"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

विद्यालयका बीस जनाविरुद्ध भ्रष्टाचार मुद्दा

प्रकाशित मिति :  १ चैत्र २०७८, मंगलवार २२:४०


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तनहुँको एक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकसहित २० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१६ स्थित हिमाली प्राथमिक विद्यालयका तत्कालीन अध्यक्षसहित २० जनामाथि सोमबार अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । सरकारी सार्वजनिक जग्गालाई घरसारको कागजात बनाई आफैँले घडेरी कायम गरी गैरकानुनी रूपमा भोगचलन गर्ने गराउनुका साथै बिक्री भएका जग्गामा पक्की घरसमेतका संरचना बनाउन लगाएर गैरकानुनी लाभ लिएको अख्तियारको आरोप छ ।

अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार विद्यालय व्यवस्थापन समितिको २०५१ साल वैशाख ११ गतेको बैठकले एक लाख ६९ हजार रुपियाँ लिई उक्त सार्वजनिक जग्गा भोगचलन गर्ने गराउने निर्णय गरेको थियो । अनुसन्धानका क्रममा उक्त प्रकरणमा तत्कालीन अध्यक्ष यामबहादुर बानियाँ, सदस्यसचिव (प्रधानाध्यापक) यामबहादुर ठकुरी, सदस्यहरू घनश्याम बानियाँ, हरिकुमारी महत, धुनबहादुर पुलामी, ज्ञानबहादुर बानियाँ र खडकबहादुर बानियाँको संलग्नताको पुष्टि भएको छ ।

मुद्दा दायर गरिएकामध्ये यामबहादुर बानियाँ, धुनबहादुर पुुलामी, ज्ञानबहादुर बानियाँ र खडकबहादुर बानियाँको मृत्यु भइसकेको छ । घनश्याम बानियाँ, यमबहादुर ठकुरी र हरिकुमारी महतमाथि उक्त रुपियाँ बराबरको बिगो मागदाबीसहित हदैसम्मको सजाय मागदाबी दिएर मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

त्यसैगरी सन्तबहादुर सिँजालीमगर, तिलुदेवी बराल, डोलराज आचार्य, डिलबहादुर आले, विष्णुमाया थापा, विष्णुप्रसाद लम्साल, शरणबहादुर विक, बलराम बानियाँ, बुद्धिमाया विक, बाबुराम बानियाँ, लोकबहादुर माकिम, पूर्णबहादुर विक र धनबहादुर विकले एक लाख ६९ हजार ५१ रुपियाँ दिई सरकारी सार्वजनिक जग्गालाई भोगचलनसमेत गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ । लोकबहादुर माकिम, डोलराज आचार्य र धनबहादुर विकको मृत्यु भइसकेकाले तीनै जनाबाहेकका हकमा कैद सजायको माग गरिएको अख्तियारले जनाएको छ ।
त्यसैगरी अख्तियारले गोरखाको तत्कालीन हंशपुर गाविस र मुच्चोक गाविस–३ र ५ मा कार्यरत सचिव दीपकबहादुर दर्जीसहित चार जनाउपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको दाबीसहित आरोपपत्र दायर गरेको छ ।

सचिव दर्जीसहित तत्कालीन गाविसका अहेव चन्द्रकान्त सुवेदी, स्वास्थ्य सहायक सुरेश दवाडी र कार्यालय सहयोगी विशाल विकले सामाजिक सुरक्षा भत्ताबापतको रुपियाँ हिनामिना गरेको अख्तियारले दायर गरेको आरोपपत्रमा दाबी गरिएको छ । चारै जनामाथि कसुरको मात्राअनुसार कैद सजाय र जरिवाना माग गरिएको छ ।
सचिव दर्जी र अहेव सुवेदीले ६० लाख ९७ हजार छ सय रुपियाँ, सुरेश दवाडी र दर्जीले २७ लाख २३ हजार दुई सय रुपियाँ, सुवेदी र दर्जीले ३३ लाख ७४ हजार चार सय रुपियाँ हिनामिना गरेको अख्तियारको आरोप छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालीन न्याय प्रक्रियालाई अन्तिम निष्कर्षमा पुर्‍याउँदा द्वन्द्वकालमा भएका अमानवीय र जघन्य अपराधहरू माफ गर्न

काठमाडौं – सरकारी निकायमा कार्यरत अस्थायी र करार कर्मचारी पनि अब सामाजिक सुरक्षा योजनामा सहभागी हुन पाउने भएका छन् ।श्रम

काठमाडौं – नयाँ वर्ष २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा हुने छ । नेपालमा राजपत्रमा प्रकाशित सूचना अनुसार २०८२ सालमा

इलाम – नयाँ वर्षको अवसरमा परराष्ट्रमन्त्री आरजु राणा देउवासहित नेपालका लागि विभिन्न देशका १५ राजदूत कन्याम आइपुगेका छन् । परराष्ट्र मन्त्रालय