राष्ट्रपति रनिङ शिल्ड पदक जित्ने खेलाडीलाई गल्याङ नगरपालिकाको सम्मान
स्याङ्जा – स्याङ्जा जिल्ला खेलकुद विकास समितिद्वारा स्याङ्जाको चापाकोट नगरपालिकामा आयोजित १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ को उपाधि गल्याङ नगरपालिकाले जितेको छ । १५ स्वर्ण, ६ रजत र ७ काश्य गरी २८ पदकसहित गल्याङ नगरपालिकाले राष्ट्रपति रनिङ शिल्ड जितेको हो ।
प्रतियोगितामा गल्याङ नगरपालिकाले विभिन्न तौल समुहको कराते तर्फको १२ प्रतियोगितामा १२ संवरण पदक प्राप्त गरेको थियोे । साथै गल्याङ नगरपालिकाले छात्र ८०० मिटर दौड, छात्रा १०० मिटर दौड र छात्रा हाइजम्पमा स्वर्ण पदक जितेको थियो ।
प्रतियोगितामा गल्याङ नगरपालिकाबाट सहभागीता जनाएका सम्पूर्ण खेलाडी र प्रशिक्षकलाई नगरपालिकाले एक कार्यक्रमका बिच सम्मान गरेको छ । राष्ट्रपति रनिङ शिल्डको उपाधी जित्ने गल्याङ नगरपालिकाका खेलाडीहरुलाई नगरपालिकाले रु १ लाख सहित सम्मान गरेको छ। त्यस्तै प्रतियोगितामा १२ स्वर्ण, १८ रजत र ११काश्य पदकसहित चापाकोट नगरपालिका उपविजेता बन्न सफल भयो।
प्रतियोगितामा स्याङ्जा जिल्लाका विभिन्न पालिकाका विद्यार्थी खेलाडीहरूको सहभागिता रहेको थियो । प्रतिगितामा तीन हजार मिटर दौड, पन्ध्र सय, आठ सय, चार सय, दुईसय मिटर दौड, छात्रछात्रा भलिबल प्रतियोगिता, हाइजम्प, लङजम्प, सय मिटर रिले, ज्याभलिङ थ्रो, छात्र छात्रा कबडी, सटफुटलगायतका खेल सम्पन्न भएको थियो । जिल्ला स्तरीय खेल जित्ने टिमले गण्डकी प्रदेश स्तरीय खेलमा सहभागी बन्न पाउने छन् ।












