"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

एक लाख म्यादी प्रहरी माग्दा ३ लाखले दिए आवेदन

प्रकाशित मिति :  १३ चैत्र २०७८, आईतवार १७:१६


फाईल फोटो

काठमाडौं । आगामी ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरी बन्न २ लाख ९३ हजार २ सय १६ जनाले आवेदन दिएका छन् । ७७ वटै जिल्ला प्रहरी कार्यालयमार्फत दर्खास्त मागिएकाभन्दा दोब्बर बढीले आवेदन दिएका हुन् ।

प्रहरी प्रधान कार्यालय, नक्सालले एक लाख म्यादी प्रहरीका लागि ६ देखि ११ चैतसम्म दर्खास्त दिन आह्वान गरेको थियो । यो अवधिमा झण्डै तीन लाख जनाले आवेदन दिएको केन्द्रीय प्रहरी प्रवक्ता विष्णुकुमार केसीले अनलाइनखबरलाई बताए ।

उनका अनुसार सबैभन्दा बढी आवेदन मधेश प्रदेशमा परेको छ । ‘सबैभन्दा बढी मधेश प्रदेशमा ६८ हजार ६ जनाको आवेदन परेको छ’ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) केसीले भने, ‘मधेशपछि लुम्बिनी प्रदेशमा सबैभन्दा बढी ५६ हजार ५६० जनाको आवेदन परेको छ ।’

प्रवक्ता केसीका अनुसार प्रदेश नं. १ मा ५० हजार ९४४, बागमतीमा २७ हजार ८३४, उपत्यकामा १३ हजार ९५०, गण्डकीमा २५ हजार ५०, कर्णालीमा २१ हजार २४५ र सुदूरपश्चिममा २९ हजार ७१४ जनाले म्यादी प्रहरी बन्न आवेदन दिएका छन् । आवेदन दिएकाहरुलाई आइतबार जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न भनिएको केसीले बताए ।

‘मंगलबारदेखि स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्ती परीक्षा हुनेछ’ उनले भने, ‘क्रमशः विभिन्न चरणमा पास हुँदै जाने अन्तरवार्तासम्म पुग्नेछन् र २५ गते अन्तिम नतिजा निकालिनेछ ।’

म्यादी प्रहरी छनौटका लागि हरेक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ६ सदस्यीय समिति बनाइएको छ । समितिमा जिल्ला प्रहरी कार्यालयका प्रमुख, नेपाली सेना र सशस्त्र प्रहरी बलको राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृत, राष्ट्रिय अनुसन्धान विभागका अधिकृत र जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वा प्रहरी निरीक्षक सदस्य सचिव रहने प्रावधान छ ।

म्यादी प्रहरीमा भर्ना हुनका लागि नेपाली नागरिक हुनुपर्ने, फौजदारी अभियोग लागेको नहुनुपर्ने, कुनै राजनीतिक दलको सदस्य हुनु नहुने, शारीरिक र मानसिकरुपले तन्दुरुस्त हुनुपर्ने लगायतका मापदण्ड राखिएका छन् ।

म्यादी प्रहरी भर्नाका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका पूर्वसुरक्षाकर्मीलाई प्राथमिकता दिइने भनिएको छ । २०७८ साउन १ गतेदेखि आवेदन दिएर शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएकाहरुले पनि प्राथमिकता पाउने म्यादी प्रहरी भर्ना मापदण्डमा उल्लेख छ ।

नेपाल बाहिरका सुरक्षा निकायमा काम गरेका र विगतका निर्वाचनमा म्यादी प्रहरीका रुपमा काम गरेकाले पनि प्राथमिकता पाउने भनिएको छ । म्यादी प्रहरी भर्ना, छनौट र नियुक्तिका लागि प्रहरीबाट निर्धारित पाठ्यक्रम अनुसार स्वास्थ्य परीक्षण, लिखित परीक्षा, प्रयोगात्मक र अन्तर्वार्ता परीक्षा विधि अपनाउने मापदण्डमा उल्लेख छ ।

मापदण्डमा उल्लेख भएअनुसार म्यादी प्रहरीले प्रहरी जवानको सरह सुविधा पाउनेछन् । प्रहरी प्रधान कार्यालयका एक अधिकृतका अनुसार ४० दिनमा उनीहरुको तलब ठाउँ अनुसार ३० हजारदेखि ७५ हजार रुपैयाँसम्म हुनसक्छ ।

म्यादी प्रहरीको तालिम एक सातासम्म चल्नेछ । तालिममा स्थानीय तहको निर्वाचनमा सुरक्षाकर्मीले निर्वाह गर्नुपर्ने भूमिकालाई ध्यान दिएर आवश्यक पर्ने अनुभव, ज्ञान सीप र आचरण सम्बन्धी विषयमा ज्ञान दिइने एसएसपी केसीले बताए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानलाई जीवनमय बनाउनेबाहेक वर्तमान सरकारको अरू कुनै मुद्दा नरहेको बताएका छन् । बिहीबार सैनिक मञ्च

काठमाडौँ – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाएका छन् । बुधबार कार्कीले विश्वासको मतका लागि प्रदेशसभा बैठकमा राखेको प्रस्तावको

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले इन्द्रजात्रा अवलोकन गर्नुभएको छ । सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा राष्ट्रपति पौडेल जुद्ध सालिकदेखि

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना, मानवअधिकार, विधिको शासन र सामाजिक रूपान्तरणका लागि देशका सामुदायिक रेडियोले निर्वाह