ईश्वरको श्राप !

लेकै है फूल्यो लालीगुराँस खुशीमा भयो माथि हिमाल ।
यो दुःखिको कर्मै यस्तो भएन यो मन कैलेई शित्तल ।।
आहा… लासो …. ।
चेर्दुङ्गको पाखा पखेरामा यसरी गीत गाउन थालेको झण्डै साठी वर्ष बित्यो क्यार । गीत गाएको उमेर मात्रै थाहा छ फुर्बालाई। उसलाई आफ्नो जन्म मिति थाहा छैन । जन्मिएको ठाँउ थाहा छैन । जन्माउने बाआमाको नाम पनि थाहा छैन । अहँ आफ्नो पारिवारिक मामिला केही पनि थाहा छैन उसलाई।
उसलाई, मात्र चेर्दुङ्ग वरिपरिको गाउँको नाउँ थाहा छ । त्यो गाउँको एक दुई जनाको नाउँ थाहा छ । त्यो बाहेक अहँ अरु केही थाहा छैन उसलाई । यो दुनियाँ बारे केही पनि थाहा पाउने चाह छैन उसलाई। सायद संसार प्रतिको मोह भंग भएर पो हो कि ?
चेर्दुङ्गको चुचुरोमा एउटा सानो मन्दिर थियो । ऊ प्रायजसो हरेक दिन त्यहाँ जान्थ्यो र उत्तर दिशामा रहेको गौरी शंकर हिमश्रृङ्खलालाई एकोहोरो हेर्न थाल्थ्यो । जैले हेरेपनि । जस्ले हेरेपनि । जहाँबाट हेरेपनि । यो गौरी हिमाल कहिल्यै कालो देखिँदैन । यसरी सधैंभरि कसरी सेतो भैरहन सकेको होला यो ? हरेक वर्षको हिउँदमा रुखका पातहरू ओइलाउँछन्, झर्छन् र मर्छन् । हरिया पहाडहरू फुस्रा र उराठलाग्दो हुन्छन् । जता जे हेरेपनि सबै रुन्चे र विरक्त लाग्दा देखिन्छन् । तर यो हिमाल जहिल्यै जवान देखिन्छ । मध्यदिनको सूर्यको कान्ति झै धपक्क बलेको देखिन्छ । सूर्यमुखी फूलझैँ हरपल हाँसेको देखिन्छ । अहो ! कस्तो भाग्यमानी यो गौरी हिमाल । जसको भाग्यमा हाँसो नै हाँसोको खानी रैछ । सायद ईश्वरको वरदान पाएको हुनुपर्छ यसले ।
ईश्वरको बरदान पाउनेले मात्रै सधैं सुख पाउँछरे । श्राप पाउनेले चाहिँ सधैं दुःख । हाय दैव ! यो कस्तो नियति तिम्रो ! आँखाभरि आँशु पारी हरेक दिन माथि आकाशतिर हेर्थ्यो ऊ । उसले कतै सुनेको थियो, मरेका मानिस माथि आकाशमा हुन्छन् रे ताराको रूपमा । त्यसैले हरेक साँझ माथि आकाशका ताराहरू हेरेर निक्कै टोलाउँथ्यो ऊ । सकेसम्म सबै ताराहरुलाई बोलाउने प्रयत्न गर्थ्यो तर सक्दैनथ्यो । दुई चार ताराहरूलाई बोलाउँदा बोलाउँदै अचानक थाक्थ्यो ऊ । उसलाई निक्कै भरोसा थियो । ताकि ताराको रूपमा रहेका मेरा बाआमाले मलाई अवस्य चिन्नेछन् र बोलाउने छन् भनेर । दुर्भाग्य उसको भरोसा हरेक दिन टुट्दै गयो ।
उसको मालिक भन्थ्यो, तँलाई यहीँ कालो भिरको खोंचमा भेटेको हुँ । सालनाल सहित एउटा सानो टोकरीमा । अहो ! यो के देख्नु परेको मैले । अब त साँच्चै मानवता भन्ने चिज नै रहेनछ मान्छेमा । यस्तो निन्दनीय हरकत त पशु प्राणीले पनि गर्न सक्दैनन् । मोज गर्ने बेला को को नाठोसंग सल्क्यो , क कस्को बीउ बोक्यो । पापीहरु ! यस्ता नाथेहरु त ढुङ्गा भै जन्मे हुनेनी । आफ्नो रगतको पनि माया नहुने, उफ् ! यो के जमाना आएको ? यस्तै यस्तै सोच्दै तँलाई उठाएर काखी च्यपे मैले ।
मालिक मरेको पनि चालीस वर्ष भो आज । मर्ने बेला मालिकले भनेको थ्यो- फुर्बा यी सबै चौरी गाई तेरा भए अब । बेचौ भनेको अहँ बेच्नै मन लागेन । तँ एक्लै हुन्छस् भन्ने पीर पर्यो मलाई । अबदेखि यिनीहरू तेरो साथी भए । यिनको राम्रो ख्याल गरे है । तैंले माया गरे यिनले पनि तँलाई माया गर्छन् । तँलाई थाहा छ ? मान्छेले साथ छोड्छ तर यिनले कहिल्यै छोड्दैनन् । साह्रै निठुरी हुन्छन् मान्छेहरू ।
निक्कै राम्री जहान थिइन् रे मालिकको । खै के जाती निहुँमा झगडा गरेर हिँडिन् रे ती । त्यसपछि कहिल्यै फर्की आइनन् रे । मालिकलाई सधैं सधैंलाई एक्लो बनाएर गइन् रे । यो माया प्रीति र वाचा बन्धन भन्नु पनि व्यर्थ रैछ । यो चञ्चल मन हुनेहरूको अहँ केही भर हुन्न रैछ । दुःखको महासागर पो रैछ यो मन । मनलाई धेरै चलाउँछ मान्छे । मनलाई धेरै चलाएरै त दुःखले कहिल्यै नछोडेको हामीलाई । फुर्बा, भो यो मन चलाइरने मान्छेको संगत नगर तँ पनि । बरु यो पाखा पखेरालाई साथी बना । यी रुखबुट्यान अनि चरा चुरुङ्गीलाई साथी बना । यिनलाई साथी बनाउन सके त्यति साह्रो चल्दैन यो मन । शान्त मनलाई कुनै दुःख बीमार आइपर्दैन । कुनै दुःखको ताकत छैन यसलाई हल्लाउन । आँखाभरि आँशु बनाई मालिकले दिएको अन्तिम अर्तीहरु सम्झ्यो उसले ।
अब त बूढो भए मै पनि । बूढो भएपछि त आफ्नै ज्यानले पनि हेप्दो रैछ । दुःखबाट सुरु भएको जिन्दगी दुःखमै गएर अन्त्य हुँदो रैछ । यै दुःख भोग्न त जन्मिएको रैछ यो ज्यान । सुख भोग्ने भाग्य परेको भए त तारा भै जन्मन पाइन्थ्यो होला ! सधैं सधैं यो ठूलो आकाशमा चम्कन पाइन्थ्यो होला ! तर के गर्नु ! ईश्वरको श्राप लागेपछि दुःख भोग्नै पर्ने रैछ । कर्मको फल त कहाँ फ्याक्न सकिन्छ र ?
उसले आफ्नो गोठाले दिनहरू सम्झ्यो । ती दिनमा मिठो खाजा बनाई ल्याइदिने सोल्टिनी सम्झ्यो । उनको मुहार अनी जिउडाल सम्झ्यो । उनले बोलेका तिता मीठा शब्दहरू सम्झ्यो । उनीसँग घामपानीमा रुझेको दिनहर सम्झ्यो । निक्कै माया गरी उनले फूर्बु भनी बोलाएको दिन सम्झ्यो । फुर्बु ! मलाई तेरो धेरै माया लाग्छ । माया नमारे है भनी लालीगुराँस टिपेर शिरमा सिउरिदिएको दिन पनि सम्झ्यो । मरेपछि यी सम्झनाहरु आफूसँगै लिएर जान पाए पनि त हुने । साँच्चै नै यी सम्झनाहरु लिएर जान पाईन्छ कि पाइन्न होला ? अचानक भक्कानिएर रोयो ऊ ।
अन्तमा उसले सम्झ्यो , मेरी सोल्टिनिले मलाई किन केही नभनी यो धरती छोडेर गै ! कस्तो नियति यो दुनियाँको । अशल मान्छेहरू अकालमै मर्छन् खराब चाहिँ युगौं युग बाँच्छन् । हरे !
मेरा बाआमाले नबोलाए पनि यिनले त बोलाउनु पर्ने नी मलाई । बाआमाले पो माया गरेनन् त । यिनले त यो आकाश जतिनै माया गरेकी थिइन त मलाई । के यतिविघ्न माया गर्ने मान्छे पनि यसरी भयानक निष्ठुरी हुन सक्छन् र ! कस्तो अकल्पनीय दुनियाँ यो । जे जसलाई हामी आफ्नो भन्छौ त्यो कहिल्यै आफ्नो हुन्न रैछ । जे जसलाई पराई भन्छौ, त्यो नै अन्तमा आफ्नो भएर उदाउँदो रैछ । आखिर हेला गर्नु केलाई छ र ?
आ…! कस्तो यो मन पनि, जति बूढो शरीर त्यति नै कुरा खेल्छ भन्या ।
दुःखीको मनमा सधैं दुःख सुखीको मनमा के हुन्छ ?
दुःखमै बित्यो यो जुनी, लौ अर्को जुनी के हुन्छ …… ?
आहा… लासो… ।
अन्तिम भाका गाउँदै तल बजारतिर आँखा घुमाउँछ फुर्बा ।