"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

युवालाई अवसर प्रदान गर्ने नीति आवश्यक छ : राष्ट्रपति पौडेल

प्रकाशित मिति :  12 August, 2024 2:01 pm


काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले राज्यको सर्वाङ्गिण विकासमा युवाहरूको  विशेष योगदानका लागि उपयुक्त अवसर प्रदान गर्ने नीति आवश्यक रहेको बताएका छन् ।

राजधानीमा सोमबार अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजित युवा सम्मेलन, २०२४ लाई सम्वोधन गर्दै राष्ट्रपति पौडेलले संघीयता, सूचनाप्रविधिको विकास तथा बदलिदो सामाजिक परिवेशअनुसार परिवर्तन भएका युवाका आवश्यकता र भावनालाई सम्बोधन गर्ने गरी नयाँ नीतिको आवश्यकता रहेको स्पष्ट पारे ।

उनले भने,‘राष्ट्रिय विकासमा युवा सहभागिता अभिवृद्धि गर्दै राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारहरूको पूर्ण उपयोगको वातावरण सिर्जना गरी युवाको सशक्तिकरण र विकासका लागि शिक्षा, स्वास्थ्य, रोजगारी, प्रतिनिधित्व, खेलकुद तथा मनोरञ्जनलगायतका क्षेत्रमा विशेष अवसर प्रदान गर्न जरुरी छ ।’

युवा जनशक्तिको कुरा गर्दा दिनानुदिन विदेश पलायन भइरहेको शक्तिलाई नेपालमै रोकेर राष्ट्र निर्माणमा कसरी प्रयोग गर्ने भन्ने कुरा आज धेरै गम्भीर बनेर आएको बताए । उनले भने, ‘हामीसँग यति धेरै प्राकृतिक सम्भावनाहरु छन्, तीनलाई समुचित ढंगले उपयोगमा ल्याउन सके नेपालले समृद्धिका लागि कतै भौतारिन पर्ने छैन । यसका लागि हाम्रा स्रोत र संभावना अनुरुपको सीप र लगनशीलताको निर्माण र राष्ट्रका सम्भावनाप्रति सकारात्मक सोच र देशभक्ति अनुकुल स्वाभिमानी र स्वावलम्बी भावनाको विकास आजको अनिवार्य आवश्यकता हो ।’

राष्ट्रपति पौडेलले युवा राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणका अग्रदुत, परिवर्तनका संवाहक साथै राष्ट्रको अमूल्य सम्पत्ति भएको बताउँदै भने, ‘साहस, सिर्जनशीलता, उत्सुकता एवं उच्च आत्मविश्वासका कारण यो समूहलाई राष्ट्र निर्माणको प्रमुख स्रोत मानिन्छ । तसर्थ राष्ट्रको समग्र विकास र परिवर्तनमा युवाको अहम् भूमिका रहन्छ । परापूर्वकालदेखि नेपाली युवाले साहसी, योद्धा, वीरताको प्रतिक तथा विकास र परिवर्तनको संवाहकको रुपमा भूमिका निर्वाह गर्दै आएका छन् ।’

राष्ट्रपति पौडेलले २०७८ को जनगणना अनुसार, नेपालमा १६ देखि ४० वर्ष उमेर समूहको युवा जनसङ्ख्या कुल जनसङ्ख्याको ४२.५६ प्रतिशत रहेको बताउँदै उम्दा जनशक्तिको प्रचुरताको यो ऐतिहासिक क्षणलाई समाज रुपान्तरणको माध्यम बनाउन युवाको सर्वाङ्गीण विकास गरी क्षमताको गुणात्मक बढोत्तरीबाट जनसांख्यिक लाभ लिई राष्ट्र निर्माणको मूलधारमा ल्याउन आवश्यक रहेको स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – देश भरका ११५ क्षेत्रमा मतगणना चलिरहेको छ । बाकि क्षेत्रमा पनि सर्वदलिय बैठकहरु बस्ने तयारीमा छ । कतिपय

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनले विकास, समृद्धि, सामाजिक न्याय र उन्नतिको यात्रालाई

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले यही फागुन २१ गते हुनगइरहेको निर्वाचनमा सक्रिय रूपमा सहभागी भई मतदान गर्न अपिल गरेकी छन्। सोमबार

काठमाडौँ – मध्यपूर्वी क्षेत्रमा उत्पन्न तनावबारे मन्त्रिपरिषद बैठक बसेको छ। आइतबार साँझ परराष्ट्र मन्त्री बालानन्द शर्माले नेपाललाई परेको प्रभाव, त्यसबारे