"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

विराटनगर भन्सारका तत्कालीन प्रमुखसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

प्रकाशित मिति :  26 March, 2024 7:18 pm


काठमाडौँ ।  भन्सार प्रणालीको सरकारी अभिलेख नै नष्ट गरी राजस्व चुहावट अभियोगमा विराटनगर भन्सार कार्यालयका तत्कालीन प्रमुख ताराप्रसाद सापकोटासहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भन्सार प्रमुख सापकोटा, भन्सार अधिकृत नवकुल शर्मा, भन्सार छलीमा संलग्न व्यापारी शेरबहादुर बस्नेत र भन्सार एजेन्ट सरनकुमार खरेलविरुद्ध मंगलबार भ्रष्टाचार मुद्दा दायर गरेको छ । बस्नेत देव इन्टरनेसनल प्रालीका सञ्चालक हुन् । अख्तियारका प्रवक्ता नरहरी घिमिरेले प्रतिवादीहरुविरुद्ध ८४ लाख ५५ हजार ६ सय ५ रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरिएको बताए ।

चीनबाट आयात गरेको सामानको प्रज्ञापनपत्र भन्सार प्रमुख सापकोटा अधिकृत शर्माको मिलेमतोमा भन्सार अभिलेखबाटै नष्ट गराई सरकारी राजस्वमा दाखिला हुनुपर्ने रकम हिनामिना गरेको अख्तियारले अदालतमा दायर गरेको अभियोगपत्रमा उल्लेख छ ।

देव इन्टरनेसनलले २०७९ पुस २० मा प्रज्ञापनपत्र दर्ता गरेकोमा सामानको मूल्य र गुणस्तर फरक पारी भन्सारका अधिकारीले मिलेमतोमा जाँचपास गराएका थिए । यसरी अनियमितता गरेको विषयमा भन्सार विभागसम्म सूचना पुगेको थियो । त्यसपछि विभागले सुरुमा दर्ता अभिलेखको विवरण उपलब्ध गराउन ताकेता गर्दा सिस्टममा समस्या आएको देखाएर खभिलेख नष्ट गराइएको खुलेको थियो । यो विषयमा भन्सार विभागले छानबिन समिति गठन गरेकोमा अनियमिततामा सापकोटा र शर्मा समेतले २०७९ माघ १० मा नयाँ प्रज्ञापनपत्र दर्ता गराई अर्को दिन ११ गते सुरु घोषणा गरेको रकम ७३ हजार ४ सय ३२ अमेरिकी डलर मूल्य थप गर्न लगाई त्यसमा भन्सार जाँचपास नभई थप गराएर रकम हिनामिना गरेको अभियोग छ ।

सापकोटा र शर्माले राजस्व रकम नोक्सान गर्ने/गराउने बदनियत राखी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १२ बमोजिम सरकारी कागजात नष्ट/नोक्सान गर्ने/गराउने अपराध गरेको अख्तियारले दायर गरेको अभियोगमा उल्लेख छ । सापकोटाले प्रज्ञापनपत्रमा उल्लेख गरिएको विवरणअनुसार भन्सारमा उल्लेख गरिएका मालवस्तु नै आइनसकेको खुलेको छ ।

अभियोगपत्रमा भनिएको छ- ‘भन्सार गोदाममा उक्त मालवस्तुको अवस्था जाँच गर्दा निवेदनमा उल्लेख भएअनुसार मालवस्तु नभेटिएको हुँदा निवेदनअनुसार हुन भनी भन्सार अधिकृत नवकुल शर्माले दिएको निवेदनमा नै लिखित प्रतिवेदन दिएको र सो निवेदनमा कार्यालय प्रमुख ताराप्रसाद सापकोटाले सदर गरेको देखिएकोवाट सापकोटा र शर्माले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १९ को उपदफा २ बमोजिम कसुर गरेको पुष्टि भएको हुँदा निजहरुलाई सोही ऐनको उक्त दफाबमोजिम समेत सजायँ मागदावी लिइएको छ ।’

कर्मचारीसँगको मिलेमतोमा बस्नेत र खरेलले जाँचपासको लागि देव इन्टरनेसनल प्रालिले ल्याएको सामानको कानुन अनुसार राजस्व निर्धारण नगरी बदनियतपूर्ण रुपमा हिनामिना गरेको अभियोगमा उल्लेख छ । बस्नेत र खरेलविरुद्ध भन्सार प्रमुख सापकोटा र अधिकृत शर्मालाई हुने बिगोको आधा सजाय मागदाबी लिइएको छ । भन्सार छलीको उद्योग गरेकोमा उनीहरुलाई प्रतिवादी बनाइएको हो ।

भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ७ मा राजस्व उठाउनुपर्ने कर्तव्य भएको राष्ट्र सेवकले राजस्व निर्धारण गर्दा वा मालवस्तुको मूल्यांकन गर्दा पश भएका वस्तुको बिजक, गुणस्तर वा परिमाण फरक पारी लिनु पर्ने राजस्व नलिई सामान छोड्ने वा छोड्न मद्दत गरेका कसुर मानिने उल्लेख छ । दफा २१ मा राजस्व छलीको उद्योग गर्नेलाई कसुर गर्ने कर्मचारी वा अन्य व्यक्तिलाई हुने सजायको आधा सजाय हुने उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सर्लाहीको बागमती नगरपालिकास्थित ‘भरत ताल’ (बागमती पर्यटकीय पार्क तथा रिसोर्ट) निर्माण आयोजनामा करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको धनगढीमाई नगरपालिकामा रहेको जनता माध्यमिक विद्यालयका एक शिक्षकमाथि विशेष अदालतमा मुद्दा दायर गरेको

काठमाडौँ- मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको छ। बुधबार