"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संविधान दिवस मनाउन मूल समारोह समिति गठन

प्रकाशित मिति :  26 August, 2024 12:06 pm


काठमाडौँ – संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८१ लाई जनस्तरमा स्मरणीय तथा हर्षोल्लासका साथ मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज गृह मन्त्रालयद्वारा आयोजित बैठकले संविधानसभाबाट नेपालका संविधान जारी भएको दिन (२०७२ असोज ३) लाई राष्ट्रियरुपमा मनाउन आउँदो असोज २, ३ र ४ गते तीन दिनसम्म नेपालभित्र र विदेशस्थित नेपाली राजदूतावास तथा नियोगहरु र जनस्तरमा समेत दीपावलीलगायतका विविध कार्यक्रम तय गरेको छ । 

असोज २ गते काठमाडौँको नारायणहिटी (दरबारमार्ग) मा साङ्गीतिक महोत्सव (नेसनल डे कन्सर्ट) र दिवसका दिन असोज ३ गते काठमाडौँको सैनिक मञ्च टुँडिखेलमा मूल समारोह समितिको कार्यक्रम गर्ने तय भएको छ । 

यस्तै असोज ४ गते सम्पूर्ण सरकारी निकाय, प्रतिष्ठान, सङ्घ–संस्थाका कार्यालयको छत, वरण्डा र परिसरमा निर्धारित साइजका राष्ट्रिय झण्डा मर्यादापूर्वक राखी सजाउने, सार्वजनिक सवारी साधनहरुमा राष्ट्रिय झण्डा फहराउन आह्वान गर्नेलगायतका कार्यक्रम तय गरिएको छ । 

प्रधानमन्त्री ओलीले जनताको बलिदान र सङ्घर्षबाट संविधान प्राप्त भएकाले संविधान दिवसलाई राज्यस्तरबाट मनाइनुका साथै सबै जाति, समुुदाय र भूूगोलका जनताले स्वतःस्फूर्तरुपमा  भव्यरुपमा दिवस मनाउनुपर्ने बताए ।

सामाजिक जीवनका सबै क्षेत्र परिचालित हुने गरी सङ्घ, प्रदेश र स्थानीय तहबाट कार्यक्रम हुनुुपर्ने बताए । प्रधानमन्त्री ओलीले भने, “संविधान दिवस देशको सबैभन्दा ठुलो चाड हो । यो कुनै जाति, समुदाय र भूूगोल विशेषको होइन, सिङ्गो देशको वार्षिक मेला हो । त्यसअनुसार मनाउने तयारी गर्न म सबैलाई आग्रह गर्दछुु ।’’

दिवसको मूल समारोह समितिमा उपप्रधानमन्त्रीहरु, मन्त्रीहरु, राज्यमन्त्रीहरु, काठमाडौँ महानगरपालिकाका प्रमुख, नेपाल सरकारका मुुख्यसचिव, प्रधानसेनापति, ललितपुर महानगरपालिकाका प्रमुख, नेपाल सरकारका सचिव तथा विशिष्ट श्रेणीका राजपत्राङ्कित अधिकृतहरु, नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान अधिकृत, काठमाडौँ उपत्यकास्थित नगरपालिकाका प्रमुखहरु सदस्य र गृह मन्त्रालयका सचिव, सदस्य–सचिव थिए ।

दिवसका लागि मूल समारोह समितिका साथै प्रचार–प्रसार, बृहद् जनसहभासगितासहित राष्ट्रिय गीतहरुको कन्सर्ट कार्यक्रम, सांस्कृतिक झाँकी व्यवस्थापन, सांस्कृतिक विविधता प्रदर्शन व्यवस्थापन, ग्राउण्ड, कवाज तथा व्यायाम व्यवस्थापन, मञ्च सजावट तथा व्यवस्थापनका लागि उपसमिति पनि गठन गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारले रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय

काठमाडौँ– प्रतिनिधिसभाको बैठकले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।सभामुख डोलप्रसाद अर्यालले

काठमाडौँ- सरकारले पूर्वगृहमन्त्री एवं प्रतिनिधिसभा सदस्य सुधन गुरुङसम्बन्धी अध्ययन तथा छानबिन समितिले बुझाएको प्रतिवेदन ग्रहण गरेको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं – प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध कायमै राखेका छन् । केहीबेर अघि सुरु भएको बैठकमा विपक्षी दलका सबै सांसदहरू