53 pm


एजेन्सी । सामाजिक सञ्जाल त्यसलाई उपयोग गर्ने मानिसहरु जस्तै सुन्दर छ । तर उपयोगका विषयमा भएका अनुसन्धानहरुले सामाजिक सञ्जालको प्रयोग राम्रोसँग भएको देखाएको छैन । नयाँ विचारको प्रचार-प्रसार वा समुदायलाई जोड्न बनेको एउटा गतिलो माध्यम विस्तारै निराशा पोख्ने, अविश्वास पैदा गर्ने र षड्यन्त्र रच्ने थलोको रुपमा विकास हुँदै गएको छ ।

सामाजिक सञ्जाल प्रयोगकर्ताको जमातमा नयाँ पुस्ता थपिँदै जाँदा जिज्ञासा उब्जिएको छ । के यसको उच्चतम उपयोग गर्न सकिँदैन ? यसको प्रयोगमा देखिएका समस्या समाधान माथिदेखि तल नभएर तलदेखि माथिको अवधारणा अनुसार गर्नुपर्ने हुन्छ । अर्थात् प्रयोगकर्तामार्फत नै सुधार हुनुपर्छ ।

व्यक्तिगत रुपमा यसको सुधारका लागि प्रयोगकर्ताले राम्रो छनौट गर्नुपर्ने हुन्छ । थ्रेड चलाउँदा होस् कि फेसबुक, एक्स होस् वा इन्स्टाग्राम मानिसले त्यसको राम्रो उपयोग गर्नुपर्छ । सामाजिक सञ्जालले मानिसको उपयोग नगरोस् भन्ने कुरामा सचेत हुँदै यी ७ कुरामा विचार गर्नुपर्छ ।

 १. अपरिचितसँग सतर्क

कुनै अपरिचित व्यक्ति भोजमा घुसेर गालीगलौज गर्न थाल्यो र संवादलाई विथोल्न खोज्यो भने त्यस्ता व्यक्तिलाई बाहिर निकालिन्छ । सामाजिक सञ्जालमा भने भड्काउ प्रवृत्तिलाई पनि कहिलेकाहीँ उत्सवका रुपमा लिइन्छ ।

कसैले दुर्व्यवहार गरेको खण्डमा अनुशासित ढंगबाट त्यसको प्रत्युत्तर दिने उपायनै सर्वोत्तम हो । तर सामाजिक सञ्जालमा भने हामी यसको पालना गरिरहेका हुँदैनौं । अश्लिल गालीगलौजका कारण सामाजिक सञ्जाल निकै विषाक्त देखिन्छ ।

कसैले केही नराम्रो गरिरहेका छन् भने त्यस्ता गतिविधिलाई उक्साउने भन्दा निरुत्साहित गर्न जरुरी छ । तब मात्रै मानिसले आफ्नो गल्ती महसुस गर्छ र सामाजिक सञ्जालको शुद्धीकरणको पनि थालनी हुनेछ ।

२. संवेदनशीलता अपनाउने

सामाजिक सञ्जालमा अपनाउनुपर्ने संवेदनशीलतामा मानिसहरु निकै अल्छी छन् । भ्युज बटुल्न अथवा त्यसमा प्रतिक्रिया बटुल्न मानिसहरुले आफ्नो वौद्धिकताको उपयोग गरिरहेका हुँदैनन् । उनीहरुले जस्तो सामग्री पनि सञ्जालमा हाल्ने गर्छन् ।

सामाजिक सञ्जालमा मानिसहरुले विभिन्न सन्दर्भलाई जोडेर आफ्ना विचार पोस्ट गर्छन् । तर जब त्यो कुरा अर्को व्यक्ति वा समूहलाई व्यंग्यात्मक लाग्छ तब त्यसले समस्या उत्पन्न गराउँछ । यो झमेलाबाट बच्ने तरिका भने सरल छ । पोस्ट गर्नुअघि आफैंलाई प्रश्न गर्ने । के यो विषय ठीक छ ? मैले पोस्ट गर्ने विषयका लागि के यो उपयुक्त माध्यम हो ?

केही भनाइहरु च्याटका लागि मात्रै उपयुक्त हुन्छन् । यसलाई ख्याल गर्दै पोस्ट गर्दा संवेदनशील हुन जरुरी छ । केही जिज्ञासा उठान गर्ने हो भने त्यसलाई ट्विटर वा फेसबुकमा राख्दा राम्रो हुन्छ ।

मनोरम दृश्य इन्स्टाग्राममा पोस्ट गर्दा उत्तम हुन्छ भने व्यक्तिगत विषय वा कडा राजनीतिक टिप्पणी निकटका वा विश्वसनीय मानिसहरुलाई इनबक्स गर्दा राम्रो हुन्छ । संवेदनशीलता अपनाउँदा त्यसबाट उत्पन्न हुन सक्ने सम्भावित झमेला वा खराब प्रतिक्रियाबाट बच्न सकिन्छ ।

३. जनमत परीक्षणको थलो नबनाउने

सामाजिक सञ्जाल लोकप्रियतावादका लागि मात्रै हो । यसले वास्तविक जनमतको प्रतिनिधित्व गर्न सक्दैन । सामाजिक सञ्जालबारे अध्ययन गर्ने संस्था पिउ अनुसन्धान केन्द्रले २३ प्रतिशत अमेरिकनले ट्विटर प्रयोग गर्ने र त्यहाँ सक्रिय २५ प्रतिशतले मात्रै ९७ प्रतिशत ट्वीट गरेको बताएको छ । ५ प्रतिशत अमेरिकन वयश्यकले मात्रै ट्वीट गर्ने अध्ययन केन्द्रको भनाइ छ ।

सामाजिक सञ्जालले आफ्नै समुदायको सेवा गर्ने हुनाले जनमतको आधिकारिक थलो यसलाई मान्न नहुने तर्क छ । यदि प्रयोग गरियो भने त्यसले गलत निष्कर्षमा पुर्‍याउने छ किनभने जनमतको परीक्षणका लागि यी सञ्जाल बनेका होइनन् ।

उदाहरणका लागि टिकटक सबैभन्दा बढी मनोरञ्जनात्मक छ भने ट्वीटर सबैभन्दा बढी चर्को छ । यिनीहरुमा वौद्धिक वा दयालु सामग्री हुने कुनै सुनिश्चितता छैन । प्रविधिका प्रयोगकर्तामा सबैभन्दा बढी नयाँ पुस्ता हुन्छन् ।

उनीहरुले पुराना पुस्ताका दृष्टिकोण वा अनुभव सुन्छन् भन्ने कुनै सुनिश्चतता हुँदैन । त्यसैले बाइडेन सामाजिक सञ्जालमा परीक्षण असफल भएपनि मतदानमा उनी सफल भए । सञ्जालको प्रयोग गर्दा तिनीहरुको सीमालाई ख्याल गरिनुपर्छ । तिनीहरुमा लोकप्रिय कुरा वा विषयले सिंगो मुलुककै प्रतिनिधित्व गर्न सक्दैन ।

४.  क्रोध वा प्रलोभनको प्रतिरोध

ट्विटरको चतुर कुरा के छ भने त्यहाँ अन्यायको सवालमा मानिसहरुले निकैनै आक्रोश पोखेका हुन्छन् । मानिसहरुलाई यो उपयुक्त थलोझैं लाग्छ । तर जब त्यहाँका क्रिया प्रतिक्रिया स्क्रोल गरिन्छ तब थाहा लाग्छ ट्विटर सोचेजस्तो रहेनछ ।

सन् २०२० मा भिडियो गेम स्ट्रिम गर्ने स्टेफेन फभलले यसको गतिलो उदाहरण दिएका छन् । उनले भनेका छन्, ‘अधिकांश सामाजिक सञ्जाल क्रोधले भरिएका हुन्छन् । त्यहाँ ठ्याक्कै उल्टो स्थिति हाबी हुन्छ । यसको पछि कारण छ । कारण भनेको क्रोधको यात्रा हो। ‘

सन् २०३२ मा क्याम्ब्रिज विश्वविद्यालयले गरेको अनुसन्धानले एक व्यक्तिले वैचारिक रुपमा समान व्यक्तिबारे गरेको ट्वीटभन्दा त्यसको विरोधीबारे गरेको ट्वीट सबैभन्दा बढी रिट्वीट भएको थियो ।

यस्तै, सहमतिभन्दा असहमतिनै बढी भाइरल भएको पाइयो । यो अध्ययनले के देखाउँछ भने विरोधीहरुको विषयमा निकै आक्रामक प्रहार हुन्छ भने त्यस्ता गतिविधि दोहोरिएकामात्रै हुँदैनन्  प्रोत्साहन पनि हुन्छ ।

नकरात्क कुराहरु धेरैनै भाइरल हुँदा यसले मानसिक स्वास्थ्य तथा नागरिक समाजको बहसलाई नै असर पुर्‍याएको छ । अनुसन्धानकर्ता ड्रिक थोमसन भन्छन्, ‘सबै बखत अपमानजनक हुँदा आवश्यकताको बखत कसैले पनि विरोध जनाउन सक्दैन ।’

५. तीखा प्रहार निरुत्साहित गर्ने

सन् २०२० मा पिटर विन्डवर्ग ट्वीटरमा ट्रेन्डिङमा आए । यस्तै अन्य माध्यममा पनि उनलाई अपरिचित व्यक्तिहरुले धम्कीपूर्ण चेतावनी दिँदै पोस्ट गरे । यतिसम्म गरियो कि ४९ वर्षीय उनको घरको ठेगानामा सामाजिक सञ्जालमा पोस्ट गरियो । यसको कारण के  थियो भने जर्ज फ्लोएडको समर्थनमा पोस्टर टाँस्दै हिँडेकी युवतीमाथि र्दुव्यवाहार भएको दृश्यमा उनीझै देखिने मानिस पनि कैद थिए ।

त्यस घटनामा पिटरको कुनै पनि संलग्नता थिएन ।  युवतीमाथि दुर्व्यवहार भएको भोलिपल्ट मात्रै घटनास्थल नजिकै विनवर्ग पुगेका थिए । तर उनीमाथि सामाजिक सञ्जाल प्रयोगकर्ताको भीडले निकै आक्रमण गर्‍यो । उनीमाथै नभएर मेरिल्याण्डका पूर्व प्रहरी पनि यस्तै आक्रमणको शिकार भए । उनीमाथि आरोप लगाएर गरिएको ट्वीट ५ लाख पटक रिट्वीट भएको थियो ।

सामाजिक सञ्जालका आक्रोशित जमात निकै घातक हुन्छन् । त्यसैले यस्ता गतिविधिमा सामेल नै नहुनु उत्तम हुनेछ । अझै चीनजानै नभएको व्यक्तिमाथिका टीकाटिप्पणीमा सामेल नहुनुनै सबैभन्दा राम्रो विकल्प हो । आफ्नाबारेमा यस्तै अफवाह नफैलियोस् वा मानहानी नहोस् भन्ने चाहने हो भने अरुका विषयमा भएका उस्तै कुरामा आफू सामेल हुनुहुँदैन ।

 ६.आफ्नो बाटोको छनौट

यदि ठूलै जमातले केही विषयबारे बोलिरहेको छ भने त्यसप्रति धारणा राख्न चाहने कुरा प्राकृतिक र स्वभाविक हो । सामाजिक सञ्जालले हामीले नजानेकै कुरामा टीकाटिप्पणीका लागि हौस्याउँछ ।

केही मानिसहरु यस्ता गतिविधिबाट टाढै रहेर नातीनातिना वा आफूले पालेका जनावर र आफ्ना गतिविधिका बारेमा जानकारी दिने पोस्ट राख्छन् ।

बहुसंख्यक मानिस भने टीकाटिप्पणीमा उत्रिन्छन् । नजानेको विषयमा गरिने टीकाटिप्पणीले कालान्तरमा समस्या निम्त्याउँछ । हाम्रो विज्ञताभन्दा बाहिरको क्षेत्रमा गएर टीकाटिप्पणी गर्नुहुँदैन । किनभने ट्विटरजस्ता माध्यमा माफी दर्शाउनका लागि बनेका होइनन् । यो थलो वैचारिक बहसका लागि बनेको हो । जहाँ कसैले एउटा विषयमा धराप थापेको हुन्छ र विज्ञता भन्दा बाहिरै रहेर टिप्पणी गर्दा आक्रमणमा पर्ने संभावना बढी हुन्छ ।

यहुदी विद्वान रब्बिले भन्थे, ‘मैले मेरो जीवनका अधिकांश समय धर्मगुरुहरुसँग बिताएँ । मैले थाहाँ पाएकी अनभिज्ञ विषयमा मानिसका लागि मौनता बाहेकको उत्तम विकल्प केही छैन ।’ उनको यो नीति समाजिक सञ्जाल प्रयोगकर्ताको लागि निकै उत्तम हुन्छ ।

७. आक्रोश ओकल्नुअघि अध्ययन

अधिकांश समयमा हामी हेडलाइन हेरेरै आक्रोशित हुन्छौं । कुनैपनि आलेख वा समाचारको आंशिक विषय मात्रैबाट हामी धारणा बनाइरहेका हुन्छौं । त्यो विषयको सान्दर्भिकता वा त्यसको अर्थ हामी खोतल्दैनौं किनभने सत्य खोतल्ने समय खर्चिनुभन्दा असत्यलाई नै फैलाउन हामी उद्दत हुन्छौं ।

अधिकांश सामाजिक सञ्जाल प्रयोगकर्ताहरु आफूले जान्दै नजानेको विषयमा निर्णय दिइहाल्छन् । यसले सार्वजनिक बहसलाई निकैनै प्रदूषित बनाएको छ ।

गाता हेरेर पुस्तकबारे निर्णय लिन नसक्ने कुरा हामीले सानैदेखि पढ्दै आएका हौं । यसलाई नै ख्याल राखेर हेडलाइन वा आंशिक विषयमात्रै पढेर त्यसलाई शेयर गर्न वा त्यसप्रति आक्रोश ओकल्न हतारिनु हुँदैन ।

जान्दै नजानेको विषयमा प्रतिक्रिया दिनु भनेको वौद्धिक विद्रुपता हो । यस्ता गतिविधिले मानिसले आफ्नो प्रतिष्ठाको वजन घटाइरहेको हुन्छ भने सामाजिक सञ्जाललाई कुरुप पनि बनाउँछ । यस्ता बहस कसैले पनि जित्दैन र यस्ता गतिविधिले कसैलाई पनि वौद्धिक कहल्याउँदैन । यस्ता अभ्यासलाई निरुत्साहित गर्नुपर्छ ।

  • एजेन्सीहरुको सहयोगमा



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै सरकारी निकाय र स्थानीय तहमा कार्यरत कर्मचारीको उपस्थितिको अभिलेख व्यवस्थापनका लागि विद्युतीय हाजिरी

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भ्रामक सूचना सम्प्रेषण नगर्न सबैमा आग्रह गरेको छ। पछिल्लो समय विभिन्न अनलाइन मिडिया तथा

काठमाडौँ– राष्ट्रिय पञ्जीकरणका सूचना नागरिक एपमा एकीकरण गर्ने प्रक्रिया अघि बढाइएको छ। जन्म दर्ता, विवाह दर्ता, सम्बन्धबिच्छेद दर्तालगायतका पञ्जीकरणका सूचना एकीकृत

काठमाडौँ — नेपालको दूरसञ्चार क्षेत्रमा सेवा गुणस्तरबारे लामो समयदेखि उठ्दै आएका गुनासाहरूका बीच नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) मा