"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्रका साझा मुद्दामा संसदका दलहरु एक हुन सभामुख घिमिरेको आग्रह

प्रकाशित मिति :  5 February, 2024 4:56 pm


काठमाडौँ । सभामुख देवराज घिमिरेले संसदीय क्रियाकलापको समीक्षा र कमजोरीको सुधारले संसद्प्रति जनआस्था वृद्धि हुँदै जाने बताएका छन् । प्रतिनिधिसभाको तेस्रो अधिवेशन प्रारम्भ भएको अवसरमा संसद् बैठकको सुरुमा सोमबार संक्षिप्त मन्तव्य राख्दै सभामुख घिमिरेले जनताको प्रतिक्रिया र सुझाव आत्मसाथ गर्दै संसद् अधिवेशनलाई नतिजामुखी हुने विश्वास व्यक्त गरेका हुन् । 

प्रतिनिधिसभाको बैठकमा सभामुख घिमिरेले भने, ‘संसदीय क्रियाकलापको समीक्षा र कमजोरीको सुधारले यस संस्थाप्रतिको विश्वास र भरोसा वृद्धि हुँदै जान्छ । किनभने लोकतन्त्रमा जनता सबैभन्दा माथि हुन्छन् । जनताको प्रतिक्रिया र सुझावलाई आत्मसात् गर्दै आगामी अधिवेशन नतिजामुखी हुने विश्वास व्यक्त गर्दछु ।’

सभामुख घिमिरेले सांसदहरूलाई संसद्‍मा नयाँ अभ्यास हुन लागेको बताएका छन् । ‘विधिको शासन, पारदर्शिता र जवाफदेहिता आधुनिक लोकतन्त्रका आधारस्तम्भ हुन् । संसद्‍मा अवलम्बन गरिने विधि, प्रक्रिया र अभ्यासहरूलाई परिष्कृत, उन्नत र जनमुखी बनाउन हाम्रो सामूहिक प्रतिबद्धता जरुरी छ,’ उनले भने, ‘संसद्लाई प्रभावकारी, क्रियाशील र जीवन्त बनाउन चालू अधिवेशनदेखि केही नयाँ अभ्यास गर्दैछौं । संसदीय गतिविधि समयबद्ध सञ्चालनका लागि कार्यतालिका लागू गर्ने र विगतमा बजेटमाथिको छलफलमा उठेका टिप्पणीसमेतलाई ध्यानमा राखेर यसै अधिवेशनमा बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्दैछौं ।’

संसद् जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने एक महत्त्वपूर्ण थलो भएको सभामुख घिमिरेको भनाइ थियो । संसदीय प्रणालीमा संसद्को काम कानुन निर्माणसँगै सरकारको गठन र नियन्त्रण गर्ने, जनसरोकारका मुद्दाको सम्बोधन गर्ने, सरकारलाई नीति तथा कार्यक्रम कार्यान्वयन गर्न कानुन बनाई सहयोग गर्ने रहेको उनलेब ताए ।

संसद्का विगतका दुई अधिवेशन कानुन निर्माणका रूपमा नतिजामूखि नभएको आफूले पाएको सभामुखको भनाइ थियो । ‘विगतका दुई अधिवेशनमा संसद् नियमावलीको निर्माण तथा विषयगत समितिहरूले पूर्णता पाएसँगै संसदीय गतिविधि क्रियाशील र जीवन्त हुँदै गएको महसुस गरेको छु । ऐन निर्माणमा संख्यात्मक नतिजा प्राप्त हुन नसके पनि एक वर्षको बीचमा प्रर्याप्त गृहकार्य भएका छन्,’ उनले भने, ‘चालू अधिवेशनमा मुलुकलाई आवश्यक कानुन निर्माण गर्ने र संसदीय गतिविधिहरूलाई थप प्रभावकारी र व्यवस्थित बनाउने प्रण गर्न जरुरी देखेको छु । राष्ट्रका साझा मुद्दाहरूमा संसद्‍मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको एकतालाई निरन्तरता दिनै पर्दछ ।’

प्रतिनिधिसभाको अर्को बैठक माघ २४ गते बुधबार बिहान ११ बजे बस्नेगरी स्थगित भएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा प्रमुख राजनीतिक दलका नेताहरु सहभागी भएका छन् । प्रधानमन्त्रीले निर्वाचनको पछिल्लो अवस्थाबारे

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेकी छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल

काठमाडौँ –  राष्ट्रपति रामचन्द्र पौडेलले अपांगता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ।   अपाङ्गता

काठमाडौँ- सरकारले प्रत्येक वर्ष भदौ २३ लाई जेनजी सहिद दिवसका रूपमा मनाउने निर्णय गरेको छ। सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी