"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कानुन मन्त्रालयमा १०९ वटा विधेयकको प्रारम्भिक मस्यौदा

प्रकाशित मिति :  19 January, 2024 11:02 pm


काठमाडौं । संघीयता कार्यान्वयन र सरकारको नीति तथा कार्यक्रम अनुसार कानुन बनाउन १०९ वटा विधेयकको प्ररम्भिक मस्यौदा कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा पुगेको छ ।

कानुन मन्त्रालयले विधेयकको प्राथमिकता निर्धारणका लागि सबै मन्त्रालयसँग प्राथमिकताका आधारमा विधेयकको प्रारम्भिक मस्यौदा मागेको थियो । त्यसआधारमा खानेपानी मन्त्रालय र परराष्ट्र मन्त्रालयबाहेकका सबैले विधेयकको प्रारम्भिक मस्यौदा पठाएका हुन ।

‘खानेपानी मन्त्रालय र परराष्ट्र मन्त्रालयले त्यस्तो प्राथमिकता केही छैन भनेर मस्यौदा पठाउनुभएको छैन,’ कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटाले भने, ‘बाँकी सबै मन्त्रालयले प्राथमिकताका आधारमा विधेयकको विषय पठाउनुभएको छ ।’

कानुन मन्त्रालयका अनुसार सबै मन्त्रालयबाट सम्भावित विधेयकहरुको मस्यौदा प्राप्त भएपछि त्यसलाई एकीकृत गरेर प्राथमिकता निर्धारण गरिनेछ ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङका अनुसार १४ कातिक २०८० मा ‘यथाशीघ्र विधेयकका मस्यौदा पठाउनू’ भनेर सबै मन्त्रालयलाई पत्राचार गरिएको थियो ।

उनका अनुसार संसदको हिउँदे अधिवेशनमा पेश गर्ने विधयकहरुको प्राथमिकता निर्धारण गर्न र त्यसअनुसार संसदसँग समन्वय गर्नका लागि २२ वटै मन्त्रालयसँग सम्भावित विधेयकको मस्यौदा मागिएको हो ।

हिउँदे अधिवेशनमा कति वटा विधेयक लैजाने तय गर्ने र प्राथमिकताका आधारमा कानुन निर्माण प्रक्रियालाई अघि बढाउने मन्त्रालयको तयारी छ ।

मन्त्रालयका अनुसार हिउँदे अधिवेशनलाई विधेयक अधिवेशन भनिन्छ । के कति कानुन निर्माण गर्ने हो त्यसको प्राथमिकता निर्धारण गर्नका लागि मन्त्रालयहरुसँग सम्भावित विधेयकको मस्यौदा माग गरिएको हो । मन्त्रालयका अनुसार सरकारको नेतृत्वले संविधान निर्माणसँग सम्बन्धित कानुनहरु बनाउनुपर्ने विषयलाई प्राथमिकतामा राखेको छ । त्यसआधारमा विधेयकहरु तर्जुमा गर्ने र अगाडि बढाउने योजना कानुन मन्त्रालयको छ ।

यसअघि राष्ट्रिय सभाको ‘संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशष समिति’ ले संविधान कार्यान्वयनका लागि आवश्यक विषयहरुको पहिचान गरी त्यसको प्रतिवेदन सरकारलाई दिएको छ ।

राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले पनि संविधान अनुसार बन्न बाँकी कानुनहरुको अध्ययन प्रतिवेदन सरकारलाई बुझाएको छ । दुवै प्रतिवेदनमा संविधान कार्यान्वयनका लागि बनाउनुपर्ने कानुनका विषय छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा चार पुस्ताका साथीहरू सँगसँगै रहेकाले आफूले सबैलाई मिलाएर लैजाने बताएका छन्। कांग्रेसको केन्द्रीय

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका