"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

जाजरकोट भूकम्पको पुनर्निर्माणका लागि सहयोगको आह्वान

प्रकाशित मिति :  13 November, 2023 9:32 pm


काठमाडौँ । सरकारले भूकम्पको पुनर्स्थापना तथा पुनर्निर्माणका लागि १० अर्ब रुपैयाँ छुट्टाउने निर्णय गर्दै अन्तर्राष्ट्रिय संघ संस्थाहरूलाई पनि सहयोग आह्वान गरेको छ । मन्त्रिपरिषद्को आइतबार भएको बैठकले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि छुट्टाएको ८ अर्ब २५ करोड रुपैयाँ पनि भूकम्प पुनर्निर्माण कोषमा सार्ने निर्णय गरेको हो ।

त्यसैगरी भूकम्पपछिको पुनर्निर्माणका लागि प्रारम्भिक अनुमानभन्दा निकै बढी स्रोत आवश्यक पर्ने देखिएकाले विपद् व्यवस्थापन कोषमा सहयोग उपलब्ध गराउन व्यक्ति, संघसंस्थाका साथै मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय संघसंस्थालाई आह्वान गर्ने समेत सरकारले निर्णय गरेको छ ।

‘चालु आर्थिक वर्ष २०८०/८१ का लागि संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि छुट्याइएको ८ अर्ब २५ करोड हाललाई भूकम्पपछिको पुनर्स्थापना र पुनर्निर्माणमा खर्च गर्ने गरी विपद् व्यवस्थापन कोषमा सार्ने र थप रु. १ अर्ब ७५ करोडसमेत सो कोषमा थप गरी जम्मा रु. १० अर्ब विपद् व्यवस्थापनका लागि उपलब्ध गराउने व्यवस्था अर्थ मन्त्रालयले मिलाउने’ निर्णयमा भनिएको छ ।

सरकारले जाजरकोट भूकम्प प्रभावितहरुको अस्थायी आवास निर्माणका लागि स्थानीय तहमार्फत् आर्थिक सहयोग गर्ने भएको छ । मन्त्रिपरिषदको निर्णयले प्रभावित व्यक्तिहरुलाई तत्काल अस्थायी आवास निर्माणका लागि उपलब्ध गराउने ५० हजार रुपैयाँ विपद व्यवस्थापन कोषबाट स्थानीय तहमा पठाउने निर्णय गरेको हो ।

‘भूकम्पका कारण आवासको पूर्ण क्षति भएका र आंशिक क्षति भए तापनि बसोबास गर्न योग्य नरहेका घरपरिवारलाई अस्थायी आवास निर्माणका लागि दुई किस्तामा गरी प्रति परिवार रु. ५०,००० उपलब्ध गराउने । यस्तो रकम विपद् व्यवस्थापन कोषबाट सम्बन्धित स्थानीय तहमा पठाउने र स्थानीय तहले परिवारको स्वघोषणा र सम्बन्धित वडाको सिफारिसमा लाभग्राहीको बैंक खातामा सीधै उपलब्ध गराउने । अनुदान रकम उपलब्ध गराउने कार्यविधि विपद् व्यवस्थापन कार्यकारी समितिले निर्धारण गरेबमोजिम हुने,’ मन्त्रिपरिषदको निर्णयमा भनिएको छ, ‘सहरी विकास मन्त्रालयले अस्थायी आवास निर्माणका लागि सम्बन्धित स्थानीय तहका प्राविधिकमार्फत् प्राविधिक सहयोग उपलब्ध गराउने ।’

कात्तिक १७ गते राति ६.४ म्याग्निच्युडको भूकम्प जाँदा १३ जिल्लाका ३५ हजार भन्दा घरमा क्षति पुगेको छ । सरकारले अस्थायी अवास निर्माणका लागि प्रति परिवार ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो । संघीय सरकारले संघ र स्थानीय तहसँग समन्वय गरी आवश्यकताअनुसार जनशक्ति उपलब्ध गराउन तथा अस्थायी आवास निर्माण र प्राविधिक परिचालनको अनुगमन गर्न प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय समेत गरेको छ ।

त्यसैगरी अस्थायी आवास निर्माण लगायतका कार्यमा आवश्यक समझदारी कायम गर्न तथा सहयोग र समन्वय गर्न स्थानीय तह र वडामा निर्वाचित जनप्रतिनिधिको संयोजकत्वमा सम्बन्धित स्थानीय तह र वडामा क्रियाशील राजनीतिक दलका प्रतिनिधि सम्मिलित सर्वदलीय संयन्त्र निर्माण गरी परिचालन गर्ने, भूकम्पबाट प्रभावित क्षेत्रका स्थानीय प्रशासन र सुरक्षा निकायले तत्काल खोज, उद्धार र राहतका लागि उक्त निकायले उपलब्ध बजेटबाट गरेको इन्धन खर्चबापतको रकम अर्थ मन्त्रालयले सम्बन्धित निकायलाई तत्काल उपलब्ध गराउने निर्णय गरेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारले रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय

काठमाडौँ– प्रतिनिधिसभाको बैठकले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।सभामुख डोलप्रसाद अर्यालले

काठमाडौँ- सरकारले पूर्वगृहमन्त्री एवं प्रतिनिधिसभा सदस्य सुधन गुरुङसम्बन्धी अध्ययन तथा छानबिन समितिले बुझाएको प्रतिवेदन ग्रहण गरेको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं – प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध कायमै राखेका छन् । केहीबेर अघि सुरु भएको बैठकमा विपक्षी दलका सबै सांसदहरू