कांग्रेस महासमिति बैठक सम्पन्न, ५ प्रस्ताव सर्वसम्मतिले पारित
काठमाडौँ । नेपाली कांग्रेसको महासमिति बैठक बिहीबार सम्पन्न भएको छ । बैठकबाट विभिन्न प्रस्तावहरू केन्द्रीय समिति बैठकले अन्तिम रुप दिनेगरी सर्वसम्मतिले पारित भएका छन् । समूहगत छलफलबाट आएका सुझावलाई समेट्दै ती प्रस्तावहरू पारित भएका हुन् ।
जसअनुसार उपसभापति पूर्णबहादुर खड्काले पेस गरेको नीति प्रस्ताव र महामन्त्री गगन थापाले पेस गरेको सांगठनिक प्रस्ताव र महामन्त्री विश्वप्रकाश शर्माले पेस गरेको समसामयिक राजनीतिक प्रस्ताव संशोधनसहित पारित भएका छन् । त्यस्तै लेखा समिति संयोजक श्याम घिमिरेले पेस गरेको लेखा परीक्षण प्रतिवेदन र अर्थमन्त्री समेत रहेका डा प्रकाशशरण महतले पेस गरेको अर्थसम्बन्धी प्रतिवेदन पनि महासमितिले ग्रहण गरेको छ ।
ललितपुरको गोदावरीमा भएको बैठकमा कांग्रेस महामन्त्री गगन थापाले विभिन्न प्रस्तावहरू पारित भएसँगै महासमिति बैठक सकिएको जानकारी गराए । महासमिति बैठक फागुन सात गतेबाट सुरु भएको थियो ।













