"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सरकारको पक्षमा एक भएर अगाडी बढ्ने सत्तारुढ दलहरुको निष्कर्ष

प्रकाशित मिति :  9 September, 2024 7:24 pm


काठमाडौं – सत्ता साझेदार दलहरुले सरकार र संसदलाई प्रभावकारी बनाउन एकढिक्का भएर उभिने निष्कर्ष निकालेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार साँझ बसेको सत्तारुढ दलहरुको बैठकले सत्ताको पक्षमा एकढिक्का भएर उभिने निष्कर्ष निकालेका हुन् ।

‘सरकारको पक्षमा दलहरु एकढिक्का भएर उभिने निष्कर्षमा पुगेका छौ’, नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले बैठकपछि भने । उनका अनुसार सत्ता साझेदार दलहरु एकढिक्का भएर उभिनकै निम्ति न्यूनतम साझा कार्यक्रम तयार पार्ने गृहकार्य सुरु भएको हो ।

‘एमाले र हाम्रो बीचमा सात बुँदे भइसकेकै थियो । तर त्यही सात बुँदेलाई आधार मानेर न्यूनतम साझा कार्यक्रम बनाउँछौं । यसले सबैलाई एकढिक्का उभ्याउँछ’, उनले भने । प्रमुख सचेतक घिमिरेले केही दिनभित्रै न्यूनतम साझा कार्यक्रम तयार हुने बताए ।

आइतबार साँझ कांग्रेस र एमालेका नेताहरुको बैठकबाटै न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदल गठन भइसकेको छ । कांग्रेसका महामन्त्री गगन थापा र प्रवक्ता प्रकाशशरण महत, एमालेका उपमहासचिवद्वय प्रदीपकुमार ज्ञवाली र विष्णु रिमाल सदस्य रहेको मस्यौदा समिति गठन भएको छ ।

प्रमुख सचेतक घिमिरेले कार्यदलबाट बन्ने मस्यौदामाथि अरु सत्ता साझेदार दलहरुको धारणा पनि राखिनेछ । तर प्रमुख दल कांग्रेस र एमाले नै भएकाले दुई दलका नेताहरु रहेको मस्यौदा कार्यदल बनेको उनले बताए ।

कार्यदल बनेको भोलिपल्ट, आज सत्तारुढ अरु दलहरु जसपा, लोसपा, जनमत पार्टी र नाउपाका नेताहरु सहितको बैठक बोलाइएको थियो । बालुवाटारमा झण्डै तीन घण्टा चलेको छलफलपछि एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पनि कांग्रेसकै घिमिरेसँग मिल्दो निष्कर्ष सुनाएका छन् ।

‘सरकार र संसदलाई प्रभावकारी बनाउन सत्तारुढ दलहरु एकताबद्ध भएर उभिनेबारे छलफल थालेका छौं’ प्रमुख सचेतक बर्तौलाले भने । सरकारको पक्षमा एकढिक्का भएर उभिने निष्कर्षसँग सत्तारुढ नेताहरुको बैठकमा संविधान संशोधनबारे पनि छलफल भएको छ ।

‘संविधान संशोधन गर्ने कुरामा भ्रमहरु छरिएका छन् । दुई दलीय व्यवस्थामा सरकार लाग्यो भन्ने जस्ता भाष्य निर्माण गर्न खोजिएको छ’ प्रमुख सचेतक बर्ताैलाले भने, ‘यस्ता भ्रम चिर्नेगरी अगाडि बढ्नेबारे छलफल भएको छ ।’

विशेषगरी प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिका कारणले गलत प्रचार भइरहेको बर्ताैलाले बताए । ‘नेपाललाई बंगलादेश बनाइदिन्छु भन्ने जस्तो कुरा आउने, संविधान संशोधनबारे गलत हल्ला चलाउने भएपछि हामीले छलफल थालेका हौ’, उनले भने ।

कांग्रेसका प्रमुख सचेतक घिमिरेले पनि संविधान संशोधनबारे सकेसम्म धेरैलाई सहभागी गराउनेगरी छलफल थालेको बताए ।

‘संविधान संशोधनबारे प्रधानमन्त्री पनि प्रष्ट हुनुहुन्छ, हामी पनि प्रष्ट छौं’, घिमिरेले भने, ‘यो सात बुँदे गरे जस्तो सजिलो विषय होइन । त्यसैले बढी भन्दा बढी सहमति जुटाएर संशोधन गर्न धेरै छलफलको पनि जरुरी पर्छ ।’

छलफलपछि घिमिरेले सात बुँदे सहमतिमा कांग्रेस प्रतिबद्ध रहेको पनि बताए । ‘कांग्रेस ७ बुँदे सहमतिप्रति प्रतिबद्ध छ, बाहिर गएर कुनैपनि काम गर्दैन’, उनले भने ।

नेताहरुका अनुसार संविधान संशोधनका लागि सत्तारुढ सबै दल सहमत छन् । तर एजेण्डा आ–आफ्नो छ ।

बैठकमा साना दलहरुले संविधान संशोधनमा पनि साझा धारणा बनाउन कार्यदल बनाउन सुझाएका छन् । ‘संविधान संशोधनमा हाम्रो विमती छैन । तर कसैले के विषयमा खोजेका छन्, कसैले के’, एक नेता भन्छन्, ‘सबैको मत एक ठाउँमा राख्ने र साझा धारणा बनाउन कार्यदल बनाउने सल्लाह भएको छ ।’

बैठकमा प्रधानमन्त्री ओलीले माओवादी अध्यक्ष प्रचण्डको भूमिकाप्रति असन्तुष्टि समेत जनाएका छन् । एक सहभागीका अनुसार सत्य निरुपणसम्बन्धी विधेयक पास भएपछि आयोग गठनका लागि सहमति खोज्नुपर्ने थियो । तर प्रचण्डले त्यसको साटो उत्तेजनाको राजनीति गर्न खोजेको उनको गुनासो छ ।

सत्तारुढ दलहरुको बैठकमा संसदमा विचाराधीन विधेयकहरुलाई सहमति खोज्दै संसदलाई विजनेश दिने विषयमा पनि सकारात्मक छलफल भएको नेताहरुले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारले रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय

काठमाडौँ– प्रतिनिधिसभाको बैठकले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।सभामुख डोलप्रसाद अर्यालले

काठमाडौँ- सरकारले पूर्वगृहमन्त्री एवं प्रतिनिधिसभा सदस्य सुधन गुरुङसम्बन्धी अध्ययन तथा छानबिन समितिले बुझाएको प्रतिवेदन ग्रहण गरेको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं – प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध कायमै राखेका छन् । केहीबेर अघि सुरु भएको बैठकमा विपक्षी दलका सबै सांसदहरू