लामिछानेको नेतृत्वमा रास्वपाको नारायणगढ–बुटवल दबाब यात्रा
नवलपुर । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको नारायणगढ–बुटवल खण्ड विस्तारमा ढिलाइ भएको भन्दै ध्यानाकर्षण गराउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दबाब यात्रा शुरु गरेको छ । पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा आज सोमवार नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा रहेको भृकुटीचोकबाट दबाबमूलक पदयात्राको शुरुवात भएको हो ।
दबाब यात्रा शुरु हुनु अगाडि आयोजित पत्रकार सम्मेलनमा सभापति लामिछानेले निर्धारित समयमा सडक विस्तार नहुँदा स्थानीयलाई समस्या परेको भन्दै सडक चाँडो निर्माण गराउन दबाब दिन यात्रा शुरु गरेको बताए। ‘यो बाटो बनेको छैन, विकास आयोजना नबन्दा स्थानीयवासी, यात्रु, व्यवसायीदेखि सबैले कष्टपूर्ण जीवन भोग्नुपरेको छ’, उनेले भने, ‘यसलाई लिएर नीति निर्माण तहमा पनि कुरा हुन्छ ।’
बन्द कोठाभित्र बसेर नीति निर्माण गर्नु र फिल्डमा आएर स्थानीयले भोगेको समस्या एकछिन मात्रै भोग्दा पनि उनीहरूको पीडाको बारेमा बोध हुने लामिछानेले बताए । ‘आमसर्वसाधारण सधैँभरि हिँडेका छन्, दौडेका छन्, धुलो बाटोमा गाडी चलाएका छन्, धुलाम्मे भएका छन्, हिलाम्मे भएका छन्’ उनले भने, ‘तर हामी नीति निर्माताले पनि सबैतिरबाट दबाब दिनुपर्ने भएकाले यात्रामा हिँडेका हौँ ।’
दुई पटक म्याद थप गर्दासमेत समयमा सडक विस्तारको काम नसकिने देखिएपछि यसलाई अझ बढी सार्वजनिक चासोमा ल्याउन र यसको महत्त्वबारे सबैलाई जानकारी गराउन यो यात्रा जरुरी रहेको उनले बताए । समयमै विकास आयोजनाका काम सम्पन्न गराउनका लागि दबाब सृजना गरिएका विभिन्न कार्यक्रममध्येको एउटा कार्यक्रमका रूपमा दबाब यात्रालाई लिएको उनले बताए ।
सभापति लामिछानेले पैदल यात्रा गरेर तीन दिनमा बुटवल पुग्ने तयारीमा रहेको भन्दै आफ्नो यात्रामा कुनै पनि स्वागत सत्कार नगर्न आग्रह गरे । नागरिकको भोगाइ थाहा पाउन र चाँडो सडक विस्तारको काम सम्पन्न गर्नका लागि मात्रै यात्रामा निस्किएको उनले बताए ।













