"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

देउवा- ओलीको भेटले प्रचण्डमा संशय

प्रकाशित मिति :  १८ असार २०८१, सोमबार ११:३४


काठमाडौँ । संसद्का दुई ठूला दल कांग्रेस र एमाले सरकार परिवर्तनदेखि संविधान संशोधनसम्मका मुद्दामा सहमति खोज्ने कसरतमा लागेका छन् । स–साना दलहरू मिलाएर सरकार चलाउँदा अस्थिरता बढेको र जनमानसमा प्रणालीप्रति वितृष्णा बढेको भन्दै कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली शृंखलाबद्ध भेटवार्तामा छन् । दुई नेताको बैठकले वर्तमान सत्ता गठबन्धनका माओवादी र रास्वपालाई दबाबमा पारेको छ । 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भक्तपुरस्थित बालकोटमा भेटवार्ता भएसँगै राजनीतिमा नयाँ ध्रुवीकरणको अनुमान गरिएको छ।

छलफलमा देउवाले ओलीलाई सत्ता सहकार्यको प्रस्ताव गरेको निकट नेताहरू बताउँछन्। योसँगै सत्तारुढ दलहरूमा छटपटी बढेको छ। प्रधानमन्त्री समेत रहेका नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसविषयमा चासो राखिरहेका छन्। ओलीलाई सिंहदरबार र बालुवाटार बोलाएर भेटको निष्कर्ष सोधिरहेका छन्।

यसै सन्दर्भमा कुरा गर्न हिजो ओली सिंहदरबार पुगेका थिए। जसमा रास्वपा सभापति एवं गृहमन्त्री रवि लामिछाने समेत थपिएका थिए। प्रचण्डले लामिछानेलाई पार्टीभित्र विवादबारे सोधेका थिए। लामिछानेले पार्टीको विवाद सामान्य रहेको जानकारी दिए। यता ओलीलाई समेत प्रचण्ड सत्ता गठबन्धन परिवर्तन गर्ने विषयका हल्ला विषयमा सोधेका थिए।

ओलीले देउवासँग सामान्य छलफल मात्र भएको कारण गम्भीररुपमा नलिन आग्रह गरेका थिए। देउवा र ओलीबीच भाबी राजनीतिमा एक भएर जाने सहमति भएकोबारे जानकारी दिन प्रचण्डले अनुरोध गरेका थिए। ओली निकट स्रोतका अनुसार असार १५ को पर्व विशेष पारिवारिक भेटवार्ता मात्र भएको ओलीले प्रष्ट पारेका थिए। यसविषयमा प्रचण्डले एमालेका दोस्रो स्तरका नेता समेतलाई चासो राखेका थिए।

यसै विषयमा आज पनि ओली र प्रचण्ड छलफलमा जोडिएका छन्। प्रचण्डको अनुरोधमा छलफल गर्न ओली अहिले बालुवाटारमा छन्।यता एमाले नेताहरू भने राजदूत छनोट र वर्तमान सरकारको कार्ययोजनाका विषयमा छलफल भइरहेको बताउँछन्। तर दुवै नेताको बाक्लिएको छलफल देख्दा राजदूत छनोटमा मात्र सीमित नभएको प्रष्ट हुन्छ।

ओली निवास बालकोटमा शनिबार पत्नी आरजुसहित पुगेका देउवाले एमाले अध्यक्ष ओलीलाई चुनावी सरकारको नेतृत्व भने आफूले गर्ने प्रस्ताव गरेको कांग्रेसका एक नेताले जानकारी दिए। सत्ताको नेतृत्व परिवर्तनका विषयमा कांग्रेस र एमालेका दोस्रो तहका नेताहरूबीच लामो समयदेखि छलफल चलिरहे पनि कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच शनिबार पहिलो पटक छलफल भएको हो। ती नेताले भने, ‘सभापतिज्यूबाट पहिले ओलीलाई सत्ता सम्हाल्न र चुनावी सरकारको नेतृत्व आफूले गर्ने प्रस्ताव गर्नुभएको छ।’

संसद्को सबैभन्दा ठूलो दल कांग्रेस प्रतिपक्षमा छ। यसैगरी एमाले सत्ता पक्षमा रहेको मुख्य ठूलो दल हो। दुई शीर्ष नेताबीच नयाँ गठबन्धन बनाएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सत्ताबाट हटाउने विषयमा छलफल अघि बढेको कांग्रेसका ती नेताले जानकारी दिए।

‘वर्तमान सरकारबाट काम केही पनि नहुने, मुलुक हितभन्दा आफ्नो र अन्यको हित मात्र हेर्ने भएपछि दुई ठूला दल मिलेर सरकार चलाउने तयारी भएको हो’, ती नेताले भने। कांग्रेसले ओलीलाई प्रधानमन्त्री बनाएर भए पनि राज्य सत्तालाई सहज ढंगले अघि बढाउनुपर्नेमा जोड दिएको ती नेताको दाबी छ।

साना दलहरूले वर्चस्व बढाएर ठूला दललाई पाखा लगाउन खोजेपछि देउवा र ओलीबीच छलफल भएको ती नेताले बताए। उनका अनुसार दक्षिण छिमेकी स्थायी सरकारको परिकल्पना गरिरहेको छ भने उत्तर छिमेकी कम्युनिस्ट एक भएर सत्ता चलाएको हेर्न खोजिरहेका छन्। यस्तो अवस्थामा कांग्रेस र एमालेबीच सहकार्य हुन लागेको ती नेताको भनाइ छ।

एमाले अध्यक्ष ओली पनि साना दल मिलाउनभन्दा ठूलो दलसँग सहकार्य गरेर अघि बढ्न सहज हुने निष्कर्षमा पुगेको एमालेका एक नेताले बताए। ओलीलाई माओवादी, कांग्रेस, रास्वपा र जसपाको गठबन्धन बनेमा के हुन्छ भन्ने चिन्ता पनि छ।

बालकोट भेटको विषय बाहिरिएपछि सबैभन्दा तनावमा छन्, प्रचण्ड। उनी आफ्नो पद सुरक्षित नभएको आँकलन गरिरहेका छन्। केही दिनअघि मात्रै आफूसँग लक्की नम्बर रहेको दाबी गरेका प्रधानमन्त्री अहिले संशयका बीच सत्ता चलाइरहेका छन्। उनी एमाले-कांग्रेस नजिकिँए त्यो भन्दा पहिले नै कांग्रेससँग नजिकिँने तयारीमा छन्।

मा‌ओवादी निकट स्रोतका अनुसार उनी पुरानै गठबन्धन ब्यँताउन लाग्ने तयारीमा छन्। ‘कांग्रेसलाई समाएर भए पनि सत्ता गुम्न दिनुहुन्न भन्ने बुझाइ छ।’ माओवादी निकट स्रोतको बुझाइ छ।  उनले सत्ता गठबन्धनका साना दलसँग पनि छलफल बढाएका छन्। यदि रास्वपा ठूला दलसँग नगएका वर्तमान गठबन्धनभित्र बहुमत खोज्ने माओवादीको तयारी छ।

  • पत्रपत्रिकाहरुको सहयोगबाट



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ । राष्ट्रपति

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसंघ महासभाको ७९औँ अधिवेशनमा भाग लिन नेपाली

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानलाई जीवनमय बनाउनेबाहेक वर्तमान सरकारको अरू कुनै मुद्दा नरहेको बताएका छन् । बिहीबार सैनिक मञ्च

काठमाडौँ – सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन मन्त्रिपरिषद्‌ले स्वीकृत गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्‌ले