"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

पर्यटकको पर्खाइमा म्याग्दीको टिकोट

प्रकाशित मिति :  2 July, 2025 6:36 pm


म्याग्दी – पहाडको टुप्पोमा भिराखो पाखामा मौलिक ढुङ्गेघरहरु भएको झुरुप्प बस्ती । पृष्ठभूमिमा हिमाल र वरपर अग्ला डाँडापाखा । गाउँको फेदीदेखि शिरसम्म ढुङ्गा चिनेर बनाएको सफा सुग्घर पदमार्ग । मौरखी र मिजासिला गाउँलेको न्यानो आतिथ्य । 

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ मा पर्ने हिस्तान टिकोट गाउँ प्रकृति र संस्कृतिको सङ्गम हो । पुन थरका मगर समुदायको बाहुल्य बसोबास रहेको सुन्दर, शान्त र रमणीय टिकोट पर्यटकको पर्खाइमा छ । 

होमस्टे सञ्चालक समेत रहेका टिकोट माविका प्रअ ठगराज पुनले (प्रदिप) कोरोनाकालमा सुस्ताएको टिकोटको पर्यटन व्यवसाय अझै लयमा फर्कन नसकेको बताउनुभयो । “महाविर पुनको योजनामा सन् २०११ मा सुरु भएको अन्नपूर्ण-धौलागिरी पर्यावरणीय पदमार्गमा समेटिएको टिकोटमा कोरोना महामारी अघिसम्म पर्यटक आगमन राम्रै थियो,” उहाँले भन्नुभयो “पछिल्लो पाँच वर्षयता फाट्टफुट्ट मात्र पर्यटक आउने गरेका छन् ।”

समुद्र सतहदेखि दुई हजार दुई सय ५० मिटर उचाइमा रहेको टिकोटको पृष्ठभूमिमा धौलागिरी, मानापाथी, नीलगिरी, अन्नपूर्ण र बराह शिखर हिमालको दृश्य अवलोकन गर्न सकिन्छ । टिकोटदेखि ३० मिनेट (हाइकिङ) उकालो पैदलयात्रा गरेपछि पुगिने पञ्चबल डाँडादेखि हिमशृङ्खलाको अलावा सूर्योदय, म्याग्दीका ग्रामीण बस्ती र पहाडी भूगोल देखिन्छ । 

टिकोटका १० वटा घारमा होमस्टे (घरबास )सुविधा छ । यहाँको होमस्टेमा एक दिनमा ४० जनाभन्दा बढी पाहुना बास बस्न सक्छन् । विदेशी पर्यटक आउँदा सामुदायिक लजमा खाना खुवाउने र आलोपालो गरेर व्यक्तिका घरमा सुताउन लैजाने नियम छ । होमस्टेका कोठाको झ्यालबाट हिमाल देखिन्छ । 

नेपाली पाहुनाहरु व्यक्तिगत सम्पर्क गरेर सिधै होमस्टेमा जान्छन् । लघुउद्यम विकास कार्यक्रमको सहयोगमा घरबास र सामुदायिक लज स्थापना भएको थियो । स्थानीय जङ्गलमा पाइने च्याउ, टुसा, ढकायो सागको गुन्द्रुक, लोकल कुखुराको मासु, फापर, कोदोको ढिडो, गाईभैंसीको दूध, दही, विषादी र रासायनिक मलको प्रयोग बिना उत्पादन गरिएको प्राङ्गारिक तरकारीका परिकारको स्वाद चाख्न पाइन्छ । आमा र पुर्ख्यौली समूहले मौलिक गीत तथा नृत्यले स्वागत गर्छन् । कृषि पेशामा आधारित टिकोटवासीको जीवनशैली पनि पर्यटकको थप आकर्षण हो । 

अन्नपूर्ण-धौलागिरी सामुदायिक पर्यावरणीय पदमार्गको बेनी-मल्लाज-बाँसखर्क-डाँडाकटेरी-नागी-मोहरेडाडा-फुलबारी-ठूलाखर्क हुदै पाँचौ दिनमा पुगिने टिकोटबाट बेनी-जोमसोम सडकको तिप्ल्याङ र खिवाङ हुदै खोप्रातर्फ जान सकिन्छ । बेनी खि तिप्ल्याङ, महभिर हुँदै दुई घण्टा जिप अथवा मोटरसाइकलमा कच्ची सडकको यात्रा गरेर पनि टिकोट पुगिन्छ । 

अन्नपूर्ण गाउँपालिकाले टिकोटमा पर्यटक आकर्षित गर्न, भुलाउन र परम्परागत मौलिक सामग्रीहरुको संरक्षण गर्न सङ्ग्रहालय स्थापनाका लागि भवन बनाएको छ । पछिल्लो दुई आर्थिक वर्षमा विनियोजन भएको रु. २९ लाख बजेटबाट निर्माण भएको दुईतले भवनमा दैनिक जीवनयापनमा प्रयोग हुने परम्परागत मौलिक सामग्री सङ्कलन गरेर राखिने अन्नपूर्ण गाउँपालिका–७ का वडा अध्यक्ष मइलन पुर्जा पुनले बताउनुभयो ।

  • रासस



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सर्लाहीको बागमती नगरपालिकास्थित ‘भरत ताल’ (बागमती पर्यटकीय पार्क तथा रिसोर्ट) निर्माण आयोजनामा करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग

काठमाडौँ – आर्थिक वर्ष २०८२/८३ मा मुलुकको वैदेशिक व्यापारको आकार २४ खर्ब ११ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ। गत आवमा

काठमाडौं – विभिन्न व्यवसायीक संघसंस्था र उद्यमीहरुसँग भेटवार्ता गर्दै आएका प्रधानमन्त्री बालेन शाहले आज चिया उद्योगीहरुसँग छलफल गर्दैछन् । भेटघाटमा

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको