"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कटहरियाका नगरप्रमुख, उपप्रमुखसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

प्रकाशित मिति :  २२ असार २०८१, शुक्रबार १०:००


काठमाडौँ । निर्माणस्थलमा काम भएभन्दा बढीको भुक्तानी दिँदा रौतहटको कटहरिया नगरपालिकाका मेयर, उपमेयर र तत्कालीन प्रमुख प्रशासकीय अधिकृतविरुद्ध बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अधुरो सामुदायिक भवनमा टायल्स फ्लोरिङको काम गर्दा फिल्डमा भएभन्दा बढीको भुक्तानी दिएपछि अख्तियारले जनप्रतिनिधि, कर्मचारी र उपभोक्ता समितिसमेत ११ जनालाई प्रतिवादी कायम गरेर मुद्दा दायर गरेको हो । 

आर्थिक वर्ष ०७८/७९ मा नगरपालिकाअन्तर्गत वडा नम्बर २ जमुनिया बजारमा रहेको अधुरो सामुदायिक भवनमा टायल्स फ्लोरिङको कार्यका लागि उपभोक्ता समितिमार्फत निर्माण गर्ने गरी योजना सम्झौता भएको थियो । सम्झौताबमोजिम उपभोक्ता समितिले काम अघि बढाएको थियो । तर, भुक्तानीका क्रममा फिल्डमा भएको कामभन्दा बढीको नापी किताब तयार गरिएको थियो । 

भुक्तानी सिफारिस भएको नापी किताबमा ११९४.४१ वर्गमिटर रहेकामा फिल्डमा ७२०.८१ वर्गमिटर मात्र रहेको देखिएको अख्तियारको दाबी छ । फिल्डमा भए–गरेको कार्यभन्दा बढी परिमाण ४७३.६० वर्गमिटरको नापी किताब तयार भयो । नापी किताबका आधारमा कार्यसम्पन्न प्रतिवेदन तयार गरी अनुगमन समितिबाट समेत सोही परिमाणको कार्य सम्पन्न भएको भनी प्रतिवेदन दिइएको थियो । यिनै सिफारिसका आधारमा कम काम भएकामा बढी देखाइयो । यसरी बढी काम देखाएर १२ लाख ५२ हजार ९४१ रुपैयाँ बढी भुक्तानी दिई/लिई भ्रष्टाचारजन्य कसुर गरेको पुष्टि भएको अख्तियारको दाबी छ । यसमा संलग्नविरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ । 

भ्रष्टाचारमा संलग्न नगरपालिकाका मेयर अजयप्रकाश जैसवाललाई प्रमुख प्रतिवादी कायम गरेर अख्तियारले मुद्दा दायर गरेको छ । सामुदायिक भवन निर्माण योजनाअन्तर्गतको टायल्स फ्लोरिङको कार्यका लागि आव ०७८/७९ मा प्रदेश सरकारबाट विशेष अनुदान प्राप्त भएको थियो । त्यसैबाट कार्य सञ्चालनका लागि २५ जेठ ०७९ मा मेयर जैसवालले आफ्नो अध्यक्षतामा बैठक गरेका थिए । बैठकमार्फत सरोजकुमार साहको अध्यक्षतामा रहने बौद्धिमाई उपभोक्ता समिति कटहरिया– २ गठन गर्ने निर्णय मेयरले गरेका थिए । त्यही निर्णयका आधारमा उपभोक्ता समिति गठन भएको सम्बन्धमा पत्राचार गरेका थिए । 

सामुदायिक भवनमा टायल्स बनाउने कार्यको योजना सम्झौता फारममा रोहवरमा बसी हस्ताक्षर गरेको र उपभोक्ता समितिलाई भए–गरेको कामभन्दा बढी भुक्तानी दिने काम मेयरले गरेका थिए । नगर कार्यपालिकालाई रकम भुक्तानी दिने सम्बन्धमा आफैँले हस्ताक्षर गरी आफ्नै कार्यालयलाई पत्राचार गरेकामा सोहीबमोजिम १२ लाख ५२ लाख ९४१ रुपैयाँ उपभोक्ता समितिलाई भुक्तानी गरेको देखिएको अख्तियारको दाबी छ । सोही रकमबाट बिगो कायम गरी उनीविरुद्ध मुद्दा दायर भएको छ । 

त्यस्तै, नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साह र इन्जिनियर राजेशकुमार साहलाई पनि अख्तियारले प्रतिवादी कायम गरेको छ । आफूसमेतले स्वीकृत गरेको लागत अनुमानबमोजिम कार्य नभएको, स्थलगत गई नापजाँच गरी कम काम भएको कार्यलाई बढी गरेको भनी प्राविधिक मूल्यांकनसहितको नापी किताब तयार गरेकोलगायत आरोप उनीहरूउपर छ । कार्यसम्पन्न प्रतिवेदनसमेत दिई भुक्तानीका लागि सिफारिस एवं प्राविधिक मूल्यांकनसहितको नापी किताब प्रमाणित गरी उपभोक्ता समितिलाई बढी भुक्तानी दिएको अख्तियारको दाबी छ । बढी भुक्तानी दिएको रकमलाई संयुक्त बिगो कायम गरी बिगोबमोजिम जरिवानाको माग दाबी अख्तियारले गरेको छ । 

साथै, गलत प्राविधिक मूल्यांकन प्रतिवेदन तयार गरी त्यसका आधारमा भुक्तानी सदर तथा भुक्तानीका लागि पेस गरी प्रतिवेदनका आधारमा भुक्तानीसमेत दिएको देखिएकामा गलत प्रतिवेदन दिनेसम्बन्धी कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा २ बमोजिम कैद र जरिवानासमेतको माग दाबी अख्तियारले गरेको छ । गलत प्रतिवेदन दिएको कसुरमा कसुरको मात्राअनुसार तीन महिनादेखि एक वर्षसम्म कैद र १० हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था ऐनमा छ । 

नगरपालिकाकी उपमेयर रिता देवी, योजना शाखा प्रमुख रामनरेशप्रसाद यादव, कार्यपालिका सदस्यद्वय समिशविक्रम साह र मनोजप्रसाद जैसवाल तथा इन्जिनियर मोहम्मद मकसुद आलमविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ । सामुदायिक भवनमा टायल्स फ्लोरिङको काममा नगरपालिकास्तरीय अनुगमन समितिबाट अनुगमन गरी नभए/नगरेको कामसमेत भएको भनी गलत कार्यसम्पन्न प्रतिवेदन दिई उक्त निर्माण कार्यमा बढी भुक्तानी भएको आरोपमा उनीहरूविरुद्ध मुद्दा दायर भएको हो । उनीहरूविरुद्ध गलत प्रतिवेदन दिएको कसुरमा सजायको माग दाबी गरिएको छ । 

बौद्धिमाई उपभोक्ता समितिका अध्यक्ष सरोजकुमार साह, कोषाध्यक्ष बबिताकुमारी चौधरी र सचिव योगेन्द्र साहविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ । सर्त एवं सम्झौताविपरीत सम्झौताबमोजिमको कार्य नगरी भए–गरेको कार्यभन्दा बढी कार्य गरेको भनी बढी मूल्यांकन गराई बढी भुक्तानी लिएको भनदै उनीहरूविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो ।

  • पत्रपत्रिकाहरुबाट



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारले २१औँ निजामती सेवा दिवस, २०८१ को अवसरमा विभिन्न १० कर्मचारीलाई उत्कृष्ट निजामती सेवा पुरस्कार प्रदान गरिने भएको छ। सङ्घीय

काठमाडौँ- पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेवारी सभ्यताभित्र रहेको साझापन र आत्मनिर्भर अर्थतन्त्रको अभ्यास समाजवादी व्यवस्थासँग मिल्दोजुल्दो

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले फराकिलो मन र  सहनशील  भएर संवाद गरेमा नेपाल-भारतबीचका समस्या सहज रूपमा समाधान गर्न नसकिने बताउनुभएको

काठमाडौँ – प्रत्येक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पूजा एवं दर्शन