"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

विद्यालयका बीस जनाविरुद्ध भ्रष्टाचार मुद्दा

प्रकाशित मिति :  15 March, 2022 10:40 pm


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तनहुँको एक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकसहित २० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१६ स्थित हिमाली प्राथमिक विद्यालयका तत्कालीन अध्यक्षसहित २० जनामाथि सोमबार अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । सरकारी सार्वजनिक जग्गालाई घरसारको कागजात बनाई आफैँले घडेरी कायम गरी गैरकानुनी रूपमा भोगचलन गर्ने गराउनुका साथै बिक्री भएका जग्गामा पक्की घरसमेतका संरचना बनाउन लगाएर गैरकानुनी लाभ लिएको अख्तियारको आरोप छ ।

अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार विद्यालय व्यवस्थापन समितिको २०५१ साल वैशाख ११ गतेको बैठकले एक लाख ६९ हजार रुपियाँ लिई उक्त सार्वजनिक जग्गा भोगचलन गर्ने गराउने निर्णय गरेको थियो । अनुसन्धानका क्रममा उक्त प्रकरणमा तत्कालीन अध्यक्ष यामबहादुर बानियाँ, सदस्यसचिव (प्रधानाध्यापक) यामबहादुर ठकुरी, सदस्यहरू घनश्याम बानियाँ, हरिकुमारी महत, धुनबहादुर पुलामी, ज्ञानबहादुर बानियाँ र खडकबहादुर बानियाँको संलग्नताको पुष्टि भएको छ ।

मुद्दा दायर गरिएकामध्ये यामबहादुर बानियाँ, धुनबहादुर पुुलामी, ज्ञानबहादुर बानियाँ र खडकबहादुर बानियाँको मृत्यु भइसकेको छ । घनश्याम बानियाँ, यमबहादुर ठकुरी र हरिकुमारी महतमाथि उक्त रुपियाँ बराबरको बिगो मागदाबीसहित हदैसम्मको सजाय मागदाबी दिएर मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

त्यसैगरी सन्तबहादुर सिँजालीमगर, तिलुदेवी बराल, डोलराज आचार्य, डिलबहादुर आले, विष्णुमाया थापा, विष्णुप्रसाद लम्साल, शरणबहादुर विक, बलराम बानियाँ, बुद्धिमाया विक, बाबुराम बानियाँ, लोकबहादुर माकिम, पूर्णबहादुर विक र धनबहादुर विकले एक लाख ६९ हजार ५१ रुपियाँ दिई सरकारी सार्वजनिक जग्गालाई भोगचलनसमेत गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ । लोकबहादुर माकिम, डोलराज आचार्य र धनबहादुर विकको मृत्यु भइसकेकाले तीनै जनाबाहेकका हकमा कैद सजायको माग गरिएको अख्तियारले जनाएको छ ।
त्यसैगरी अख्तियारले गोरखाको तत्कालीन हंशपुर गाविस र मुच्चोक गाविस–३ र ५ मा कार्यरत सचिव दीपकबहादुर दर्जीसहित चार जनाउपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको दाबीसहित आरोपपत्र दायर गरेको छ ।

सचिव दर्जीसहित तत्कालीन गाविसका अहेव चन्द्रकान्त सुवेदी, स्वास्थ्य सहायक सुरेश दवाडी र कार्यालय सहयोगी विशाल विकले सामाजिक सुरक्षा भत्ताबापतको रुपियाँ हिनामिना गरेको अख्तियारले दायर गरेको आरोपपत्रमा दाबी गरिएको छ । चारै जनामाथि कसुरको मात्राअनुसार कैद सजाय र जरिवाना माग गरिएको छ ।
सचिव दर्जी र अहेव सुवेदीले ६० लाख ९७ हजार छ सय रुपियाँ, सुरेश दवाडी र दर्जीले २७ लाख २३ हजार दुई सय रुपियाँ, सुवेदी र दर्जीले ३३ लाख ७४ हजार चार सय रुपियाँ हिनामिना गरेको अख्तियारको आरोप छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गंगा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी

काठमाडौँ- सरकारले जेठ १४ गते बकर ईद (ईद-उल-अज्हा)को अवसरमा सार्वजनिक बिदा दिएको छ। शुक्रबार गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द