"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रधानमन्त्रीको उत्तर : भ्रष्टाचार अनुसन्धानको छानबिनमा जोसुकैको नाम आए पनि रोकिन्न

प्रकाशित मिति :  29 August, 2023 5:26 pm


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचारको अनुसन्धानका क्रममा जोसुकैको नाम आए पनि छानबिन गर्न प्रहरी प्रशासनलाई निर्देशन दिएको बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रधानमन्त्री दाहालले आफ्नो पार्टीका नेताहरूलाई बचाउन नलागेको बताएका छन् ।

‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ का क्रममा प्रधानमन्त्री दाहाललाई राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम साहले विभिन्न पार्टीका नेताहरूलाई ‘साइज’मा राख्ने काम भइरहेको आरोप लगाएका थिए । उनले भनेका थिए, ‘नक्कली भुटानी शरणार्थीको फाइल खोलेर कांग्रेसलाई साइजमा राख्नुभयो । ललिता निवासमार्फत एकीकृत समाजवादीलाई साइजमा राख्नुभयो । गौर हत्याकाण्डमार्फत जसपालाई । अब गिरीबन्धुमार्फत नेकपा एमालेलाई साइजमा राख्न ट्राई गर्दै हुनुहुन्छ । आफ्नो कुर्सी बचाउन दाउपेच गरेर कामले जनताको मन जितेर कुर्सीको आयु लामो बनाउन सकिँदैनथ्यो ?’ साहको प्रश्न थियो ।

जवाफमा प्रधानमन्त्री दाहालले आफ्नो नेतृत्वको सरकारले सुरुदेखि नै सामाजिक न्याय, सुशासन सुनिश्चितता र सार्वजनिक सेवा प्रवाहलाई प्राथमिकतामा राखेर काम गर्दै आएको बताए । सरकार टिकाउनका लागि भ्रष्टाचारका फाइल नखोजेको पनि दाहालको भनाइ थियो । ‘सरकारका यी काम कुनै कुर्सी टिकाउनका लागि होइन । बरु देश र जनतामा राजनीतिक प्रणाली प्रति नै वितृष्णा छाएको, केही हुन्न, सबै उस्तै हुन् भन्ने निराशावादी भाष्य निर्माण गर्न खोजिएको परिस्थितिलाई चिर्न र सरकारले एकपछि अर्को राम्रो काम गर्दै आएको कुरा स्थापित गर्न पनि गरिएको छ,’ उनले भने, ‘भुटानी शरणार्थी प्रकरणलगायतका सबै घटनामा राज्यले दबाबरहित ढंगले निष्पक्ष छानबिन अघी बढाएकै कारण अहिले जनतामा सुशासन सम्भव छ भन्ने एउटा नयाँ आशा पलाएको हो ।’

प्रधानमन्त्री दाहालले सरकार भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति लिएर अघि बढेको बताए । ‘वर्तमान सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीतिलाई राज्यका तीनै तहमा कडाइका साथ कार्यान्वयन गर्दै आएको छ । कसैललाई पनि बचाउने या कसैलाई पनि अप्ठ्यारोमा पार्ने नीयतले कुनै पनि काम गरिएको छैन । जसरी कतिपय सन्दर्भमा मिडियामा आउने गरेको भन्दा ठिक विपरीत मैले दोषी कोही पनि नछुटोस्, निर्दोष कोही पनि नपरोस् भन्ने सिद्धान्तअनुसार नै प्रहरी प्रशासन लाई निर्देशन दिएको छु,’ उनले भने, ‘यदि अनुसन्धानको क्रममा प्रधानमन्त्री नै आउँछ भने छोड्न आवश्यक छैन । मेरो पार्टीको कुनै नेताको त के कुरा भन्ने कुरा सार्वजनिक रूपमा भन्दै आएको जानकारी गराउन चाहन्छु ।’

सबै भ्रष्टाचार प्रकरणमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री दाहालले बताए । ‘सबै किसिमका भ्रष्टाचारलाई तथ्य र प्रमाणका आधारमा दोषीलाई कारबाहीको दायरामा ल्याउनका लागि सरकार प्रतिबद्ध छ । भ्रष्टाचारको मामिलामा यो आफ्नो, यो पराइ भनेर सरकारले कसैलाई विभेद गरेको छैन र गर्ने पनि छैन । कानुनी समानताको सिद्धान्तलाई सरकारले पूर्णतः आत्मसाथ गरेको छ र गरिरहने छ,’ उनले भने ।

प्रधानमन्त्री दाहालले राष्ट्रिय मुद्दामा सबै राजनीतिक दलहरू एकताबद्ध हुनुपर्ने पनि आग्रह गरेका थिए । उनले राष्ट्रिय मुद्दामा विचार फरक भएका दलहरू भएपनि एकताबद्ध भएर जानुपर्ने धारणा राखेका थिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी गरेका छन् । अध्यादेश अनुसार, विभिन्न १

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले तीनवटा अध्यादेश जारी गरेका छन्। उनले शनिबार एकैपटक तीनवटा अध्यादेश जारी गरेका हुन्। राष्ट्रपति पौडेलले स्वास्थ्य विज्ञान

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश जारी गरेका छन्। सरकारबाट सिफारिस भएकामध्ये उनले तेस्रो अध्यादेश जारी गरेका हुन्। राष्ट्रपति पौडेलले

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश र सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन् । उनले सरकारले सिफारिस गरेका ६ मध्ये यी दुई