रास्वपा महाधिवेशनको ढिलाइका कारण संसदको बैठक प्रभावित
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीको चितवनमा जारी महाधिवेशनका कारण संघीय संसदको बैठक प्रभावित भएको छ। प्रतिनिधि सभाको बैठक बिहिबार बिहान ११ बजेका लागि डाकिएकोमा सूचनामार्फत शुक्रबार दिउँसो १ बजेका लागि सारिएको हो।
त्यस्तै, राष्ट्रिय सभाको बैठक पनि बिहीबार १ बजेबाट शुक्रबार सवा १ बजेका लागि सारिएको छ। सभामुख डोलप्रसाद अर्यालले विशेष कारण देखाउँदै शुक्रबार १ बजेका लागि बैठकको मिति र समय निर्धारण गरेको संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयले सूचना प्रकाशित गरेका छन्।
सरकारका मन्त्री र सांसदहरू महाधिवेशनमा व्यस्त भएपछि बैठक सरेको संघीय संसद सचिवालय स्रोतले जनाएको छ। शुक्रबारसम्म रास्वपाको महाधिवेशन सकिने अपेक्षा गरिएको छ। तर महाधिवेशन नसकिएको अवस्थामा फेरि बैठक सर्न सक्ने सचिवालय स्रोतले जनाएको छ।
विनियोजन विधेयक बजेट प्रतिनिधि सभाबाट पारित भए पनि आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित गर्न बाँकी छ। त्यस्तै सरकारले ल्याएका अध्यादेशहरूको प्रतिस्थापन विधेयक पनि आउँदो २० दिनभित्रै पारित गर्नुपर्नेछ।
सरकारले प्रतिनिधि सभाको अधिवेशन सुरू भएको साठी दिनभित्र संघीय संसदबाट अध्यादेशको प्रतिस्थापन विधेयक पारित गराउनुपर्ने संवैधानिक व्यवस्था छ।












