डीपसीक र च्याट जिपिटीमा के फरक छन् ?
काठमाडौं – चिनियाँ टेक कम्पनी डीपसीकको एआई च्याटबटको बारेमा विश्वभर चर्चा भइरहेको छ । यहीँ जनबरी २० मा सार्वजनिक भएको डीपसीकले सिधा रुपमा च्याट जिपिटीलाई चुनौती दिएको छ । डीपसीकको एप नि:शुल्क भएका कारणले एप्पल स्टोर तथा गुगल प्ले स्टोरमा यो एप छोटो समयमै व्यापक रुपमा डाउनलोड भइसकेको छ ।
आखिर कम लागतमा तयार हुनुका बाबजुत डीपसीक एआईले कसरी अमेरिकी कम्पनीहरुलाई चुनौति दिन सफल भएको छ भन्ने कुरालाई लिएर मानिसहरु अचम्मित छन् ।
डीपसीक के हो ? यसले कसरी काम गर्दछ ? यो च्याट जिपिटी भन्दा कसरी फरक छ ? डीपसीक कम्पनीका मालिक को हुन् ? आउनुहोस् यस्ता विभिन्न प्रश्नहरुको जवाफ जान्ने कोसिस गरौँ ।
डीपसीक के हो ?
डीपसीक एक चिनियाँ आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी हो । यो कम्पनी चीनको दक्षिणपूर्वी सर हांगझाउमा रहेको छ । मोबाइल एपको मार्केट इन्टेलिजेन्स प्लाटफर्म सेन्सर टावरका अनुसार सन् २०२३ को जुलाईमा कम्पनीको स्थापना भएको थियो । तर यसको चर्चित एआई असिस्टेन्ट एप यो जनवरी १० सम्म पनि अमेरिकामा रिलिज गरिएको थिएन ।
च्याट जिपिटी र डीपसीक दुबै एआई च्याटबट हुन् । यी दुबैमा भएको सबैभन्दा ठूलो अन्तर चाहीँ सब्सक्रिप्सनको शुल्क हो ।
च्याट जिपिटी र डीपसीक दुबै प्लाटफर्म प्रयोगकर्ताका लागि नि:शुल्क उपलब्ध छन् । यद्यपि यिनको प्रिमियम सर्भिस तथा अत्याधुनिक फिचरको अनुभव लिनका लागि शुल्क तिर्नु पर्दछ । च्याट जिपिटीको सब्सक्रिप्सनका लागि मासिक २० अमेरिकी डलर शुल्क रहेको छ । तर डीपसीकको प्रिमिय सर्भिस चाहीँ मासिक ०.५ अमेरिकी डलरको मूल्यमै उपलब्ध छ ।
डीपसीक र च्याट जिपिटीको काम गर्ने तरिका चाहीँ लगभग एउटै छ । तर दुवैको प्रक्रियामा ठूलो अन्तर छ । च्याट जिपिटीले प्रयोगकर्ताको इनपुटको आधारमा आफ्नो अनुभवलाई उत्कृष्ट बनाउँदै लगेको छ । तर डीपसीक भने अहिले नयाँ छ र ऊसँग सीमित डेटा छन् । डीपसीकले विभिन्न अन्तराष्ट्रिय राजनीतिसँग सम्बन्धित प्रश्नहरुको जवाफलाई पन्छाइदिन्छ । तर च्याट जिपिटीले चाहीँ यस्तो गर्दैन ।
डीपसीक के गर्दछ ? यसको मूल कम्पनी र प्रमुख को हो ?
डीपसीकलाई यस्तो एपको रुपमा डिजाइन गरिएको छ जसबाट प्रयोगकर्ताका प्रश्नका जवाफ मिलुन् र काम पनि सहज होस् । लिआंग वेनफेंगले लगानीकर्ताहरु जुटाएर डीपसीकको स्थापना गरेका हुन् । उनी एक ४० वर्षीय इन्फरमेसन एण्ड इलेक्ट्रोनिक इन्जिनियर हुन् ।
ओपन एआईको तुलनामा डीपसीक निकै कम लागतमा बनेको दाबी कम्पनीको छ । यो एप निर्माणको पछाडि रहेका शोधकर्ताहरुका अनुसार यसको निर्माणमा केवल ६० लाख डलरको लागत लागेको छ ।
विज्ञहरुका अुनसार करीब ५० हजार चिप्सको संकलनका माध्यमबाट उनले डीपसीक लन्च गरेका थिए । उनले ती चिप्सलाई कम मूल्यका चिपहरुसँग प्रयोग गरे जुन अहिलेपनि चीनमा आयात हुन्छन् । लिआंग पछिल्लो दिनमा औद्योगिक विशेषज्ञका साथै चिनियाँ प्रधानमन्त्रीसँग समेत बैठक गर्दै गरेको अवस्थामा देखिने गरेका छन् ।
डीपसीकको प्रतिस्पर्धा कोसँग ? के छन् यस्ता विशेषता ?
एआई च्याटबट भएका कारणले डीपसीकको सिधा टक्कर ओपन एआईको च्याट जिपिटी, गुगलको जेमिनी तथा माइक्रोसफ्टको कोपाइलटसँग छ ।
डीपसीकले ओपन सोर्स प्रविधिमा काम गर्दछ । ओपन सोर्स भएका कारणले डेभलपर्स तथा अनुसन्धानकर्ताहरुले यसलाई उत्कृष्ट बनाउनका लागि अवधारणाहरु शेयर गर्न सक्दछन् ।
ओपन एआईको तुलनामा डीपसीक निकै कम लागतमा बनेको दाबी कम्पनीको छ । यो एप निर्माणको पछाडि रहेका शोधकर्ताहरुका अनुसार यसको निर्माणमा केवल ६० लाख डलरको लागत लागेको छ ।
जबकि अमेरिकामा एआई कम्पनीहरुले आफ्नो एआई एप बनाउनका लागि अर्बौँ डलर खर्च गरेका छन् । कम खर्चमा तयार भएका कारण डीपसीकले अमेरिकी कम्पनी एनभिडियालाई उल्लेख्य नोक्सानी पूराएको छ । गत सोमबार एनभिडियाले करीब ६सय अर्ब डलरको आफ्नो बजार मूल्य गुमाएको थियो।
फोब्र्सका अनुसार बजार पुँजीकरणको दृष्टिले एनभिडिया विश्वको सबैभन्दा मूल्यवान कम्पनी रहेकोमा सोमबार यसलाई एप्पल र माइक्रोसफ्टले पछि पारेपछि तेश्रो स्थानमा झरेको छ । किनकि यसको बजार मूल्य ३.५ ट्रिलियन डलरबाट घटेर २.९ ट्रिलियन डलरमा झरेको छ ।
च्याट जिपिटी के हो ?
च्याट जिपिटी पनि एउटा च्याटबट हो जसले तपाइँ हाम्रा विभिन्न खालका प्रश्नहरुको लिखित तथा सटीक जवाफ दिनसक्छ । यो च्याटबटले प्रयोगकर्ताका निजी समस्याहरुका विषयमा पनि सल्लाह दिनसक्छ । च्याट जिपिटी करीब १ सय भाषाहरुमा उपलब्ध छ । तर यसको अंग्रेजी संस्करण सबैभन्दा सटीक छ ।
ओपन एआई कम्पनीले च्याट जिपिटी निर्माण गरेको हो । साम अल्टम्यान र एलन मस्क मिलेर सन् २०१५ मा ओपन एआईको स्थापना गरेका थिए तर सन् २०१८ मा उक्त कम्पनीबाट मस्क अलग भए ।
के हुन् जेमिनी र माइक्रोसफ्ट को पाइलट ?
गुगलको जेमिनी र माइक्रोसफ्टको कोपाइलट पनि एआई च्याटबट हुन् । माइक्रोसफ्टले कोर्टानालाई प्रतिस्थापित गर्नका लागि सन् २०२३ मा कोपाइलट लन्च गरेको थियो र यसलाई माइक्रोसफ्ट ३६५ एपहरुसँग लिंक गरिएको छ ।
माइक्रोसफ्टको आउटलुक, वर्ड, पावर प्वाइन्ट तथा एक्सेल एपसँग कोपाइलटलाई जोडेर प्रयोग गर्न सकिन्छ ।
उता गुगलले बर्ड एपलाई प्रतिस्थापित गर्दै गतवर्ष सन् २०२४ मा जेमिनी लन्च गरेको थियो । कोपाइलट जस्तै जेमिनी पनि प्रयोगकर्ताका डेटासँग सिंक हुन्छ ।
- बीबीसीबाट