"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

‘चिसो बढेसँगै घटदै छ डेंगु, जोखिम भने कायमै’

प्रकाशित मिति :  20 November, 2024 12:21 pm


काठमाडौं – जाडो बढेसँग डेंगु सङ्क्रमितको सङ्ख्या घट्दै गएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतको किटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालले एक हप्तादेखि डेंगु सङ्क्रमण हुनेको सङ्ख्या घट्दै गएको जानकारी दिनुभयो । 

डा. दाहालका अनुसार कात्तिकको अन्तिम हप्तासम्म एक हजारको हाराहारीमा देखिएको डेंगुको सङ्क्रमण घटेर एक सयभन्दा कममा झरेको छ । डेंगु सङ्क्रमितको सङ्ख्या घट्दै गए पनि यसको जोखिम कम भइनसकेकाले सावधान हुन उहाँले आग्रह गर्नुभयो । 

उहाँ भन्नुहुन्छ, “डेंगु सङ्क्रमण हुनेको सङ्ख्या निरन्तर घट्दै गएको छ । यसको जोखिम कम भइनसकेकोले यसबाट सावधान रहनुपर्छ । बिस्तारै यसको जोखिम कम हुँदै जान्छ ।”

उहाँका अनुसार यो वर्ष हुम्ला बाहेक ७६ जिल्लाबाट पुस महिनादेखि हालसम्म २९ हजारको हाराहारीमा डेंगु सङ्क्रमण पुष्टि हुनुका साथै १२ जनाको मृत्यु भएको छ । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले डेंगु सङ्क्रमण सङ्ख्यात्मक रूपमा घट्दै गए पनि  गम्भीर लक्षण लिएर बिरामी अस्पतालमा पुगेको जानकारी दिनुभयो ।

 डेंगु सङ्क्रमण सङ्ख्यात्मक रूपमा घट्दै गए पनि यसको जोखिम कम भइनसकेकाले सचेत रहन डा. पुनले आग्रह गर्नुभयो । कडा बान्ता भएर, खान मन नलाग्ने जस्ता लक्षण लिएर डेंगुका बिरामी अझै पनि अस्पतालमा आइरहेको जानकारी दिनुभयो । 

उहाँ भन्नुहुन्छ,“सङ्ख्यात्मक रूपमा डेंगु सङ्क्रमितको सङ्ख्या घट्दै गएको छ । डेंगु भई  सिकिस्तै भएर भर्ना हुनेको सङ्ख्या कम भए पनि थुप्रै बिरामी डेंगुका कडा लक्षण भएर बसेका छन् ।”  

पछिल्ला वर्षहरूमा जाडो मौसममा पनि डेंगु सङ्क्रमण पुष्टि हुने गर्दै आएको छ । डेंगु रोग डेंगी भाइरसबाट सङ्क्रमित एडिज जातका लामखुट्टेको टोकाइबाट सर्ने सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताउनुभयो। डा. पुनका अनुसार सङ्क्रमण भएको चारदेखि १० दिनसम्म सामान्यतया डेंगुका लक्षण देखिन्छ ।  

उच्च ज्वरो आउने, टाउको दुख्ने, जोर्नी र मांसपेशीहरू दुख्ने, शरीरमा राता बिमिरा आउने, आँखाको गेडी दुख्ने वाकवाकी लाग्ने डेंगुका प्रमुख लक्षण हुन्। डेंगुले दोस्रो पटक तर फरक सेरोटाइपले पुनः सङ्क्रमित गराए विगतभन्दा थप घातक लक्षण देखिने डा. पुन बताउनुहुन्छ। डेंगुबाट बच्ने एक मात्र उपाय लामखुट्टेको टोकाइबाट बच्ने हो।  

उच्च ज्वरो आउने, टाउको दुख्ने, जोर्नी र मांसपेशीहरू दुख्ने, शरीरमा राता बिमिरा आउने, आँखाको गेडी दुख्ने वाकवाकी लाग्ने डेंगुका प्रमुख लक्षण हुन्।डेंगु सङ्क्रमण भएपछि चिकित्सकको सल्लाहबिना कुनै पनि औषधीको सेवन नगर्न डा. पुनको सुझाव छ। बिरामीलाई असाध्यै जोर्नीमा दुःखाइ भएमा, तारन्तार वान्ता भएमा, आलस्य धेरै भएमा गम्भीर स्वास्थ्य समस्या निम्तिने हुँदा तुरुन्तै अस्पतालमा जान डा. पुनको सुझाव छ।  

घरमा बसेर उपचार गर्दा चिकित्सकको सल्लाह बमोजिम जीउ दुख्न कम गर्नको लागि प्यारासिटामोल खान डा. पुनको सुझाव छ। बिरामीले झोलिलो खानेकुरा प्रशस्त खान उहाँको आग्रह छ।  लामखुट्टेको टोकाइबाट बच्न पूरै शरीर ढाक्ने लुगा लगाउने, धूप बाल्ने, मलम लगाउन, सुत्दा झुलको प्रयोग गर्न चिकित्सकको सुझाव छ।   



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुस्थित विश्वमैत्री आधारभूत विद्यालयका प्रधानाध्यापक विश्वम्भर रैदास र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा थारूविरुद्ध आज

काठमाडौँ – प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जालको दुरुपयोग भइरहँदा सामाजिक सुरक्षा चुनौती थप भएको बताएका छन्। अपराध अनुसन्धान विभागको ७०औँ

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बाराको ठेक्का सूचना लुकाएर भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर