"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सम्पत्ति विवरण नबुझाउने पाँच हजारलाई कारबाही गर्ने तयारी

प्रकाशित मिति :  27 May, 2025 2:28 pm


काठमाडौँ – राष्ट्रिय सतर्कता केन्द्रले आर्थिक वर्ष २०८०/८१ को सम्पत्ति विवरण अनुगमन प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पेश गरेको छ। आयोगले प्रचलित कानुन बमोजिम विवरण नबुझाउने राष्ट्रसेवक तथा पदाधिकारीहरूविरुद्ध आवश्यक कारवाही गर्ने जनाएको छ।

आयोगको कार्यालयमा आयोजित कार्यक्रममा केन्द्रका सचिव सरजु कुमार वैद्यले प्रतिवेदन आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईसमक्ष हस्तान्तरण गरे । कार्यक्रममा प्रमुख आयुक्त राईले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सम्पत्ति विवरण समयमै बुझाएकोमा राष्ट्रिय सतर्कता केन्द्रलाई धन्यवाद दिए ।

सम्पत्ति विवरण संकलन प्रक्रियालाई अझ व्यवस्थित, भरपर्दो तथा सूचना प्रविधिमा आधारित बनाउनुपर्नेमा जोड दिए। निजामती, शिक्षक, प्रहरी तथा सैनिक अभिलेखालय र राष्ट्रिय सतर्कता केन्द्रबीच विद्युतीय तथ्याङ्क प्रणालीको एकीकरण आवश्यक रहेको उनको भनाइ थियो।

प्रमुख आयुक्त राईले कतिपय पदाधिकारी तथा कर्मचारीले तोकिएको समयभित्र सम्पत्ति विवरण नबुझाउने प्रवृत्ति अझै पनि रहेको उल्लेख गर्दै सबै सरकारी निकायमा यस विषयमा प्रवर्द्धनात्मक पहल आवश्यक रहेको बताए। साथै, सार्वजनिक सेवा प्रवाह हुने कार्यालयहरूमाथि समेत अनुगमन गर्नुपर्ने आवश्यकता औंल्याउँदै, केन्द्रद्वारा गरिने प्राविधिक परीक्षण पश्चात् सुधारको स्थिति पनि अनुगमन हुनुपर्नेमा विशेष ध्यान दिन निर्देशन दिए।

आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार, ४०३ पृष्ठ लामो प्रतिवेदनमार्फत सचिव वैद्यले प्रमुख तथ्यांकहरू प्रस्तुत गर्नुभएको थियो। प्रतिवेदन अनुसार संघ, प्रदेश र स्थानीय तहमा गरी सम्पत्ति विवरण बुझाउने दायित्व भएका कुल ७ लाख ८५ हजार ३५३ जनामध्ये ९९.३० प्रतिशत अर्थात् ७ लाख ७५ हजार ८४९ जनाले समयमै विवरण बुझाएका छन्। बाँकी ०.७० प्रतिशत अर्थात् पाँच हजार ५०४ जनाले तोकिएको समयावधिभित्र विवरण नबुझाएको प्रतिवेदनमा उल्लेख छ।

विगत वर्षहरूमा सम्पत्ति विवरण नबुझाउनेको संख्या घट्दै गएको तथ्य पनि प्रतिवेदनबाट देखिएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ

काठमाडौं – पीएचडी नै नगरी झुटो विवरणका आधारमा त्रिभुवन विश्वविद्यालयको सहपरीक्षा नियन्त्रक नियुक्त गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, हेटौंडामा कोरोना भाइरसको स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमितता भएको ठहर

काठमाडौं – घुस लिएको आरोपमा रौतहका एक जना प्रधानाध्यापकविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । जय किसान माध्यमिक