"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

‘जलविद्युतमार्फत क्षेत्रीय आर्थिक सहकार्य जरुरी’

प्रकाशित मिति :  13 May, 2025 11:25 am


बंगलादेश – बंगलादेश सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुसले जलविद्युतका क्षेत्रमा सहकार्य आवश्यक भएको बताएका छन्।बंगलादेशमा रहेकी प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानासँग सोमबार ढाकामा भएको भेटमा उनले बंगलादेश, नेपाल, भुटान र भारतको उत्तरपूर्वका सात राज्यबीच जलविद्युत्, स्वास्थ्य सेवा र सडक पूर्वाधारमा अन्तरदेशीय सहकार्य आवश्यक भएको बताएका हुन्।

युनुसले भने, ‘बंगलादेश, नेपाल, भूटान र भारतको उत्तरपूर्वीमा रहेका सातवटा राज्यबीचको एकीकृत आर्थिक योजना आवश्यक छ, यसबाट हामीले छुट्टाछुट्टै भन्दा सँगै भएर धेरै फाइदा लिन सक्छौँ।’

उनले नेपाल र बंगलादेशबीच जलविद्युतको क्षेत्रमा दरिलो सहकार्य गर्न सकिने उल्लेख गरे। गत अक्टोबरमा बंगलादेश–नेपाल–भारतमाझ नेपालबाट बंगलादेशमा भारतीय ग्रीडमार्फत ४० मेगावाट विद्युत् ल्याउनका लागि त्रिपक्षीय सहमति भएको थियो।

उनले बंगलादेशले यस क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तारमा प्रतिबद्धताका साथ काम गरिरहेको पनि उल्लेख गरे। ‘हामीले रङ्गपुरमा सुरु गर्न लागेको एक हजार शय्याको अस्पतालको सेवा नेपाल र भुटानबाट आउने बिरामीका लागि पनि लक्षित छ, क्षेत्रीय सहकार्यबाट स्वास्थ्य क्षेत्रमा समृद्धि हासिल गर्न सकिन्छ,’ उनले भने।

त्यस अवसरमा उपसभामुख इन्दिरा रानाले विभिन्न क्षेत्रमा द्विपक्षीय सहकार्यका लागि नेपाल इच्छुक रहेको उल्लेख गरिन्। ‘नेपालका सबै सांसदहरु बंगलादेशसँग नजिक रहेर काम गर्न चाहना राख्नुभएको छ, हामी दुई देशबीचमा आर्थिक सहकार्य र नागरिकस्तरमा सम्बन्ध विस्तारमा गम्भीर छौँ।’

उनले हाल बंगलादेशका मेडिकल कलेजमा दुई हजार सात सयभन्दा बढी नेपाली विद्यार्थी रहेको उल्लेख गर्दै यहाँको गुणस्तरीय शिक्षाको प्रशंसा गरिन्। साथै उनले यसमार्फत दुई देशबीचमा शैक्षिक सहकार्य पनि गर्न सकिने सम्भावना औँल्याइन्।

त्यसअवसरमा दुवै पक्षबाट भौतिक अन्तरआबद्धताका विषयमा छलफल भएको उपसभामुख रानाको सचिवालयले जनाएको छ। प्रमुख सल्लाहकार युनुसले दुई देशबीच सडक सञ्जाल विस्तारबाट नेपालले उल्लेख्य मात्रामा व्यापारिक लाभ लिन सक्ने धारणा राखेका थिए।

त्यस अवसरमा बंगलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारी, प्रमुख सल्लाहकार युनुसका दिगो विकास लक्ष्य कार्यक्रमका संयोजक लामिया मोरसेद र बंगलादेशका परराष्ट्र मन्त्रालयका महाप्रबन्धक इस्रात जहानलगायतको उपस्थिति थियो।

  • रासस



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सुरक्षित पुनःस्थापना सुनिश्चित नगरी कुनै पनि परिवारलाई होल्डिङ सेन्टरबाट नहटाउन माग गर्दै होल्डिङ सेन्टरमा रहेका भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरुले

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महिला उपसभापतिमा सोविता गौतम निर्वाचित भएकी छन् । शुक्रबार सम्पन्न निर्वाचनमा उनी पार्टीको महिलातर्फको

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ पदाधिकारी चयनका लागि निर्वाचन प्रक्रिया अन्तिम चरणमा पुगेको छ।

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्रीसमेत रहेका स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा