"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्रसंघमा नेपालसहित १४१ मुलुक उभिए युक्रेनको पक्षमा

प्रकाशित मिति :  3 March, 2022 12:33 pm


एजेन्सी (वीवीसि)। संयुक्त राष्ट्रसंघमा नेपालसहित १४१ मुलुक रूसले आक्रमण गरेको युक्रेनका पक्षमा उभिएका छन्।

संयुक्त राष्ट्रसंघको महासभाले बुधबार युक्रेनमाथि रूसी आक्रमणको भर्त्सना गर्दै लडाइँ रोक्न र आफ्ना सैनिक फिर्ता गर्न रूससँग माग गर्दै प्रस्ताव पारित गरेको छ।

नेपालले उक्त प्रस्तावका पक्षमा मतदान गरेको छ। यसअघि गत सोमबार जेनेभामा भएको राष्ट्र संघीय मानव अधिकार परिषदमा पनि नेपालले युक्रेनका विषयमा आपतकालीन छलफल हुनुपर्ने पक्षमा मत हालेको थियो।

बुधबार राति भएको महासभाको मतदानमा चीन र भारत भने अनुपस्थित रहेको समाचार संस्था रोयटर्सले जनाएको छ। गत बिहीबार रूसले युक्रेनमाथि आक्रमण गरेको थियो।

सुरूदेखि नै यी दुई मुलुकले आक्रमणको विरोध गरेका छैनन्। मानव अधिकार काउन्सिलको मतदानमा त चीनले रूसको पक्षमा मत हालेको थियो। बुधबारको मतदानमा भारत र चीनसहित ३५ मुलुक अनुपस्थित भएका थिए।

रूसका पक्षमा भने पाँच भोट आएको थियो। उत्तर कोरिया, सिरिया, बेलारूस र इरिट्रियाले रूससँगै मिलेर विपक्षमा भोट हालेका थिए। महासभाले पारित गरेको प्रस्ताव बाध्यकारी नहुने भए पनि यसले कूटनीतिक रूपमा रूसलाई विश्वमा एक्ल्याएको छ।

नेपाल सुरूदेखि नै युक्रेनमाथि भएको रूसी आक्रमणको विरोधमा छ। सार्वजनिक रूपमै नेपालले आफूलाई युक्रेनको पक्षमा उभ्याएको यो चौंथो पटक हो। रूसले युक्रेनमाथि आक्रमण गरेको पहिलो दिन नै परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेको थियो।

उक्त विज्ञप्तिमार्फत् नेपालले युक्रेनमाथि रूसले गरेको आक्रमण संयुक्त राष्ट्रसंघको बडापत्रविपरीत भएको बताएको थियो।

‘संयुक्त राष्ट्रसंघको सदस्य हुनुका नाताले नेपाल संयुक्त राष्ट्रसंघको बडापत्रमा उल्लेख भएबमोजिम कुनै पनि मुलुकको सार्वभौमिकता र अखण्डताको पूर्ण सम्मान गर्नुपर्छ भन्ने ठान्छ,’ विज्ञप्तिमा भनिएको थियो, ‘कुनै पनि सार्वभौम मुलुकविरूद्ध कुनै पनि परिस्थितिमा शक्तिको प्रयोग गर्ने कुराको नेपाल विरोध गर्छ र कूटनीति र वार्तामार्फत् विवादको शान्तिपूर्ण समाधान गर्न सकिने विश्वास गर्छ।’ नेपालले संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषदमा पनि युक्रेनको पक्षमा भोट हालेको छ।

सोमबार जेनेभामा भएको परिषदको बैठकमा राष्ट्रसंघका लागि युक्रेनका राजदूतले रूसी आक्रमणबारे आपतकालीन छलफल गर्नुपर्ने प्रस्ताव गरेका थिए। परिषद सदस्य रहेको रूसका प्रतिनिधिले भने यस्तो छलफल जरूरी नरहेको बताएका थिए। विवाद भएपछि प्रस्तावमाथि मतदान भएको थियो।

मतदानका क्रममा नेपालले युक्रेनको प्रस्तावमाथि छलफल हुनु पर्ने पक्षमा भोट दिएको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — नेपाल सरकारले अवस्था सामान्य नहुँदासम्म नेपाली नागरिकहरूलाई इजरायल र इरानको यात्रा नगर्न आह्वान गरेको छ । परराष्ट्र मन्त्रालयले

काठमाडौँ- ब‌गलादेशका नवनिर्वाचित प्रधानमन्त्री तारिक रहमानले नेपालमा हुन गइरहेको संसदीय निर्वाचन सफलताका लागि शुभकामना व्यक्त गरेका छन्। सपथग्रहण कार्यक्रममा सहभागी हुन

काठमाडौँ — आइतबार भएको जापानको तल्लो सदनको निर्वाचनबाट प्रधानमन्त्री सानाए ताकाइचीको लिबरल डेमोक्रेटिक पार्टी(एलडिपी) ले ऐतिहासिक विजय हासिल गरेको छ।

काठमाडौँ — महाराष्ट्रका उपमुख्यमन्त्री अजीत पवारको विमान दुर्घटनामा परी मृत्यु भएको छ । बारामतीमा उनी सवार विमान दुर्घटनामा परेको छ