आर्थिक वृद्धि ४.५ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

काठमाडौँ – विश्व बैंकले आर्थिक वर्ष २०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । गत आर्थिक वर्ष २०८०/८१ को तुलनामा यो ०.६ प्रतिशत बिन्दुले बढी हो । गत आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर ३.९ प्रतिशत थियो ।
सन् २०२४ को अन्त्यतिर मुलुकभर आएको भीषण बाढीपहिरोलगायत ठूला प्राकृतिक विपत्ति घटे पनि आर्थिक वृद्धिदरमा केही सुधारको सम्भावना देखिएको विश्व बैंकले जनाएको छ ।
विश्व बैंकले बिहीबार सार्वजनिक गरेको ‘नेपाल विकास प्रतिवेदन ः आर्थिक वृद्धि उकास्नका लागि उद्यमशीलताको लाभ उपयोग तथा सुधार कार्यान्वयन’ ले गत वर्षको तुलनामा यस वर्ष आर्थिक वृद्धिमा सुधार हुने प्रक्षेपण गरेको हो ।
यस वर्ष मुख्यतः आन्तरिक व्यापार, जलविद्युत् तथा धान उत्पादनमा वृद्धि भएकाले आर्थिक वृद्धिमा सुधार आउने प्रतिवेदनले बताएको छ । प्रतिवेदनले आगामी दुई आर्थिक वर्ष (२०८२/८३ र २०८३/८४) मा नेपालको अर्थतन्त्रले औसत ५.४ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने विश्व बैंकको प्रक्षेपण छ । यसमा सेवा क्षेत्रमा पनि सूचना प्रविधि क्षेत्रको प्रभाव उल्लेख्य हुने बताइएको छ ।
‘नेपालले आवश्यक रोजगारी सिर्जना गर्न निजी क्षेत्रले अगुवाइ गरेको आर्थिक वृद्धिलाई बढावा दिनु अत्यावश्यक छ । यसलाई हासिल गर्न नेपालले आफ्नै उत्थानशीलता वृद्धिको प्रभावशाली इतिहासको जगमा प्रमुख संरचनागत सुधार कार्यान्वयन गर्न आवश्यक छ,’ विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि राष्ट्रिय विभागीय निर्देशक डेभिड सिसलेनले भने ।
प्रतिवेदनले नेपालको आर्थिक परिदृश्यमा रहेका सम्भावित जोखिम (अपेक्षित प्रतिफल कम भएर लगानी ह्रास) लाई पनि औंल्याएको छ, जसमा भू–राजनीतिक र व्यापारसम्बन्धी अनिश्चितता समावेश छन् । यसले नेपालको वित्तीय क्षेत्रमा ऋणको गुणस्तरमा थप गिरावट आउन सक्ने सम्भावनाका साथै सरकारले बारम्बार कर्मचारीको सरुवा गर्ने कारण उत्पन्न हुने नीतिगत असंगतिको जोखिम तथा पुँजीगत बजेट कार्यान्वयनमा हुने ढिलाइका सम्बन्धमा पनि प्रतिवेदनमा उल्लेख छ ।
नेपालको १६औं योजना लक्ष्य हासिल गर्न आर्थिक वृद्धिलाई थप मजबुत बनाउनुपर्ने भएकाले प्रभावकारी पुँजीगत बजेट कार्यान्वयन एवं चालु परियोजना समयमै सम्पन्न गर्न आवश्यक रहेको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीले जनाए ।
नेपाल विकास प्रतिवेदनले पछिल्ला आर्थिक विकासबारे महत्त्वपूर्ण अन्तर्दृष्टि प्रदान गर्नुका साथै नेपालको उत्थानशील आर्थिक वृद्धिलाई प्रकाश पार्दै आएको छ । नेपाल डेभलपमेन्ट अपडेट वर्षमा दुई पटक प्रकाशन हुने प्रतिवेदन हो । यसले अघिल्लो वर्षका प्रमुख आर्थिक घटनाक्रमलाई दीर्घकालीन विश्वव्यापी सन्दर्भमा राखेर विस्तृत विश्लेषण प्रदान गर्दछ ।
राष्ट्रिय तथ्यांक कार्यालयले आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासमा मुलुकको आर्थिक वृद्धिदर ५.१ प्रतिशत रहने प्रक्षेपण गरेको छ । कार्यालयको दोस्रो त्रैमासिक कुल गार्हस्थ्य उत्पादन (जीडीपी) प्रतिवेदनले पाँच प्रतिशतभन्दा बढीको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको हो । यस वर्षको दोस्रो त्रैमासमा पाँच प्रतिशतभन्दा बढीको आर्थिक वृद्धि हुनुमा यातायात र निर्माण क्षेत्रमा भएको वृद्धि, कृषि उत्पादनमा भएको वृद्धि, विद्युत् उत्पादन तथा वितरणमा भएको वृद्धि, वित्तीय मध्यस्थताको कुल मूल्य अभिवृद्धिमा भएको सुधारलगायत मुख्य कारण रहेको कार्यालयले बताएको छ ।
अर्थतन्त्रका १८ वटा क्षेत्रगत वर्गीकरणमध्ये यस त्रैमासमा सबैमा घनात्मक वृद्धिदर रहेको कार्यालयको तथ्यांक छ । ‘खासगरी यस अवधिमा शिक्षा, आवास तथा भोजन र अन्य सेवा क्षेत्रमा उल्लेख्य वृद्धि हुन नसकेकाले अर्थतन्त्रको वृद्धिदर सामान्य रहन गएको अनुमान छ,’ प्रतिवेदनमा भनिएको छ ।