"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

ज्ञानेन्द्र शाह कुशको मात्र राजा रहेको अध्यक्ष ओलीको टिप्पणी

प्रकाशित मिति :  29 January, 2024 12:05 pm


काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ज्ञानेन्द्र शाह कुशको मात्र राजा रहेको टिप्पणी गरेका छन्। ‘ज्ञानेन्द्र शाह भनेको राजा होइन। बाहुनले बाहुन भनेर एउटा टपरीमा चामलमाथि कुशको बाहुन राख्छ, त्यस्तै यी कुशका राजा हुन्,’ आइतबार काठमाडौंमा पत्रकारहरूसँगको कुराकानीमा अध्यक्ष ओलीले भने, ‘अब यस्ता कुरामा के बहस गरिरहने बेकार।’ 

दरबार हत्याकाण्डबारे त्यसैबेला छानबिन गरिएको उनले बताए। ‘त्यसबेला पनि छानबिन गरिएको हो। तर राष्ट्रिय, अन्तर्राष्ट्रिय परिस्थिति यस्तो रह्यो- त्यसबेलाका हाम्रा महासचिव माधवकुमार नेपाल उहाँ आफैं छानबिन समितिमा बस्नुभएको थियो, यो ड्रामामा सामेल नहोऊ भनेर हामीले फिर्ता गर्‍यौं,’ ओलीले भने।

दरबार हत्याकाण्ड राजनीतिक दलहरूले नगरेको उनले बताए। ‘नेपालीहरूले विवेक गुमाउनु हुन्न। विचरा दीपेन्द्र! दीपेन्द्रले आफैं मरेर मरिसकेपछि हान्यो?,’ ओलीले प्रश्न गरे, ‘एउटा राजा हुन लागेको मानिस त्यसरी मर्छ? अनि उसले अगाडि र पछाडीबाट गोली हान्छ? चार राइफल र एउटा पेस्तोल एकै जनाले बोकेर कुद्छ? यस्तो कुरा पनि पत्याएर हिँड्ने?’

२०५८ जेठ १९ मा तत्कालीन राजा वीरेन्द्रसहित राजपरिवारका १० जना सदस्यको हत्या भएको थियो। दरबार हत्याकाण्ड एउटा भयानक षड्यन्त्र रहेको पनि ओलीले बताए। ‘राजाको जेठो छोरो राजा हुन्छ। तर जेठो त के कान्छो र छोरी नै मारिइसकेपछि राजतन्त्र समाप्त भयो,’ उनले भने, ‘त्यतिबेलाको सरकारको कमजोरी हो- अलि समय राजतन्त्र भनेर ज्ञानेन्द्र शाहलाई सजाउने काम भयो।’

पूर्वराजा शाहले शनिबार वीरगञ्जमा भएको कार्यक्रममा ०५८ सालमा भएको दरबार हत्याकाण्डबारे बोलेका थिए।

‘२०५८ मा घटेको विनाशकारी घटना जुन हामी र हाम्रो परिवारलाई कहालीलाग्दो र सम्झन पनि मन नपराउने अवस्थालाई राजनीतिक जालझेल गरी धेरै नेपालीका मनमा भ्रमको बादल बनाई नकारात्मक भावना फैलाएको थियो,’ पूर्वराजा शाहले भनेका थिए।

आफूहरूलाई त्यसबेला घातक प्रहार भएको पूर्वराजा शाहले बताए। 

‘सत्य सधैं सत्य हुन्छ। असत्यको विजय कहिल्यै हुँदैन,’ उनले भने, ‘हाम्रामाझ प्रत्यक्षदर्शी हुँदाहुँदै अज्ञानता र छलले अझ पनि हामी बहकिरहेका छौं। यो अन्यायपूर्ण मात्र होइन दुर्भाग्यपूर्ण पनि हो।’ 

पुख्यौली दरबारबाट बाहिरिँदा आफूले नेपालमै बस्ने र मुलुकको बृहत्तर हित र शान्तिका लागि योगदान पुर्‍याउने बताएको उनले स्मरण गरे। पूर्वराजा शाहले गरेको यस्तो अभिव्यक्तिलाई लिएर एमाले अध्यक्ष ओलीले आइतबार ज्ञानेन्द्र कुशका मात्र राजा रहेको प्रतिक्रिया दिएका हुन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सुदूरपश्चिम प्रदेशको टीकापुरमा आयोजित ११औँ अन्तर व्यवस्थापिका सम्मेलन नौबुँदे सन्देशपत्र जारी गर्दै सम्पन्न भएको छ । सम्मेलनले सबै प्रदेश सभामा

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका