"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

बाढीपहिरोपछि संक्रामक रोग फैलन नदिन सतर्कता अपनाउन आग्रह

प्रकाशित मिति :  2 October, 2024 5:55 pm


काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बाढी पहिरो जस्ता विपद्पछि संक्रामक रोग फैलन नदिन सतर्कताका उपाय अपनाउन तीनवटै तहका सरकार, खानेपानी मन्त्रालय तथा खानेपानीसम्बद्ध अधिकारीहरुसँग आग्रह गरेका छन् । 

मन्त्रालयमा विशेष बैठक डाक्दै उनले बाढी पहिरो पछि पानीका श्रोत प्रदुषित भएको र यसकै कारण झाडापखाला, हैजा तथा डेंगुलगायतका संक्रामक रोग लाग्न नदिन आ आफ्नो तर्फबाट तयारी बढाउन र आवश्यक परेका सहयोगबारे जानकारी गराउन आग्रह गरे ।

विपद्का समयमा स्वास्थ्यकर्मीहरुले पुर्‍याएको योगदानको प्रशंसा गर्दै मन्त्री पौडेलले भने, ‘स्वास्थ्यकर्मीहरुले विपद्का समयमा बिरामीको उपचारका लागि पुर्‍याएको योगदान सराहनीय छ, अब यसपछि फैलन सक्ने रोगबाट नागरिकलाई जोगाउन लाग्नुहोला । आवश्यक केही परे भन्नुस्, हामी सघाउन तयार छौं ।’

उनले खानेपानीको शुद्धता बढाउन र कुनै पनि संक्रामक रोग फैलन नदिन स्थानीय तहसम्मै खानेपानी मन्त्रालय र प्रदेश तथा स्थानीय सरकारहरुसँग मिलेर काम गर्ने प्रतिबद्धता जनाए । यसका लागि मातहतका सबै निकायलाई परेको अप्ठेरो फुकाउन मन्त्रालय लाग्ने उनले बताए ।

बैठकमा बोल्दै खानेपानी मन्त्री प्रदीप यादवले सहकार्यको प्रस्तावका लागि मन्त्री पौडेललाई धन्यवाद दिँदै पानीको शुद्धता बढाएर नागरिकलाई शुद्ध पानी दिनका लागि शुद्धीकरण सामग्री वितरण तथा सचेतनाका लागि स्वास्थ्य मन्त्रालयसँग सहकार्य गर्ने घोषणा गरे ।

बैठकमा बाढी पहिरोबाट बढी प्रभावित काभ्रपलाञ्चोक, सिन्धुपाल्चोक, कोशी, मधेश तथा गण्डकीलगायत प्रदेशका स्वास्थ्य सचिवहरुले आफूहरुले प्रदान गरिरहेको सेवाबारे जानकारी गराउँदै पानीको शुद्धीकरण तथा सचेतना फैलाउन मन्त्रालयको सहयोग मागेका थिए ।

मन्त्री पौडेलले दुइवटै मन्त्रालय मिलेर तत्काल सहयोग माग भएका ठाउँमा पठाउने र आवश्यक परेका ठाउँमा विशेष स्वास्थ्य टोली खटाउने प्रतिबद्धता जनाएका छन् । उनले संघीय राजधानी उपत्यकामा जनसंख्या पनि बढी रहेको र अहिले संक्रमणको जोखिम बढी रहेकाले बढी प्राथमिकता दिएर संक्रमण रोक्न सचेतनासँगै रोकथामका उपाय अपनाइने बताए ।

यसका लागि प्रदेश र महानगरहरुसँग हातेमालो गर्ने पनि उनले बताए । ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जनले बाढीका कारण खानेपानी प्रदुषित भएकाले आफूहरुले ट्यांकरबाट किनेरै क्लोरिनेशन गरेर पानी वितरण गरेको बताए ।

बैठकमा मन्त्रालयका सचिव डा. रोशन पोखरेलले तत्काल बैठक छलफल गरेर आवश्यक ठाउँमा थप स्वास्थ्य सामग्री पठाउने र सचेतना तथा संक्रमण रोक्न नदिन आवश्यक थप कदमहरु चाल्ने प्रतिबद्धता जनाए ।

  • रासस



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ-  सरकारले चुनावमा तीन दिन बिदा दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले तीन दिन बिदा दिने निर्णय गरेको

काठमाडौँ — प्रत्येक वर्ष फाल्गुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजाआराधना गरी आज

काठमाडौँ- प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले २० वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ। कार्यालयले आज सूचना जारी गर्दै

काठमाडौँ- यस वर्षको महाशिवरात्रि पर्वलाई लक्षित गर्दै बागमती नदीमा पानीको बहाव बढाउनका लागि धापड्यामबाट पानी छाडिएको छ। भक्तजनलाई स्नान गर्न र