टी-२० विश्वकप छनोट हुने नेपालको एकमात्र लक्ष्य, टोलीको घोषणा
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपमा छनोट हुनु नै आफूहरूको एकमात्र लक्ष्य रहेको बताएका छन्। आइतबार कीर्तिपुरमा आयोजित पत्रकार सम्मेलनमना उनले पछिल्लो ६ महिना ब्याटिङ राम्रो भएकाले नेपाली टोली आत्मविश्वासी रहेको बताए।
नेपाल सन् २०१४ को विश्वकपमा छनोट भए यता टी-२० विश्वकपमा छनोट हुन सकेको छैन। पछिल्ला तीन छनोट प्रतियोगितालाई बर्सिएर अहिलेको छनोटमा केन्द्रित हुने कप्तान पौडेलले बताए। आइसीसी टी-२० विश्वकप अन्तर्गत एसिया क्षेत्र छनोट खेलका लागि नेपाली टिमको घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले टि-२० विश्वकप छनोट खेल्ने १५ सदस्यीय नेपाली टिम घोषणा गरेको हो।
रोहित पौडेलको कप्तानीमा रहने नेपाली टिममा कुशल भूर्तेल, आशिफ शेख, कुशल मल्ल, दिपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुल्शन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, प्रतिश जिसी, विवेक यादव, सन्दीप लामिछाने, ललित राजवंशी र विनोद भण्डारी छन्। सन्दीप लामिछानेले विश्वकप छनोटको तयारी स्वरूप खेलिएको त्रिदेशीय टी-२० सिरिज नखेलेपनि विश्वकप छनोट खेल भने खेल्ने भएका छन्।
विश्वकप क्रिकेटको एसिया छनोट खेल कात्तिक १३ गतेदेखि कीर्तिपुर र मुलपानीमा हुनेछ। ८ देश सहभागी हुने खेलमा २ समूह बनाइएको छ। नेपाल समूह ‘ए’ मा छ। नेपालको समूहमा मलेसिया, ओमन र सिंगापुर छ। समूह ए का सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछ। समूह ‘बी’ मा बहराइन, हङकङ, कुवेत र युएई छ। समूह बीका सबै खेल मूलपानी क्रिकेट मैदानमा हुनेछ।
शीर्ष दुई टिम अर्को वर्ष हुने टी-२० विश्वकपमा छनोट हुनेछ । नेपालले पहिलो खेल सिंगापुरसँग सोमबार खेल्नेछ।













