सम्पत्ति शुद्धीकरण निवारण (तेस्रो संशोधन) विधेयक पारित
काठमाडौं — प्रतिनिधिसभाको बिहीबार बसेको बैठकले सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ पारित भएको छ । विधेयकमाथिको दफावार छलफल र अर्थमन्त्री स्वर्णिम वाग्लेको जवाफपछि बहुमतले विधेयक पारित गरेको हो ।
विधेयकमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री वाग्लेले भ्रष्टाचार, आर्थिक अपराधका विषयलाई कसरी रोक्न सकिन्छ भन्नेमा सार्थक बहस गर्न आवश्यक रहेको बताए । उनले सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दा १३ निकायले चलाउन सक्ने भन्दै व्यापक छलफलबाट आर्थिक अपराधिक गतिविधि रोक्नुपर्नेमा जोड दिए ।
‘पूर्वाग्रह प्रेरित भएर कसैलाई दुःख दिने नियत राखेर विधेयक ल्याउन खोजिएको भन्ने आरोप छ । यो आरोप झुटो हो । सम्पत्ति शुद्धीकरण जस्तो विषयलाई राजनीतिक अभिष्ट पूरा गर्न दुरुपयोग गर्यौ भने हामी ग्रे लिष्टबाट निष्कन सक्दैनौँ,’ उनले भने, ‘वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे-लिष्टबाट निष्कनुपर्छ ।’
छलफलमा सांसदहरू गुरुप्रसाद बराल, गणेशबहादुर विश्वकर्मा, कमल सुवेदी, चन्देश्वर मण्डल, एशुदाकुमारी बराल, भरतबहादुर खड्का, पार्वती विक, महेन्द्रबहादुर शाही, हरिमोहन भण्डारी र बलावती शर्माले भाग लिएका थिए ।













